✍️ जीवन खत्री

“आफैँलाई सम्झेर कहिले काँही त लाग्छ, अल्छिहरूको रेकर्ड राख्ने काम भयो भने गिनिज बुकमा मेरै नाम पर्छ होला। तर, रेकर्ड राख्नलाई पनि केही त प्रोसेस हुँदो हो। त्यो प्रोसेस कसले गरीदिने ? मेरो त गिनिजबुकमा नाम पनि लेखिन्न होला।” मैले उसको बारेमा लेख्छु भनेर महिनौँसम्म लेख्न नसकेपछि एकसाँझ उसैलाई फोनमा भनेको थिएँ।

ऊ लामो हाँसेको थियो, “हाहाहाहा, माराज पनि ।”

ऊ मलाई ‘माराज’ भन्छ। म पनि ‘माराज’ भन्दिन्छु। उसलाई मात्र हैन्, केही प्रियहरूलाई माराज भनेर सम्बोधन चल्छ मेरो। “देशमा गणतन्त्र आएपछि पनि के को माराज ?” कसैले सोध्यो भने, हाम्रो उत्तर साझा हुनसक्छ। “हामी गणतान्त्रिक देशका माराज।”

गणतन्त्र र माराज कस्तो बेमेल। म एकछिन गम खान्छु। मेलचाँही के छ ? कसलाई थाहा छैन्, देशकै निधारको घडीमा पनि सुई मिलेर घुमेको छैन्। अनि हाम्रो सम्बोधनको मेल भएन भनेर भो ? उसो त माहाराज हैन्, माराज हो। माराज भन्दा अलि मिल्ला। तर शब्दको गहिराईमा पुगेर अर्थ खोज्न फुर्सद कसलाई ? अर्कोकुरा, देश गणतन्त्रमा प्रवेश गरेपनि छोटे राजा माहाराजाहरको कमी कहिले नै पो भएको छ र ? यस्तो बेलामा हामी–हामीमा सम्बोधन हुने ‘माराज’ शब्दले कतै प्रहार गरेमा संयोग मात्र हुनेछ भन्नु उपयुक्त ठान्छे म।

ऊ भनेको संगीतकार डि. आर. अटु। नेपाली संगीतको एउटा आशालाग्दो भविष्य। एउटा आशा लाग्दो गोरेटो। एउटा आशालाग्दो उज्यालो। जसको काँध चढेर नेपाली संगीत केही त उचालिएला। मलाई यत्ति आशा जरुर छ। किनकि आजसम्मको उसको यात्राले मलाई यत्ति आशा जरुर गराएको छ।

होचो होचो कद। दरिलो ज्यान। गोरो मंगोलियन अनुहार। काला आँखा। चलाख हेराई। चश्मा लगाई रहने। घाँटीमा कुन्नी के को माला। खैरो कपाल अगाडिपट्टी (जेल लगाएर होला)हल्ला ठड्याएको। बोल्दा हाँसेर बोल्ने। यत्ति हो उसलाई भेट्दा झट्ट देखिने उकको परिचय। नढाँट‌ी भन्दा उसको यति अनुहार कुनै त्यस्तो खास हैन्।

मंगोलियन अनुहारका दयाहाङ राई हिरो नभैदिएको भए उसको अनुहार अझैपनि कुनै फिल्ममा आवारा वा गुण्डाको लागि सुहाउँथ्यो होला। तर ऊ नेपाली संगीतक‍ हिरो बन्ने धुनमा छ। ऊ जे हो, उसको अनुहारले बताउन्न। र ऊभित्रको कला अनुहारमापनि देखिन्न।
नेपालमै रहेको भए यतिबेला कुन्नी के गरीरहेको हुन्थ्यो, तर यतिबेला कोरियामा छ ऊ।

