✍️ अजिता प्रधान
मुक्तक – एक
लडेर कोहि कसै सँग नबनोस युद्ध भूमि
क्रोधले केवल नासिन्छ नबनाउ क्रुद्ध भूमि
शत्रुता त्यागेर मित्रताको हात बढाउँदै आउ
अब एक भएर हामी बनाउँदै जाउ शुद्ध भूमि
मुक्तक – दुई
निश्चल निर्मल केवल आमाको ममता नै अपार छ
उनको न्यानो फराकिलो काखमा सुखमय संसार छ
जस्तै परिस्थिति आओस् सन्तानमै समर्पित हुने
तिनको कोमल हृदयमा नरित्तिने स्नेहको भण्डार छ
मुक्तक – तीन
सपना र बालुवाको घर थाहा हुन्न कहिले भताभुङ्ग हुन्छ
एका तिर बनाइ सक्यो अर्को तिर बाट लथालिङ्ग हुन्छ
आज भोलि यो जिन्दगी पनि त्यस्तै भएर बेहाल छ यहाँ
उदास मन र सिंदुर पुछिएको सिउदो जस्तै फुङ्ग हुन्छ
मुक्तक – चार
जब कसैको महसुस हुन्छ बोलिमा मिठास छर्छन्
फेरि मत्लबि बनेर छिनमै बन्दुकको गोलि भर्छन
कसरी मौलाउँछ एति धेरै स्वार्थ भन्नुस न महोदय
मौका पाए ती घाउमा नुन चुक दलेर ढुक्क पर्छन्
मुक्तक – पाँच
चल्छ अवश्य कलम भ्रष्टका विरुद्धमा काट बरु शीर
हटाउनुछ मुखौटा देश बेच्ने षड्यन्त्रका चलाउ बरु तीर
उठ आक्रान्त आवाजहरू फुक्नु छ क्रान्तिको बिगुल
मेटिनैपर्छ अस्तित्व ती राष्ट्रघातिका रोप्न आउन बरु झीर
प्रतिक्रिया
-
४
