लमजुङ जिल्लाको राइनास नगरपालिकामा २०४३ सालमा जन्मिएका हरिशरण परियार पोर्चुगलमा बस्छन् । उनी उन्मुक्त पुस्तासँग आवद्ध छन् । आफर र रोलिङ्फ्लेक्स जस्ता संयुक्त कृतिबाट दरिलो काव्यिक उपस्थिति जनाइसकेका छन् । पहिलो एकल कविता सङ्ग्रह ‘कैँची’ भर्खरै मात्र प्रकाशित भएको छ । आजको पुस्तकवार्तामा सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले उनीसँग ‘कैँची’ र कविताका विषयमा गरेको वार्ता यस्तो छः
‘कैची’ले के कस्ता कुराहरू काट्न खोजेको छ ?
सबैभन्दा पहिला धेरै धन्यवाद जनकजी, आफ्ना कुरा राख्ने मौका दिनुभयो। हामी जुन समाजमा छौ, यो समाजले निर्माण गरेको भाष्य, सौन्दर्यचेत, कथित सहिष्णुता भित्रको राजनीति र जात व्यवस्था भित्रको व्यथाको चिरफार गरेको छ।
विमोचनमा भन्नुभएको थियो, ‘नेपाली समाजको जात व्यवस्थाले आफूमाथि पारेको प्रभाव र आफ्नो सम्पूर्ण भोगाईहरू ‘कैँची’का रूपमा आएको छ।’ तपाईं हुर्केको समाजमा जातिय विभेद कत्तिको खेप्नुपर्यो ?
जातिय विभेद त हाम्रा धेरै सामाजिक क्रियाकलापमा छदैँ छन्। मैले पनि प्रत्यक्ष र अप्रत्यक्ष दुबै किसिमका धेरै विभेदहरू भोगेको छु।
जातिय व्यवस्थाका विरुद्धमा आन्दोलन सुरु भएको छ, यसै वर्षदेखि यसलाई दिवसको रूपमा पनि मनाउन थालियो, यहाँको विचारमा जात व्यवस्थालाई कसरी प्रभावकारी ढङ्गबाट समायोजन गर्न सकिएला ?
जात व्यवस्थाका विरुद्व आन्दोलन अझै घनिभूत रूपमा हुनु पर्छ, र यसलाई दिवसका रूपमा मनाउने कुरा खुशीको कुरा हो।
के कविताले सामाज परिवर्तन गर्न सक्छ ?
हामीले सोचे जस्तो र चाहे जस्तो छिटो परिवर्तन नहुन सक्छ,तर, हुन्छ। सबैभन्दा महत्त्वपूर्ण विचार हो। विचार निर्माणमा समाजिक अध्यनले महत्त्वपूर्ण भूमिका खेल्छ। साहित्यले समाजका विभन्न आयामलाई समेटेको हुन्छ। जसले समाज परिवर्तनमा योगदान दिन्छ नै।
समकालीन व्यवस्थाले गरेको शोषण, अपमान र उत्पीडनलाई शालीन रूपमा विद्रोहको आवाज बोलेका कविता यस कृतिमा समाविष्ट भएका कुरा सुनियो, विद्रोह गर्नको लागि कवितालाई नै माध्यम किन बनाउनुभयो ?
जब मैले ‘न लेख्न कसरी मिल्छ’ भन्ने सोचे अनि लेख्नु पर्छ भन्ने लाग्यो। कविता लेख्न सक्छु कि भन्ने लाग्दै गर्दा उन्मुक्त पुस्तासँग जोडिन पुगेँ। उन्मुक्त अभियानका साथिहरूसँगको निरन्तर भेटघाट र छलफलले कविताको ‘क्राफ्ट’ गर्न सिकायो र यसैलाई मैले आफ्नो अभिव्यक्तिको माध्यम बनाए।
नेपालको कानुनले जातिय विभेद र छुवाछूतलाई अपराध मानेपनि व्यवहारीक रुपमा भने विभेद र छुवाछूतको अमानवीय व्यवहार चल्दै आएका छन्, यो विभेदलाई पूर्णरूपमा हटाउन के कस्तो कदम चाल्न पर्ने देख्नुहुन्छ ?
कानुनी रूपमा हटेको त छ तर, कस्को हातमा कानुन छ भन्ने कुरा रहेछ। जातिय विभेद र छुवाछूतका घटनाहरुमा कसरि हाम्रो कानुन मुकदर्शक बनेको छ, हामीले देखिनै रहेका छौ। कसरि राज्य सत्ताका ठेकेदारहरु खुलम खुला यस्ता घटनालाई सामान्यीकरण गर्न सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन्। जातिय विभेद केवल सामाजिक र साँस्कृतिक समस्या मात्र हैन, यो त्यति नै पेचिलो अर्थराजनितिक समस्या हो। त्यसैले यसका सबै आयमहरूको परिवर्तन आवश्यक छ। यसका लागि हामी सबैले परेको खण्डमा हदै सम्मको योगदान दिन तयार हुनु पर्छ।
यहाँले कविता लेख्न कसरी थाल्नुभयो ?
ठ्याक्कै,यसरी भन्ने त छैन, जब मैले ‘न लेख्न कसरी मिल्छ’भन्ने सोचे अनि लेख्नु पर्छ भन्ने लाग्यो। कविता लेख्न सक्छु कि भन्ने लाग्दै गर्दा उन्मुक्त पुस्ता सँग जोडिन पुगेँ र यसले निरन्तर पायो।
एउटा पूर्ण कवितामा के कस्तो गुण हुनुपर्छ भन्ने लाग्छ ?
म भर्खर, कविता लेख्न खोज्दैछु। मेरो लागि कविता मेरो भोगाइ, पिडा, व्यक्त गर्ने र समाज रूपान्तरणको लागि आह्वान गर्ने माध्यम हो। यसै अनुरूप लेख्ने कोसिसमा छु।
तपाईंलाई मनपर्ने तीनवटा कविता कृति ?
गहुँगोरो अफ्रिका
प्रश्नहरूको कारखाना
खुट्टामा श्रीपेच
तपाईंलाई मनपर्ने तीनजना कवि ?
माया याञ्जेलो
विनोद विक्रम के.सी.
केशव सिलवाल
विमोचनपछि कविताको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
कवितालाई धेरै माया गर्नु भएको छ, राम्रो प्रतिक्रियाहरू आएको छ। युवा साथीरूले खोजी राख्नुभाको छ। अन्तमा, एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ । धन्यवाद, जनकजी, समयमा रेस्पोन्स गर्न सकिन, क्षमा चाहेँ। मेरो विचार, राख्न दिनु भयो, त्यसको लागि आभार। ‘कैंची’ तपाईहरूको हातमा थमाएको छु। यसलाई, आफ्नो आन्दोलन बनाइदिनुस र मनदेखि स्वीकार्दिनुस्।
प्रतिक्रिया
-
४
