✍️रहस्य विक्रम चिमरिया

  गजल – एक

मुटु कुल्चने बानी रै’छ मनको बाटो हिँड्नेलाई
सुनैको जुत्ता दिने मन छ धनको बाटो हिँड्नेलाई

गन्तब्य अन्तै हुँदोरै’छ नगिचबाटै गुज्रिनेको
घर भित्र्याउन सकिँन आँगनको बाटो हिँड्नेलाई

बारुदको पहाड आगो बोकी चढेका ती किस्साहरू
सुनाइरा’छु म अझै मक्खनको बाटो हिँड्नेलाई

कुन हो बलियो कुन हो ठूलो बहस पछि गर्दै गरौँ
कलम होइन बन्दुक देऊ वनको बाटो हिँड्नेलाई

हिजो खोले आज नाघ्छन् भोलि तँलाई भत्काउछन्
तगारो नबन् रहस्य जीवनको बाटो हिँड्नेलाई

     गजल – दुई

तैरिए नि हुन्छ स्वयं नाउको गहिराइ
कमसलमा डुब्दैन टिकाउको गहिराइ

कसैले खनेर गयो आँसुको तलाउ
म नापेर बसेँ त्यो तलाउको गहिराइ

तिमीमा पुगेर टुङ्गियो आज पनि
मेरो बर्षौँ पुरानो घाउको गहिराइ

जाँदा छातीमा टेकेर गएको हो ऊ
मसँग सुरक्षित छ पाउको गहिराइ

झम्पल किन्दा पहाड पाइस् पाउन त
बुझेकै छस् रहस्य फाउको गहिराइ

प्रतिक्रिया

सम्बन्धित खवर