✍️ रुपेश अन्जान

गजल – एक

एकबारको जिन्दगानीमा एक दिन ।
यो माछा मर्ने छ पानीमा एक दिन।

युगौं रहन्छन् सुकेका डाँठहरू
फूल रहन्छन् फूलदानीमा एक दिन ।

अब त कथाले अर्कै मोड लियो
हामी सँगै थियौं कहानीमा एक दिन ।

तिमीले याद नगर्नु भनेको कुरा
याद आयो कुराकानीमा एक दिन ।

बिश्वासले होइन अन्धविश्वासले
पछुतो हुन्छ लगानीमा एक दिन।

दुई दिने जीवन एक दिन बाँकी छ
बिति गयो चिनाजानीमा एक दिन ।

यो दुःख पनि खुसी भएको सपना
आएको थियो सिरानीमा एक दिन ।

म अन्जान गजलको उलामा आज
हुनेछु गजलको सानीमा एक दिन।

गजल – दुई

हेर लाग्ला फ़ेरि लत मेरो ।।
अब नगर संगत मेरो ।।

कसैले मुलाई मारी देऊ
कोही त गर मद्दत मेरो ।।

रोइरहने भाग्यको लेखा
हाँस्ने र खेल्ने आदत मेरो ।।

बिद्रोह गर्दैछ भित्र भित्र
नसा नसामा रगत मेरो ।।

लाचारी देखेको दुनियाँलिे
देखेकै छैन हिम्मत मेरो ।।

दुश्मनको त भलो चाहन्छु
तिमी त हौ मोहव्वत मेरो ।।

होस् करोड सहि ना सहि
लाख सहि छ गलत मेरो ।।

अझैसम्म म अन्जान छु
यहि नै हो हकिकत मेरो ।।

प्रतिक्रिया

सम्बन्धित खवर