✍️ शम्भु अर्याल
धेरै भयो मेरा सृजनाहरू प्रकाशित भएका छैनन् । पत्रपत्रिकामा मात्रै होइन मेरो फेसबुक वालमा समेत पोष्ट भैरहेका छैनन् । मेरो सृजना मिडियामा प्रकाशन नभएको धेरै समय भैसकेको छ । मोफसल यस्तो बिट हो, जस्तो हुन्छ सुपाको बिट । जति पट्याँस(पट्याँस गरेपनि । जति चुभुर्को निफने पनि पहिला सुपाको बिट फाट्छ । कर्मको चाप सुपाको केन्द्रमा पर्दछ तर केन्द्र भन्दा पहिला सँधै बिट भाँचिन्छ । सुपामा चामल जति प्रवाहित भएपनि बिट सुपोको आड हो । आधार हो । बिट नहुँदोहो त न भुष उड्दो हो न त चामल नै अडिँदो हो । न त भुष र चामल छुट्टिदो हो ।
हिसाबकिताब गर्ने हो भने अधिकाम्स मानव उपभोगका साधनहरूमा, मानवीय दैनिकी र दिनचर्यामा, खगोल र भूगोलको सक्रियतामा म केन्द्रमा भन्दा बिटमा चाप परेको देखिरहेको हुन्छु । फेद भन्दा टुप्पो भत्किइरहेको हुन्छ । केन्द्रको रक्षाको लागि भने बिट रक्षाकवच बनिरहेको हुन्छ । म देखिरहेको हुन्छु । टेबल भन्दा बिट छिटो टुट्छफुट्छ । घरमा मझेरीभन्दा छानो छिटो थोत्रिन्छ । खेतमा मुहानभन्दा कान्लो पहिरो जान्छ । गह्रीमा बिचभन्दा आली छिटो भत्किन्छ ।
तपाईँ तर्कना गरिरहनुभएको होला यो शम्भु कता बहकिइरहेको होला । सृजना र प्रकाशनको विषय उठान गरिरहेको छ । कुरा गरिरहेको छ सुपोको । चामल र भुसको । खेत र डिलको । हामीहरूको सृजनसिलता पनि सुपो भित्रको चामल जस्तै बगिरहेको छ । भुस जस्तै बत्तिइरहेको छ । मुहाने खेतको छेउ जस्तै चिप्लिइरहेको छ । जरो गर्व गरिरहेको छ मैले अड्याइरहेको छु वृक्षलाई । फेद अहङ्कार गरिरहेको छ, आफू सर्वेसर्वा हुनुमा ।
हाँगाहरू फैलिइरहेका छन् । रूखबाट पातहरू झरिरहेका छन् । पटक(पटक झरिरहेका छन् । जरो, फेद, टुप्पो, हाँगो सबै अस्तित्वमा छन् । जसलाइ बँचाउन पलाइरहेको पात पहेँलिइरहेको छ । फेरिरहेको श्वास रोकिएर झरिरहेको छ पहेँलो पात । पटक(पटक पलाइरहेको छ । अस्तित्व पातको रह्यो कि रहेन होला ? यतिमा केन्द्र र बिट के हुनसक्छ ?
शहर अक्सर पहाडले घेरिएको हुन्छ । शहर समथर हुन्छ । पहाडहरू नागबेली र बिकट हुन्छन् । शहरको अस्तित्व राख्नको लागि पहाडमा पटक–पटक पहिरो जान्छ । तर पहाडको अस्तित्व राख्नको लागि शहर मौन रहन्छ । शहर यो सम्झिन्छ कि म केन्द्र हो । शहर यो सम्झिन्छ कि म सत्ता हो । शहर यो सम्झिन्छ कि म शक्ति हो । शहर यो सम्झिन्छ म ठुलो हो ।
बिराट बिचारमा, सानो र ठुलोको, फेद र टुप्पोको, केन्द्र र बिटको झुटो आश्वासन र खोक्रो आडम्बर भित्र फेरिरहेको छ शास शहरले । बिटको कवच लगाएर धारण गरिरहेको छ आवरण शहरले । बिटको मखुन्डो लगाएर देखाइरहेको छ अनुहार शहरले । कति नक्कली छ है ! विचार शहरमा । खँदिलो छैन खोक्रो छ । समान छैन विभेद छ । पुर्ण छैन केन्द्र छ । सग्लो छैन अग्लो छ । दौडिरहेको छ अडिएर । अडिएको छ दौडिएर । यात्रामा विश्राम कहाँनेर हुन्छ ? थकान हुन्छ कि हुँदैन ? यात्राको शुरुवात कहाँबाट हुन्छ ? अन्त्य कुन हो ? यात्री कुन बाटो हिँड्नुपर्छ ? कुन बाटो केन्द्र हो ? कुन बाटो भिरको हो ?
