✍️कमला न्यौपाने

२०२२ जनवरी महिना सुरुमात्र भएको थियो । शनिवारको दिन बिहान ८ या ९ बजेको समय हुनपर्छ। श्रीमानजी र म हर्थरुम (भान्सा कोठासँगैको बैठक कोठा)मा बसेर चिया पिउदै थियौँ । मेरो मोबाईलमा टिर्रर घन्टी बज्यो । बिहान छुट्टीको दिन कसले फोन गरेको होला भनेर सेल फोन हेरे।

“वेइ कलिङ्ग (Wei calling ) ” लेखेको देखे ।
वेइ हाम्री पुरानो साथी हुन् । उनीसँगको हाम्रो चिनाजान २५ बर्ष पुरानो छ । वेइ दम्पतिलाई बेला बेला घुम्न जान मन पर्छ । हामीलाई पनि ठाउँ ठाउँ घुमी रहन मन पर्छ ।
वेईको फोन मैले उठाए “ हेल्लो के छ ? उनले सोधिन् । कुसल मंगल आदि इत्यादि कुरा भए । उनले केही महिना अगाडी एनअर्टिका (antarctica) भ्रमण गरेको रोचक कुराहरू सुनाईन् । फोन राख्ने बेला मैले सोधे “अब अर्को भ्रमण कता नि ?”

उनले झट्ट जवाफ दिइन् “मलाई त अरिजोना (Arizona) र युटाह(Utah)का राष्ट्रिय निकुञ्जहरुमा हाईकिङ्ग गर्न जाने बिचार छ। जाने हो ? उनले प्रश्न गरिन्।

मैले कुन समय र कतिका लागि भनेर सोधे । उनले ठाउँका नाम र घुम्न जाने राष्ट्रिय निकुञ्जहरूका नामहरू भनिन् ।

उनले भनेका ठाऊँहरू आफू कहिलै नगएको परेछ। तस्बिर मात्र देखेको थिए। जान मन पनि लागि रहेको थियो तर समय र योजना कहिले बनेको थिएन।

हाईकिङ्ग जाने भनेपछि श्रीमानजीलाई पनि रोचक लाग्यो । भर्खर केही महिना अघि मात्र पुनहिल हाईकिङ्ग गएको धङ्धङ्ति अझै बाँकी नै थियो । त्यसैले हाईकिङ्गको प्रस्ताव हामीलाई मन पर्यो । काममा थाहा दिनु पर्छ अनि भनुला भनेर फोन राखे ।

कामबाट एक हप्ताको बिदा स्वीकृति पाएपछि हाइकिङ्गका लागि योजना बनाउन सुरु गरियो।

योजानाअनुसार हामी हवाई जहाजबाट लस भेगस उत्रनु पर्ने थियो । लस भेगसबाट पहिलो राष्ट्रिय निकुञ्ज, जियन राष्ट्रिय निकुञ्ज गाडीबाट जानु पर्ने थियो ।

लस भेगस भएरै जानु पर्ने भएकाले मैले लस भेगसमा एक रात बिताउने इच्छा राखे। कोभिड – १९ का कारणले बन्द भएको भेगस भर्खरै खुलेको थियो ।

त्यसैले पनि दुई बर्ष पछि खुलेको भेगस कस्तो भयो होला भन्ने जिज्ञासा थियो। भेगसको त्यो लामो स्ट्रिप extra गुम्न यसै पनि रमाइलो हुन्छ।

वेइलाई पनि हामीले हाम्रो योजना सुनायौ। वेइले भेगस नघुम्ने र अर्को दिन हामीलाई भेट्ने कुरा गारिन् ।

शुक्रवार दिउँसो दुई बजेको थियो। हाम्रो हवाईजहाज लस भेगस विमान स्थलमा अवतरण भयो। हामी बुग गरेको होटल ‘न्यु योर्क न्यु योर्क’ मा पुग्यौ। फ्रेस भएर बाहिर घुम्न निस्कियौ ।

लस भेगसः

मोजाभी मरभुमी मा रहेको लस भेगस विश्वकै मनोरञ्जनको राजधानीको रूपमा चिनिएको छ ।

सडकको दुई छेउमा ठुला ठुला तारे होटलहरूको भव्य बिल्डिगं, रेस्टुरेन्ट र नामी पसलहरुले बनेको भेगस स्ट्रिप,करिब ४ माईल (६.४ किलोमिटर) लामो छ। यहि नै यहाको मुख्य आकर्षण रहेको छ । यो स्ट्रिप नभेडा मुख्य पर्यटनको केन्द्रबिन्दु पनि हो ।