ऊ ठान्छ कोरियाले आफैलाई धेरै थोक दियो। अनि उसले नि? उसले आफ्नो बैशालु उमेर दियो। परिश्रम दियो। पसिना दियो। अनि देशलाई ? रेमिट्यान्स। तर उसले अरू थपपनि दियो। त्यो हो नेपाली शब्दलाई संगीत। करिब दुई सय बढी गीत गजलमा संगीत दिँदै गर्दा एक सय असी बढी संगीत त उसले कोरियामा काम गर्दै गर्दा पो दिएको रहेछ। उसले ती शब्दहरू यो समयमा नाम चलेका प्राय सबै गायक गायिकाहरूलाई गाउन दिएको रहेछ।

दिनभर काम। दैनिक १२ देखि १८ घण्टासम्म ड्यूटी। कामपछिको थकान। ज्याननलाई आराम पनि चाहियो। मनोरञ्जन पनि त चाहिएला। परिवारलाई समयपनि दिनैपर्यो। पछिल्लो समयमा त उ यतिबिघ्न ब्यस्त भयो कि हप्तामा एउटाजस्तो गीत उसकै संगीतमा रेकर्ड पनि भैरहेको छ। म सोच्छु, ‘कतिबेला रेट्छ शब्दहरू, गीतारको तारमा ? कतिबेला चालाउँछ औँलाहरू, खुसीको हार्मोनियममा? कतिबेला फुक्छ जीवन ? बाँसुरीका प्वालहरूमा ? र बनाउँछ सुन्दर लय ? सुन्दर धुन ? कसरी सम्भव छ ? म छक्क पर्छु।

“कला भनेको फिल गर्ने कुरा हो।” ऊ थप्छ -” म त जतिबेलै गीत गजल गुन्गुनाई रहन्छु। शब्दहरूमा पौडीरहन्छु। दिनभर ड्यूटीकै समयमा धुनहरू निस्कन्छन्, अरूलेझैँ हार्मोनियम वा गितार बजाएर म संगीत गर्दिन्, यसको मतलब म बजाउँदिन भन्ने हैन् शब्दहरूमै म धुन बनाउँछु। जब बनाउँछु। लय कुन धुनमा म्याच हुन्छ, त्यस्तै धुन खोज्छु।”

म बुझेजस्तो गरेर मुन्टो हल्लाउँछु। खासमा उसले पनि बुझेको, कि मैले केही पनि बुझेको छैन्। म जान्दछु, बुझे जस्तो गर्ने कतिले बुझेका हुन्छन् र समाजमा ? म पनि कुनै बिशेष मान्छे होईन्, हुँ त यही समाजको। तर मलाई उसले संगीत गरेका केही गीतहरू कण्ठ छन्, जस्तो- यल्जी विवशको, काँडाले घोच्ला बिस्तारै जाउ…, कल्पना धरतीको, तिम्रो पहिलो प्रेम म भएपनि…, प्रेम कटुवालको क्यारुम त नि, पूर्वेली गाउँलेको जब साँझ पर्दै गयो। उसकै शब्द, धरान बजार लगायत।

***
मलाई साँझको असन ईन्द्रचोकजस्तै लाग्छ, कोरियाको दोङ्देमुन सहर। बाटो छेउका स-साना पसल। अलिअलि भिडिभाड। केही हतार। केही ठेलमठेल। नेपालीहरूको ननभेज गफगाफको ओहोर दोहोर। नेपाली रेष्टुरेन्टहरूबाट आउने नेपाली परिकारको बास्ना। तर चबिसै घण्टा धपक्क बल्ने बत्ति। अग्ला टावरहरू। कुनै पसलबाट बज्दै गरेको “सारङ हाना दो वा आरिराङको पुरानो धुन” सुन्दै गर्दा फेरि कोरियामानै छौँ भन्न कर लाग्छ।

घडीमा रातको १० बजेको छ। कवि बोनम प्रताप, यल्जी विवश, डि.आर. अटु र म यतिबेला दोङेदेमुनको एक मोटलमा छौँ। दिनभर ड्यूटीको थकान छ सबैको शरीरमा, र हातमा एक एक क्यान बियर।