निधारमा अबिर पर्यो कि जोकोहिले सम्झिरहेको हुन्छ, रड्गहरू सबै मेरो हो । आधार टेक्यो कि मान्छे सममझिन्छ, गोलाकार माला मेरो हो । निसानको जिम्मेवारी पायो कि उसले सम्झिन्छ म केन्द्र हो । सत्तासिन सम्प्रभु सम्झिइरहेका हुन्छन् किस् म द्वीप हो । मलाइ बिटले जलाउनुपर्छ । म दिपक बनेर चम्किइरहुँ सदैव ।
म उज्यालो हो । म बलेपछि मात्र अरूले आँखा देख्नुपर्छ । राज्यको सिमाना म केन्द्र र बिट बिचमा विभेद देख्दिन । बारूद बिटमा हुन्छ । धार बिटमा नै हुन्छ । घर्षण पनि बिटमा हुन्छ । अहिलेसम्म म हिँडिरहेको बाटोमा मैले यिनै विचारहरू पढिरहेको हुन्छु । यिनै दृश्यहरू देखिरहेको हुन्छु ।
अक्सर यिनै मुल बाटोहरूमा दौडिइरहेको हुन्छु । आँखो चिम्लिदा रातको चिन्तन कस्तो हुन्छ ? जब अँखो खोल्छु क्षितिजले बिटलाई देखाईरहेको हुन्छ । लुकाइराखेको छ बिटले केन्द्रलाइ । जब कहिल्यै नउघ्रनेगरी बन्द हुनेछन् यि आँखा कति फरक होला केन्द्र र छेउमा ? थोप्लो र गोलोमा ? बा र आमामा ? आमा र छोरामा केन्द्र र बिट को हुनसक्छ होला ? सथिभाइहरूमा बिच र बिट कसले बनाउछ ? छाहरी, रिप र पहार कसले बनाएको हो ? यसको उपभोग कस-कसबाट कसरी भइरहेको छ ?
केन्द्र र घेरा, बिट र विन्दु, मुलबाटो र गोरेटो, बाटो र दोबाटोको विषयमा लेखिरहँदा म धेरै कुराहरूमा तपाईंहरूसँग बहकिन सक्छु । धेरै गन्थनहरू छन् मसँग । बोल्न नसकेका, लेख्न नसकेका र लेखेर प्राप्त गरेका प्रताडनहरू । लेखेर प्राप्त गर्न नसकेका गन्तब्यहरू । म तपाईंहरूलाई भाग्यमानी सम्झिरहेको छु । तपाईंहरूले देखेर प्राप्त गर्नुहुनेछ । म विश्वस्त छु । लेखेको देख्नुपर्छ । लेखेको पढ्नुपर्छ । नदेख्न पाइन्छ । नपढ्न पनि पाइन्छ ।
नदेख्ने र नपढ्नेहरूको पनि स्थान हुन्छ । जन्मेपछि नाम हुन्छ । जो देख्दैनन् उनीहरूको नाम धरतीले आफ्नै स्थानमा राखिदिन्छन् । हुनसक्छ उसको नाम रेक्सा चालक हुनसक्छ । हुनसक्छ उ मिस्त्री बन्नसक्छ । कहीँ कतै त उ हुन्छ । कर्मलाइ मैले सानो ठुलो मान्दिन । सबै काम ठुलो हो । जन्म जसले दियो त्यो आमा हुन्छ । धरती जहाँ जन्म लिएँ मैले । धरती जहाँ जीवनमा पहिलोपटक वायु पान गरेँ । धरती जहाँ पहिलोपटक बोल्न नजानेर रोएँ ! धरती जहाँ पहिलो भाषा जानेर रमाएँ । यति परिधिभित्र केन्द्र के हो ? मोफसल के हो ?
