✍️ सीता तुम्खेवा

आमाको वेदना बुझ्न
आफैँ आमा बन्नुपर्ने रहेछ नाना !

बल्ल बुझ्दैछु—
घरिघरि किन धाउँथ्यौ तिमी दुम्सीपहरा ?

कहिलेकाहीँ बिहानीको झुल्के घाम
र साँझको पहेँली घाममा
दुम्सीपहरा र हाङ्नामे भिरमा गुञ्जिने
एकै नासे आवाज
गोठसम्म आइपुग्थे—इयाँ ! इयाँ !!

मलाई लाग्थ्यो—
भोकाए होला कि !
म पुग्थेँ भीरनजिकै
आइपुग्थ्यौ तिमी पनि
हेर्दै ओडारको कोक्रोतिर
रुन्थ्यौ बेस्सरी र हुन्थ्यौ बेहोस ।

भीरमाथिको चरिसो फूलबारी वरपर
कुनै भर्खरै निदाएजस्ता
कुनै भर्खरै गिद्धले लुछेजस्ता
कुनै कङ्कालमात्रै बाँकी हुन्थे
कोपिलामै झरेका फूलहरू
आ–आफ्नै कोक्रामा ।

मुन्दुुम भन्थ्योे–
‘नटिप्नू चरिसो,
उनीहरू खेल्ने फूलबारी हो
तर म टिपेर सिउँरिन्थेँ चुल्ठोमा

आज—
जङ्गलभित्र ढुङ्गाको सिरक ओडेर
सुतिरहेको मेरो छोरा
ब्युँझिएर निसास्सियो कि– लागिरहन्छ
आमा ! आमा !!
मलाई नै पुकारिरहेको छ कि– लागिरहन्छ ।

सत्य,
आमा भन्नु त धरती रहेछ
जो सृष्टि गरिरहन्छिन्
जितेर पनि आफ्नै मृत्यु ।

आज आफैले बुझेँ नाना
आमाको वेदना बुझ्न त
आफैँ आमा बन्नुपर्ने रहेछ ।

***

कवि सीता तुम्खेवाको यस कविता ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ मा तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर