✍️ दिनेश आदिव
गजल – एक
पहिलोपल्ट भिखारीको गोजी पैसाले भरिएको छ
लाग्यो आज यी मान्छेहरुको मुटु झिकिएको छ।
ढोकाले कोठाभित्र पुग्ने अवसर कहिल्यै पाएन
लेख्न त उसकै छातीमा स्वागतम लेखिएको छ
चिट्ठीमा हाम्रो प्रेम कहिल्यै सकिँदैन लेखेको थियो
हेर त आज त्यही लेख्ने कलमको मसी सकिएको छ
काँडामा अल्झिएको तिम्रो पछ्यौरी च्यातिएर गयो
अब हालत के हुन्छ ? मेरो मुटु तिमीमा अल्झिएको छ
गजल – दुई
पीडामा बाँच्नुपर्छ तिम्रो तिरस्कारमा बाँच्नुपर्छ
यस्तै हो यहाँ घृणा गर्नेकै प्यारमा बाँच्नुपर्छ
म गाजल हुँ, तिम्रो जिन्दगी बन्न सक्दिन
मैले त केवल तिम्रो श्रृङ्गारमा बाँच्नुपर्छ
यहाँ जिन्दगीभर आँखा नदेख्नेहरु पनि
आँखा देख्नेहरुको संसारमा बाँच्नुपर्छ
म किताब बनेँ हरेकको ज्ञानमा बाँच्न पाएँ
पोस्टर बन्नेहरु अरुकै प्रचारमा बाँच्नुपर्छ
पछुतो लाग्छ आफैंलाई रुपैयाँ बनेकोमा
जब कुनै वेश्यालयको कारोबारमा बाँच्नुपर्छ
प्रतिक्रिया
-
४