सबैभन्दा गहिरो बिभेद म केन्द्र र मोफसलमा देखिरहेको छु । कवि र कवितामा पनि यो विभेदबाट उन्मुक्त हुनसकेको छैन । घेराले चौघेराको संरक्षण गर्छ । छेउले बिचको निरन्तर संरक्षण गरिरहेको हुन्छ । केन्द्र एउटा सानो बिन्दु हो उसले कहिल्यै सोँच्नु पर्छ कि पर्दैन ? यि हिमालहरू मेरै हुन् । मेरो वरिपरि सिमाना छ । विचारमा म साँध र सिमाना मान्दिन । ब्यवहारमा सिमाना कसरी तोकिएको छ ? बिटको कविलाइ रविले चिन्दैन ।
सबैभन्दा क्षुब्ध म त्यतिबेला हुन्छु जब एउटा कविले अर्को कविलाईस् मेरो कवितालाई फलानो कविले अमर बनाइदिनु भएछ कि खरानी ? मेरो कविता सित दुरूस्तै मिलेछ । मेरो कविताको विचार र फलानो कविको विचार उस्तै छ । छि ! यस्तो चिन्तनले पनि किन कविता लेख्नु ? किन कवि बन्नु ? लेख्नु नै किन । जीवनमा खुसी र शुखी हुने उपायहरू धेरै छन् । जब केन्द्रमा विश्वास गर्नु छ भने साधना गर्नु अर्थोपार्जनको । पुजा गर्नु भगवानको ।
साध्य मान्नु केन्द्रको । ढोङ जस्तो सुख, सम्मान, क्षणिक र सतही सुखको विचारले जीवन हिँड्नुनै छ भने जीवनमा परमशुख र आनन्दको, जीवन जगतको अमर साधना किन गर्नुपर्यो ? धर्तीमा मान्छेले अमृत पान गरेर विष उल्टी गरिरहेको सत्य साधनारत कविको साधना किन गर्नुपर्यो ? यो त दुखको साधना हो । यो त ज्ञान, बुद्धी र विवेकको साधना हो । यहाँ मानविय समवेदना र संवेग हुन्छ । मान्छेलाई मापन गर्ने तराजु हो जसले आँखामा पट्टी बाँधेर मान्छेको गरूङ्गोपनको वजन गरिदिन्छ । रेखा गणितले जस्तो मान्छेको कदको मापन गरिदिन्छ । पटक–पटक खोजेपनि, जतिपटक खोजेपनि, अँखो उघार्दा खोजेपनि र आँखो चिम्लिदा खोजेपनि !
विद्यार्थीको गुरू, गुरूको जनननी, केन्द्र र विभेदको यो जरोमा मलाइ लाग्छ जरो रोगी भएको छ । जरोलाइ बिटको खाँचो छ तर कदापी नबन्नु निष्ठुर उसबखत फेद ! हाँगो, टुप्पो र पात । प्रकाश तिमी त्यतिबेला निकै तापमान रहनु । पानी तयतिबेला तिमी जमीनलाइ ओस प्रसारण गरिरहनु । यो समयमा मेरो अनुरोध छ अक्सिजन र कार्बनडाइअक्साइड तिमीहरू कहिल्यै झगडा नगर्नु । फेरिरहनु शास । मिलिरहनु एउटै मझेरी भित्र । नगर्नु परस्परमा विभेद । यो मैैले देखेको सत्य हो । हो जीवनमा मेरो आफ्नो शरिर पनि रहनेछैन कुनैपल ।
सायद अवशेष पनि रहन्न मान्छेको तर केही रहन्छ जन्ममा चिन्नेहरू जसलाइ मेटाउन सकदैनन् । जो गमन गर्न सक्छ तापमा, हावामा, सुर्योदयमा, उदय र अन्तमा उसले अर्को पृथ्वी जन्माउछ । सबै जन्म माटोको हो । यसमा कहिल्यै नझुक्किनु । नपर्नु कोही कहिल्यै भ्रममा । कविता मेरो हो । सरिता मेरो हो । गीत सङ्गीत मेरो हो । भाषा मेरो हो बरू ठिक उल्टो यिनिहरू मनुष्यको साझा थिए । साझा छन् र भविष्यमा पनि सामुहिक रहिरहनेछन् । बरू यि सबै कथन पुर्वोक्ता हुन् ।
लेख्नु अर्थोपार्जनमा सबैभन्दा गरिब चिन्तन हो । लेख्नु यस्तो बद्धिकता हो जो पटक(पटक जन्मिन्छ । अक्षर कहिल्यै बुढो हुँदैन । खोजिरहेको अमृत नचिनेर मान्छे पन्चामृत सेवन गरिरहेका हुन्छन् । विश्वास गरिरहेको छ मान्छे फेरि जन्मिन्छ । अवतार धारण गरिरहेको छ मान्छे म सर्वज्ञ हुँ । कति भ्रममा हिँडिरहेको छ मान्छे । मान्छे ढोग्छ ढुङ्गा, पुज्छ भगवान र बिर्सन्छ जननी । कुन माटोमा जन्मिएँहोला ? कुन तातोले दुर्घन्धित भएँहोला । कुन हावाले प्रणयशक्तिको प्रेरणा मिल्यो होला ? कुन तागतले घस्रिएँहोला ? कस्तो शक्तिले हिँडेँहोला ? कस्तो पराक्रमले मान्छे दौडिरहेको छ ?
मोफसल जतिसुकै बिशाल होस् । मोफसल जतिसुकै तिक्ष्ण होस् । मोफसल जतिसुकै बिलक्षण होस । ग्रह, गतिको परिभाषामा । वायुको पारवहनमा । अग्नीको जलनमा । पानीको तिर्खाईमा । मोफसल राज्यमा कहिलै बिट हुन सक्दैन । बिकट भूगोल, सिमित साधन र श्रोतका बाबजुद पनि मोफसल सकृय छ । कहिल्यै नपर्नु भ्रममा केन्द्रको आधार छेउ हो । केन्द्रको शक्ति बिट हो ।
कमाउनको जोड घटाउमा लेख्नु सबैभन्दा परिश्रम र आम्दानीमा गरिब देख्छु । मजदुर लेखक भन्दा बढी कमाउछ । शहर पस्छु । शहरमा टाउकाहरूको भिड छ । शहरमा पैतालाहरूको घुइँचो छ । शहरमा आवाजको प्रदुषण छ । उत्पादनको कच्चा पदार्थ तयार हुन्छ पहाडमा र पारवहन हुन्छ शहरमा । कति मोलमोलाइ हुन्छ है कच्चापदार्थको शहरमा ? लागिरहेको छ, शहर मुल्य निर्धारण गर्ने प्रविण प्राज्ञ हो । यस्तो हाट बजार हो जहाँ बस्तुको मुल्य हुन्छ । जहाँ क्रेता र बिक्रेताको जोड घटाउ हुन्छ । हिसाब किताब हुन्छ फाइदा र नोक्सानको । अमूर्त आकृतिले मुर्त रूप लिइरहेको हुन्छ शहरमा ।
शहर जसले आफूलाइ केन्द्र मानिरहेको छ । उसले सँधै पर्खिरहेको हुन्छ बिटलाइ आफ्नो सम्पन्नताको लागि । माटोको बिभाजन गरेर तोकिरहेको हुन्छ मुल्य आनाको । अग्लिइरहेको भवन, फैलिइरहेको बस्ती शहरले निर्माण गरेको होइन । बिट कवच बनेर शहरलाइ कमाइदिएको हो । शहर बिटलाइ बेच्नको लागि हतारमा छ ।
बिट शहरसँग किन्नको लागि अभिसप्त छ । बिट हातमा कोमल मनले हातमा माला लिएर शहरको स्वागतको लागि सँधै तत्पर रहिरहन्छ । उ आफू बोल्दैन बोल्न शहरलाइ दिन्छ । उ आफू बस्दैन बस्न शहरलाइ दिन्छ । उ लेख्छ देख्न शहरलाइ दिन्छ । शहरको आँखामा उ यस्तो मोफसल हो पत्रिकाले उसलाइ चिन्दैन ।
उसले आफ्नो अनुहार चिनाउन खै कस्तो कोसेली पठाउनुपर्छ केन्द्रलाई ? खै कस्तो मधुपर्क अर्पण गर्नुपर्छ ? के घेरामा नागरिकको नाम हुँदैन रु शहर अघोषित रूपमा नीतिगत अपमान गरिरहेको हुन्छ बिटको । बिट यति श्रपित छ कि उसले आफ्नै आवाज किन्नुपर्छ शहरसँग । उ यस्तो घेरा हो जसले आफ्नै नाम किन्नुपर्छ ।
प्रतिक्रिया
-
४