भनिन्छ “भेगसमा जे हुन्छ, यहि नै रहन्छ” !
यो लस भेगस सहरको एक कावत हो । यहाँ आउने मानिसले निर्धक्क भै रमाइलो गर्ने । भोलि के होला सो होला । आज सबै भुलेर यतै रमाइलो गर्ने हो । यहि मूल मन्त्र लिएर आएका हजारौ लस भेगसका पाउनाहरूले सहरको रमाइलो लुटी रहेको देखिन्थ्यो।

अमेरिकामा बस्ने सबै व्यक्तिहरूको “मिले एक पटक भेगस जाने” आकङ् क्षा राखेको प्रसस्त मैले भेटेकी छु ।

कतिपय पर्यटकहरू लस भेगस स्ट्रिपमा मोजमस्ती गर्न भनेर विदेशबाट सिधै आएका पनि हुदा रहेछन्, भने कति पर्यटकहरू जाउन् त त्यो ठाउँ कस्तो रहेछ एक पटक हेरिहालौँ भनेर आएका हुन्छन्।

यहाँ पारिवारिक, व्यवसाय र साथीहरूको भेट, बिहे र अरु धेरै सामूहिक समारोह आयोजना गरेको पाइन्छ। सबै खाले मनोरञ्जनका कुराहरूलाई आकर्षक तरिकाले एकै ठाउँ राखिएको भएर होला । यो सहर कुनै समय पनि खाली भएको देखिदैन । भन्ने हो भने यो सहर कहिलै सुत्दैन ।

संगीतका ख्याती प्राप्त कलाकारहरूको सांगीतिक प्रदर्शन देखि लिएर विभिन्न तहका प्रदर्शनले आकर्षण गरेको यो भेगस स्ट्रिप प्राय सबै खाले उमेरका व्यक्तिहरूलाई उत्तिकै रमाईलो बनाउन सफल भएको छ ।

तर, साना नानीबाबुहरूलाई लिएर जाँदा भने कुनै ठाऊँ जान मिल्ने, कुनै ठाऊँ लैजान नमिल्ने भएकोले परिवारसँग घुम्न जादा भने विचार गर्नु पर्ने हुन्छ ।

अमेरिकी समाजमा बिहे पूर्व बेहुला र बेहुली पक्षहरूले मनाउदै आएको ‘ब्याचोलोरेट र ब्याचोलोर पार्टी’ (bachelorette and  bachelor)  मनाउन आएका नौजवान युवा र युवतीहरूको घुइँचो पनि उत्तिकै देखिन्छ ।

सबैजसो होटलहरूको तल्लो तलामा जुवा तासका टेवलहरू र स्लट मेसिन सयौँ मात्रामा राखिएको छ ।

जहाँ बसेर मानिसहरू २४ घण्टा जुवातास खेलिरहेको देखिन्छ ।

यहाँ जुवा खेल्न कुनै कानुन लाग्दैन । लस भेगस विमानस्थलबाट नै जुवा खेल्ने स्लट मिसिनहरू यत्रतत्र राखिएको पाइन्छ ।

तास खेलेर रुपैयाँ जितियो भनेर खुशी मनाएका मानिस कमै देखेकी छु। कसै–कसैले समूहमा ब्लैक ज्याक खेलेर जित्न सकिन्छ भन्ने आशावादी भएको पनि पाएको छु ।

जुवाका स्लट मिसिनहरूबाट भने जितेर घर फर्कने कमै हुन्छन् । भनिन्छ ‘मेसिनको सेटिंग नै त्यसरी राखेको हुन्छ।”

मस्तले मास्क नलगाई सबै मानिसहरू होटलभित्र र बाहिर हिडिरहेका थिए। कोभिडबाट भर्खर मुक्ति पाएका हामी ‘बाँधेको भोटे कुकुर उम्केको’ जस्तो लागि रह्यो । यसरी मानिसहरू विन्दास देखेर हालै “यु टुब” (youtube)मा तहल्का मच्चाएको प्रकाश सपुतको गीत ‘पिर’ याद आयो।

मानिसहरू पिर बिसाउन सायद यहाँ आएका त हैनन् ? मैले मनमनै सोचे ।

सबै हाँसीखुशी देखिन्छन्, कोही जुवा खेलेर रमाएका छन् , कोही मदिरामा मस्त छन्, कोही धुवा उडाई रहेका छन्, कोही किनमेल गर्न व्यस्त छन् र कोही आफ्ना साना नानीबाबु लिएर यता उताका भव्य बिल्डिंग देखाउन कुदिरहेका छन् ।

लाग्छ यहाँ यी सबै मानिसहरू चिन्ताबिहिन छन् । फुर्सदिला छन् । भेगसको कहावतअनुसार नै यी मानिसहरू आफ्ना सबै दुःख दर्दका हिजो बिर्सेर, भोलि के होला नसम्झी आज सहरको सक्दो मस्ती लुटिरहेका छन् । म पनि त्यस मध्य कि एक थिए । केही पिर बिर्साउदै थिए ।

कोभिड १९ का कारणले बन्द भएको यो स्ट्रिपको हालत कस्तो थियो होला भन्ने जिज्ञासा मन रहेको थियो । हामीलाई होटल सम्म पुराई दिने उबर चालकलाई मैले सोधेँ “तपाई भेगसको बासिन्दा हो ?”
उनले भने “हो हाल ! म गायनाबाट आएको १५ बर्ष भयो ।”

“तपाई सिधैँ यता आउनु भयो” मैले सोधे । “हो ।” उनले भने ।

“यहाँ बस्न खुबै रमाईलो होला हैन ?” मैले फेरि सोधे
“रमाईलो ? हा हा..!”

उनी हासेर भने “म त यहाँ रोजगारको लागि आएको हो, भेगस स्ट्रिपमा मानिस लाने लैजाने बाहेक यतातिर म आउन्न । म त यहाँबाट ४५ मिनट पर बस्छु । मेरा छोराछोरीहरूलाई यता लिएर आएको पनि छैन।”
यो कुरा सुनेर म छक्क परे ।

सायद यहाँ रमाइलो गर्न भनेर आउनेहरूलाई पो यी सबै कुराले रोमाञ्चकारी बनाउदो हो । तर, यही ठाउँमा बस्ने बासिन्दाहरूलाई सधै एकैनास रमाईलो गरेर कहाँ हुँदो हो र ? फेरि भेगस स्ट्रिप भन्ने बित्तिकै साधारण मानिसलाई भट्किलो र विलासिता भन्ने पनि बुझिन्छ ।

मैले फेरि सोधे “कोभिडमा तपाईँको व्यवसाय कस्तो रह्यो”

“कोभिडमा त यो स्ट्रिप भुत बंगला जस्ता देखिन्थे, काम ठप्प थियो, सडक खाली खाली थियो। अब सबै खुल्यो। सबै पहिलेको जस्तै भएको छ। आशा छ व्यवसाय खुबै चल्ने छ ।” उसले आशावादी भएर सबै कुरा एकै पटक भने ।

हो ! भेगस स्ट्रिप खुलेको पनि केही महिना मात्र भएको थियो । त्यसैले मैले त्यतिका लामो समयसम्म बन्द भएर खुलेको भेगस स्ट्रिप फेरि हेर्ने जिज्ञासाले आएकी थिए ।

‘मह पनि खाई रह्यो भने तितो हुन्छ’ भने जस्तै मलाई केहि बर्ष अगाडि आएको भेगस स्ट्रिप कुनै नौलो लागेन । झन् यस पटक तितो लागेर आयो।

यो सहरको रमाईला पक्ष भन्दा नराम्रा पक्ष धेरै हेर्न लागे । स्ट्रिपमा हिड्दा चुरोट र गाजाको धुवाले कुईरिमण्डल बनाएको भान भयो ।

आफू प्यासिप स्मोकर होईएला भन्ने पिरले धेरै सतायो । स्ट्रिपको यत्रतत्र अर्ध नग्न महिलाहरू अत्याधिक मात्रामा देखे । यी महिलाहरू फोटो खिच्नका लागि पर्यटकलाई आनुरोध गर्थे र फोटो खिचे बापत पैसा माग्थे।

पछिल्लो पल्ट यो व्यवसायका महिला यतिका धेरै देखेकी थिइन ।

त्यहाँको विकृत चित्रले मेरो मन रोमाञ्चित हुनु भन्दा पनि चिन्ताले सताएको थियो ।

साझसम्म स्ट्रिप एक सरो हिडी सकेपछि कुनै प्रदर्शन हेरौं भन्ने सोच आयो । लस भेगसमा हुने प्रदर्शन प्रायः अरु ठाउँमा पाइदैन ।

यहाँ हुने प्रदर्शनहरूमा जादुदेखि लिएर हँसाउने, रुवाउने र सांगीतिक प्रहसन प्रसस्त हेर्न पाइन्छ ।

पहिले आएका बेला हामीले धेरै प्रदर्शन हेरी सकेका थियौ । अब के हेर्ने होला ? भनेर इन्टरनेटमा गुगल गर्न लागे ।