“तपाई त खुब हाँस्नु हुँदो रहेछ है।” बोनमले डि. आर. अटुलाई भन्यो।
” सुन्नुस कवि।” सायद डि. आर. लाई थोरै लागेकै हो कि? “धमिराले खाएको काठ देख्नुभाछ ? कति सुन्दर हुन्छ बाहिरबाट हेर्दा, प्वालै प्वाल।। तर धमीराले खाएको पीडा त काठलाई पो थाहा हुन्छ। म त्यही धमिराले खाएको काठ हुँ। देख्ने प्रायले मलाई हाँसेकै देख्छन्। म चाहन्छु पनि हाँसीरहुँ।”
“उसो भए धमिराले खाएको काठको बथा नि सुनुम न त।,” कवि यल्जीलेपनि मुख खोल्यो। म त यसैपनि तयार थिएँ। डी.आर. अटु पनि राजी भैगयो। अरु के चाहियो?

***
भर्सटायल गायक राजेशपायल राई जन्मेकै गृहजिल्ला खोटामा जन्मेको हो धनराज राई। त्यही धनराज राई, पछि भएको हो, संगीतकार डि. आर. अटु। राजेशपायल राई गाउन जन्मिएका थिए, जतिबेलै गाईरहन्थे। ऊ संगीत गर्न जन्मिएको थियो, सानै देखि बाँसुरी बजाउँदै हिँडथ्यो। गीत गुन्गुनाउँदै हिडेथ्यो। उसँग अलिकति कविमन रहेछ, कहिलेकसो कविता कोर्थो, आफैँ पढ्थ्यो र फिस्स हाँस्थ्यो।

ऊ सानै छदाँ, ३८ वर्षको अल्पआयुमै उसकी आमा बितिन्। आमा बित्नु भनेको आमा नफर्किनु हो भन्ने ज्ञान त थियो तर आमा नफर्किँदा घर घरजस्तो रहन्न। बाको अनुहारमा उदासी पोतिन्छ। टुकीमा बत्ति मधुरो बल्छ। अगेनोमा अक्सर भोक मात्रै पाक्छ। भाईबैनीको आँखामा आँशुको खहरे बगीरहन्छ जतिबेलै भन्ने बुझेकै थिएन्। यो सब बुझ्न, पहिला आमा भन्ने शब्द बुझ्नु पर्छ, उसकी आमा बित्दा उसले आमा भन्ने शब्द राम्ररी बुझैकै थिएन।

आमाको मृत्युपछि गाउँका मान्छे आउँथे। कठैबरा भन्थे। टाउको सुमसुम्याई दिन्थे। सबैले माया गर्थे। घिउ ल्याईदिन्थे, ऊ खुसी भएर खान्थ्यो। तर बिस्तारै आमा भन्ने शब्द, आमाले हैन्, समयले पो बुझाउँदै लग्यो। उसले पनि बुझ्दै गयो।

सामान्य परिवार। खेती किसानी जिन्दगी। टन्न खान, राम्रो लाउन सधैँको दु:ख। आमा बितेपछि त केटाकेटीको उसैपनि बिजोग। धन्न आमाको ठाउँ तुम्मा (फुपु)ले सम्हालिन्। उनीहरुकै पीरले तुम्माले बिहे गरीनन्। तुम्माले आमाको ठाउँ ओगटेर घरलाई फेरि उज्यालो बनाईनन्।

आमा बितेको चार वर्षपछि जेठो दाइपनि अल्पआयुमै बिते। उसले मृत्युको अर्थ बल्ल बुझ्न थाल्यो। तर बुझेर के गर्नु ? मृत्युलाई स्वयँ मृत्युदण्ड दिन सकिन्न। दुई चार दिन रोई कराई गर्यो। बाँच्नेले जिन्दगी त चलाउनै पर्यो।

तुम्मा उसलाई खुब माया गर्थिन्, खान मीठो मीठो दिन्थिन्। हप्तामा मासु कतै न कतैबाट जुटाउँथिन्, तर लाउनचाँही वर्षको एकजोर कपडा पनि मुश्किलले। भन्थिन्, ‘राम्रो लाउने ज्यानले सुख खोज्छ, सुखले काम हुँदैन्, काम नभए दाम हुँदैन्, अनि त पेट भोकै हुन्छ। तर खान चाँही खानै पर्छ। खाए ज्यान लाग्छ। ज्यान लागे जस्तै काम पनि गर्न सकिन्छ।’

उसलाई सानैदेखि संगीतमा खुब सौख थियो। बाँसुरी खुब बजाउँथ्यो। बाँसुरी बजाउन पाए भोक, तिर्खा, निन्द्रा केही लाग्दैनथ्यो। फित्ता चुँडिएको चप्पल घरबाट स्कुल र स्कुलबाट घर गर्दा गर्दै। क्रिम हालेको पाईनापल बिस्कुटको स्वाद सम्झेर घुटु घुटु थुक निल्दा निल्दै उसले एस. एल. सी. पास गर्यो। ऊ त वाडमै एस. एल. सी. पास गर्ने पहिलो विद्दार्थीपो रहेछ। खुसीले दङ्ग पर्यो। फेरि तुम्मालेनै आफ्नो पेवापात बेचेर प्लस टु पढ्न बिराटनगर पठाईन्। ऊ बिराटनगर हान्नियो।

उसलाई संगीत पढ्न मन थियो तर भर्ना भयो कमर्समा फ्याकल्टीमा। चासो नभएर ह‍ो कि ? उत्ति मज्जा लागेन कमर्समा। सम्झ्यो, बाँसुरीको धुनको आनन्द। गीत गुन्गुनाउँदाको आनन्द, कविता र गजल लेख्दाको आनन्द। सोच्यो, ‘यसरी हुन्न, म काठमाण्डौ गएर संगीतनै पढ्छु। त्यही बलमा उसले प्लस टु पास गर्यो र हान्नियो काठमाण्डौ। राजा बिरेन्द्रको बंश नाश भएर देशले कोल्टे फेर्दै गरेको वर्ष ऊ काठमाण्डौ छिर्दै थियो र उसको जिन्दगीले पनि कोल्टे फेर्दै थियो।

काठमाडौँ छिरेपछि पो उसको वास्तविक संघर्ष सुरु हुन्छ। आर. आर. क्याम्पसमा संगीत पढ्न भर्ना त भयो, तर कहाँ बस्ने ? के खाने ? कोठा भाडा कसरी बुझाउने ? गाडीभाडा कसरी तिर्ने ? कहाँ गएर के जागिर गर्ने ? भन्ने समस्याले दिन दुई गुना राती चौगुना पिरोल्न थाल्यो। माघरमा त बसेको छ। तर आफैँलाई पीर लाग्ने।

हिम्मत हार्नु हुन्न। अप्ठायाराहरूको बीचमा पनि आशाको मधुरो टुकी त कतै हुन्छ नै। सानैदेखि बाँसुरी बजाउने उसले एक दोहोरी साँझमा बासुरी बजाउने काम पायो। साँझ पाँच बजेदेखि रातको एकबजे सम्म। तर घर फर्कन सधैँको पिरलो। कहिले हिँडेरै त कहिले मागेको साईकलले सातदोबाटोको बसाई र कमलादीको दोहोरीसाँझ गर्थ्यो ऊ।

जस्तै निडर हुँ भनेपनि रातको समयमा त मन ढक्क फुल्दो रहेछ। झोलाभरी बाँसुरी हुन्थ्यो, झोलाको सानो खल्तीमा केही थान चुरा र धागोपनि सँगै बोक्थ्यो उसले। किचकन्याले दु:ख नदेओस् भनेर। कुन्नी के हो के हो? किचकन्या सँग भेट त भएन्, तर काठमाण्डौका भुस्याहा कुकुरसँग भने सधैँको डर। फर्कदाँ बाटोमा भुस्याहा कुकुरले लखेट्दो रहेछ। टोकीहाल्यो भने, बौलाहा हुन्छ कि भन्ने डर। के गर्नु काम नगरी भाछैन्। सहरमा अचेलपनि भुस्याहा कुकुरको समस्या उस्तै छ।

दोहोरी साँझमा काम थालेपछि उसले कोठाभाडामा लियो। दुईचार पैसा आम्दानी पनिहुन थाल्यो। त्यही बखत ठूली बैनीले एस. एल. सी. पास गरीन्। सँगै बसेर पढ्न भनी काठमाण्डौ आईपुगिन्। अलिअलि त ब्यबस्था भयो। तर भनेजस्तो कहाँ हुनु? त्यतिबेला उसलाई हप्तामा एकछाक मासु खान मन लाग्दो रहेछ। खल्ती छाम्यो, तिरेनुपर्ने ठाउँ हिसाब गर्यो, कमाईले नभ्याउने। अनि बोसो चाँही ४० रुपैँया किलोमा आउँदो रहेछ। उसले धेरै पटक मासु मानेर बोसो र भात खाएको छ।

यसैबीच आमाको ठाउँ ओगटेर उसलाई काठमाण्डौमा बाँच्न सक्ने बनाउने तुम्मालाई पनि मृत्युले लग्यो। आफ्नो बुताले भ्याएसम्म तुम्मालाई बचाउन हरप्रयास गर्यो। काठमाण्डौका बिभिन्न अस्पताल पुर्यायो। केही सिप लागेन। कलेजो क्यान्सरको अन्तिम अवस्था भैसकेको रहेछ। केही सिप चलेन्।
त्यो बेला पो ऊ खुब रोयो। डाँको छोडेरै रोयो। शिरमाथि पहाड खसेझैँ भयो। आखाबाट भलभल झरी चुहियो। बत्तिको उज्यालो निभेको थाहा पायो। जताततै अध्याँरो देख्यो। अभिभावक भनेको के रहेछ बुझ्यो र अभिभावकको अभावलाईपनि महशुष गर्यो।

बिस्तारै आँशु सुक्यो। सुकाउनैपर्थ्यो। घाउमा खाटा बस्यो। बसाउनै पर्थ्यो। काँधको जिम्मेवारी झन बढेको थियो। भाइ-बैनाको सम्पूर्ण जिम्मापनि काँधमा आईलाग्यो। आफ्नो सांगीतिक सपनापनि मार्न भएन।

बैनीहरू हुर्किदैँ गए। कस्तो पीर, न लभसभ गरेर अरू कसैसँग भाग्छन् कि? न गलत केही गर्छन कि भन्ने पीर। कहिलेकाँही सोझा छन्, बैनीहरू, न मेरा उनीहरूको बिहेनै पो हुन्न कि? दाइ हुनु भनेको पनि सजिलो छैन रहेछ।

उसको सपना जपना त संगीतनै थियो र छ। त्यो समय देशैभरी लोक दोहोरी कार्यक्रमहरू हुन्थे, बाँसुरीको बादनको लागि ऊ सधैँ रोज्जामा पर्ने गर्थ्यो। हर ठाउँमा पुग्थ्यो पनि। यसैबीच उसलाई एलेबम निबालेन मन लाग्यो। आफ्नै शब्द र संगीतको पहिलो पूर्बेली गीत राजेश पायल राईको आवाजमा रेकर्ड गरायो। त्यो राम्रै चल्यो पनि। थप अरू तीन गीत रेकर्ड गरेर उसले “चौतारी” नाम एल्बम बजारमा ल्यायो। यही एल्बम चौतारी हो, जसले डि. आर. अटुलाई संगीतकारको रुपमा चिनायो।

आफ्नो गीत चलेपछि उसलाई जोश बढ्यो। तर पैसाले धोका भयो। सुन्दर धुन बनायो। शब्द खोज्यो। स्टुडियोमा तिर्ने पैसाको अभाव। गायकलाई दिने पारिश्रमीकको अभाव। अनि लाग्यो उसलाई कला धेरैथोक हो। तर पैसा पनि कम चाँही हैन्। अब उसलाई लाग्यो। केही पैसा कमाउन पर्छ अनि सांगीतिक क्षेत्रमा थप केही गर्न सकिन्छ। अनि हान्नियो कोरिया।

***
धेरै मान्छे छन्, कलाकार, खेलाडीहरू छन्, जो पैसा कमाउन थालेपछि आफ्नो कला र गलानै भुलेर पैसाले भारी पुर्याउन तल्लिन हुन्छन्। तर यसमा डि. आर. अटु अपवाद निस्कियो। लगभग अपवादनै हो। उसले लगभग १८० बढी गीत त कोरियामा काम गर्दै संगीत गरेको हो। यहाँपनि केही समय उसले केही साथीहरूसँग मिलेर सुनाखरी ब्याण्ड स्थापना गरी कोरियन कलाकारहरूसँग थुप्रै संगीतिक कार्यक्रम गर्यो। बेला बेला गीत गजलपनि लेख्छ। अचेल उसको संगीतमा लगभग हप्ताको १ गीत रेकर्ड हुन्छ। उसँग संगीत गराउन ९ महिना सम्म कुरेका गीतकाहरूपनि छन्। सम्झदैँ गर्दा उसको अनुहार उज्यालो हुन्छ।

अँ साँच्ची अर्को कुरा, उसका दुई बहिनी र तीन दाजुभाइ सबै कोरियामा छन्। उसैको नेतृत्वमा सबैको तर्फबाट पाँच लाखको अक्षयकोष स्थापना गरी आमा दया र तुम्मा लिलाको नामबाट दयालिला स्मृति प्रतिष्ठान समेत स्थापना भएको छ। जसले बिगतको वर्षदेखि वर्षेनी राष्ट्रिय प्रतिभाकोको खोजी गरी पुरस्कार तथा सम्मान गर्ने गर्छ।
***
घडीमा रातको १२ बजिसकेछ। दिउँसो त गर्मी थियो तर रातको चिसोले हो कि ? उसको कुराले ? शरीर चिसो भएको छ। म झोला खोलेर स्वेटर लगाउँछु। केटाहरू सबै चुपचाप छन्, सायद सोच्दै होलान भर्खर सुनेको कथाबाट कुनै कविताको थिम।

“अब त सुत्न पर्छ डियरहरू” कवि बोनमले भन्यो। “हैन हो, एक एक क्यान त लाउनु पर्छ।” कवि यल्जी विवशलाई पनि कसरी नकार्नु। ऊ मार्टतिर हुत्तियो।
म सोच्दैथेँ, ‘उसको यो गति निरन्तर रहनु पर्छ, यही बेगका साथ। उसको यो यात्राले नेपाली संगीतले केही बल पाओस्। तर मैले भन्दा बढी नेपाली संगीत उसैले बुझेको छ कि, नेपाली संगीतलाई संख्यात्मक हैन्, गुणात्मकताको आवश्यकता छ।’ क्यान बियर आईसकेछ।
आजको रात निदाउनु अघि, अब क्यान वियरमा कक्टेल बनाउनु छ, स्वरुपराज आचार्यको स्वर, डि. आर. अटुकै संगीत रहेको एक हिन्दी गजल
“बहुत देर होगई तेरी याद आई सोया नहि हु
आँखो के अंदर छुपाया हु आँसु रोया नहि हु”

(संगीतकार डि.आर.अटु.को बारेमा करिब छ बर्षअघि यो आर्टिकल लेखिएको हो । त्यस समयमा कोरियामा रहेका उनी हाल नेपाल फर्केर संगीत स्टुडियो सञ्चालन गरेर बसिरहेका छन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर