✍️ कृष्णकुमार परियार

मुक्तक – एक

अभावको पोल्टोमा भोकाका लहर कति होलान्
पसिनाले भिजाएका सुक्खा शहर कति होलान्
मजबुरीले खाडीमा पुगेका नेपालीलाई सोधिहेर
परिवारसँगै जिन्दगी जिउने रहर कति होलान्।।

मुक्तक – दुई

सडकमा ढुकेर ‘हामी यता छौँ’ भन्दै माला लगाऊ
तँलाई गृह मलाई अर्थ, हिसाब सालाखाला लगाऊ
दौरासुरूवालको इज्जत संस्कार भुलेका मतिभ्रष्ट हो
त्यो कालो कोट खोलेर बरू छेपारोको छाला लगाऊ।।

मुक्तक – तीन

आत्मसम्मान गुमेपछी घर घरजस्तो लाग्दैन
घर नजिक मन टाढा सहर सहरजस्तो लाग्दैन
आफ्नैले विश्वास दिलाई मुटुमा छुरा रोपेपछि
दर्बिला सम्बन्धमा पनि एक अर्काको भर लाग्दैन।।

मुक्तक – चार

तक्दिरमा थोरै जीत थोरै हार बोकेर
यो बोझिलो जिन्दगीको भार बोकेर
बाँच्नुपनि एक अपराध जस्तै लाग्छ
रित्तो खल्ती सपनाहरू हजार बोकेर।।

मुक्तक – पाँच

देशमा बसुँ छाक टार्ने भर छैन सरकार
भूमि बेच्न कतिपनि डर छैन सरकार ?
बाध्यताले मोड्दैछु खाडितिर पाइलाहरू
भारी दिमाग लिई कुनै सफर छैन सरकार ।।

प्रतिक्रिया

सम्बन्धित खवर