अत्याधिक जोडाजोडीहरूले हेर्न रुचाएको ५ तारे एक प्रहसन भेटेँ, हेरौन त भनेर टिकेट काटियो । अलि अलि असहज हुदै लक्जोरको विशाल प्रदर्शनन हलमा हामी पस्यौँ।

प्रदर्शन हलको कोरिडोरमा कलाकार महिलाहरूको तस्बिर राखिएको थियो । हलमा दर्शकहरूको घुईँचो थियो । ब्याचलर पार्टी गर्न आएका केटाहरूको समूह, श्रीमान श्रीमती र युगल जोडाजोडीहरूको भिडले प्रदर्शन हल टनाटन भरिएको थियो ।

मेरो अनुमानमा २५ देखि ३० बर्षका युवतीहरूको समूहले आकर्षक र रोमाञ्चकारी नृत्यको प्रदर्शन गरेका थिए ।

कार्यक्रम सञ्चालन गर्ने महिलाले हरेक कलाकारहरूको नाम र उनीहरू कहाँबाट यहाँ आएका हुन् भन्ने परिचय दिईन् र बिभिन्न नाचहरूको बिस्तृत चर्चा गरिन् । उनले दर्शकहरूलाई जिस्काउँदै, हसाउँदै बिभिन्न किसिमका नृत्यमा रोचकता थपेकी थिईन ।

यी कलाकार महिलाहरूको शरीर रबर जस्तै बाङ्गिन्थ्यो, हावा नाचेझैँ लाग्ने कलात्मक नाच रमाईलै लागिरहेको थियो । कार्यक्रमको अन्तमा यी महिलाहरूले आफ्नो छातीको कपडा खोलेपछि भने मेरो मन खल्लो भएर आयो।

प्रदर्शनको बिचबिचमा मुन्टो घुमाएर हेरे सबैले प्रस्तुतिको मज्जा लिदै थिए । म भने ति महिलाहरूको बारे सोच्न लागे। यसरी मनोरञ्जन गराउने सुन्दर महिलाहरूले यस किसिमको प्रदर्शनलाई किन आफ्नो व्यवसायका रूपमा चुने होला ?

कसका छोरी, दिदी, बैनी या श्रीमती होलान ? यही प्रश्न मनमा खेली रह्यो। महिलाहरूको बिजोग जस्तो लागे पनि, योजनाबद्ध तरिकाले देखाइएको प्रदर्शन राम्रो र नराम्रो भन्ने प्रश्न भने मन मनै गुने ।

प्रदर्शनको हलभित्र फोटो खिच्न, भिडियो गर्न मनाहि थियो ।कलाकारहरूलाई कडा सुरक्षा दिइएको थियो । हलको चारै कुनामा सुरक्षाकर्मीहरूले दर्शकहरू माथि आँखा लगाइरहेका थिए ।

यतिका व्यक्तिमा लोकप्रिय बनेको प्रदर्शन, मलाई भने रोमाञ्चकारी लागेन ।

यसरी एक नौलो अनुभव बटुलेर प्रदर्शन हलबाट आफ्नो होटलमा लागियो । भोलि बिहान राष्ट्रिय निकुञ्जहरू हाईकिंगको योजना अनुसार वेइलाई भेगस विमानस्थलमा भेट्न जान थियो ।

त्यसपछि जियन पार्क पुग्न चार घण्टा लाग्ने थियो । त्यहाँ पुगेर पनि केहि समय साधारण हाईकिंग गर्ने योजना थियो। भोलिको दिन व्यस्त हुने भएकाले म होटल पुगेर सुत्ने तयारी गरे ।

बेडमा पसे पछि कतिखेर निदाए थाहा भएन बिहान उठ्दा त सात बजेछ । आफैँलाई अचम्म लग्यो । नयाँ ठाउँमा हत्तपत्त निद्रा नलाग्ने मान्छे म किन फुस्स निदाए होला !

फेरि सम्झे साँझ भेगस स्ट्रिपको चार माईल हिडाई र बाटोभरि मानिसहरूले उडाएको गाँजाको धूँवाको असर हो कि ?”

‘प्यासिप स्मोकर’ भइएछ क्यार जस्तो लाग्यो ।
जे होस्, भेगसमा जे भयो जे देखियो त्यतिन्जेलका लागि रह्यो।

तर, मैले त्यहाँ आफ्नो पीरलाई भगाउनु भन्दा पीर बोकेर आएँ । आज यो यात्रा संस्मरणमा पोख्दै गर्दा पीर सबै भागेर गएको जस्तो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर