✍️ गोपाल पुन
मुक्तक – एक
परिश्रम शुभनाम हुनुपर्छ, पराक्रमको थर देखाउनु पर्छ
समर्पण श्रद्धेय होस्, आत्मीयता बरोबर देखाउनु पर्छ
जिन्दगी रणभूमी हो भने, जीवन प्रतिरूप हो योद्धाको
यहाँ प्राण जोगाउन मृत्युलाई मृत्युको डर देखाउनु पर्छ !
मुक्तक – दुई
सबै सपना फक्रिन कहाँ पाउँछन्, केही मार्नु पनि पर्छ
उत्सव विजयको सधैंभरि नहोला, कतै हार्नु पनि पर्छ
ठूलै भूमिका खेल्छ समाज निर्धारणमा आत्मालोचना,
प्रशंसा सँगै होलान् बरू, आलोचना स्वीकार्नु पनि पर्छ ’
मुक्तक – तीन
कुरा विश्वासको हो, होउन् बाधा अनेकन, फरक पर्दैन
कुण्ठाहरू सामीप्यता टुटाउन खोज्नेछन्, फरक पर्दैन
जिउने चाह साहसी होस्, जीवन भेटिन्छ कण कणमा
जिन्दगी चाहे थार झैं बनोस् वा तपोवन, फरक पर्दैन !
(गोपाल पुनको यी मुक्तकहरूले फोटोमा मुक्तक प्रतियोगिताको १०० औं श्रृङ्खलामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो ।)
प्रतिक्रिया
-
४