✍️ सरस पाण्डे
रेणुका जिसीको कथा लेखनको यात्रा सुरु भएको धेरै समय भएको छैन । छोटो समयमै उत्कृष्ट कथा लेख्न सक्षम जिसीले बाह्रखरी कथालेखन प्रतियोगिता–२०७८ मा तृतीय स्थान हासिल गरेकी छन् । सो प्रतियोगितामा पुरस्कृत भएको ‘मुडुली’ नारीवादी कथा हो ।
यो कथा बाह्रखरी उत्कृष्ट कथा २०७८ मा सङ्गृहीत छ । सामाजिक यथार्थलाई जस्ताको तस्तैउतार्न सक्ने चेत भएकी जिसीले ‘मुडुली’ कथामा नेपालीे पितृसत्तात्मक समाजले नारी अस्मिताको अवमूल्यन गर्ने, नारीलाई दोस्रो दर्जामा राखेर शोषण गर्ने, समाजमा विद्यमान अन्धविश्वासको कारण नारीले नै भोग्नुपर्ने समस्या विरुद्ध नारीको विद्रोही स्वरलाई सशक्त ढङ्गले प्रस्तुत गरेकी छन् ।
मुडुली पात्रको केन्द्रीयतामा रचिएको कथा नेपाली समाजको अन्धविश्वासबाट सुरु गरिएको छ । मुडुली एक जातीय र वर्गीय हिसाबले सीमान्तकृत पात्र हो । दलित भएको कारण उसले छोरीको विवाहमा पण्डित पाएकी छैन।
सोही कारण छोरोले उच्च वर्गसँग प्रेग गर्दा मृत्यु वरण गर्नु परेको छ । पितृसत्ता, समाजले दिएको जातीय ट्याग, रूढिवादी आरोपको कारण राधिकाबाट मुडुली बनेकी ‘मुडुली’ कथामा संविधानमा जातीय विभेद हटेको कुरा लेखिए पनि यथार्थमा अझै सीमान्तीय वर्गलाई ती विभेदपूर्ण व्यवहारहरू गरिँदै आएका छन् भन्ने लेखकीय दृष्टिकोण पाइन्छ ।
पुरुषले गरेको कुकृत्य सहजै स्वीकार गर्ने नेपाली समाजमा पुरुषलाई मर्दको रूपमा हेरिन्छ । महिलाले त्यस्ता पुरुष प्रवृत्तिको विरोध गर्दा समाजले साथ दिनुको सट्टा झनै उपेक्षा गर्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ । ती उपेक्षाबाट प्रताडित मुडुलीले आफ्नो अस्तित्व रक्षाको लागि आफै लड्नुपरेको संघर्ष र त्यो संघर्षले निम्त्याएको अनेक परिस्थितिहरूलाई कथामा सघन ढङ्गले अभिव्यक्त गरिएको छ ।
समाजमा महिलाद्वारा महिला नै उपेक्षित बन्न पुगेका छन् । कथामा घर्तीनीले यसरी भनेकी छिन्–
“यत्तिकै हुँदा खाँदाको त्यति राम्रा बालखा पक्कै बितेनन्, यो त्यै मुडुलीको काम हो ।” ऋषिरामलाई उसको कुकृत्यको सजाय नदिएसम्म आफूले कपाल मुडुलो पार्ने कसम खाएर मुडुली बनेकी उसले बोक्सीको उपनामपाउँछे । समाजमा घट्ने सम्पूर्ण घटनाको दोषि पनि ऊ नै बन्छे ।
नारीलाई अधीनमा राखी रमाइलोको साधन ठान्ने पितृसत्तात्मक सङ्कीर्ण मानसिकताको प्रतिनिधित्व गरेको पात्र ऋषिरामलाई मुडुलीले हँसियाले छप्काएपछि आफ्नो दोष मेटाउन गाउँभरि मुडुलीलाई बोक्सीको आरोप लगाउँछ । गाउँलेले विश्वास गर्छन् । मुडुलीको कुरा सुन्ने कोही नभएपछि कान्छी पण्डितनीको नातिको मृत्यु उसकै कारण भएको हो भन्ने भ्रम सबैलाई पर्छ ।यो नै कथाको उत्कर्ष विन्दु हो ।
सामाजिक दायरालाई भत्काएर मुडुलीले गरेको विद्रोह नै कथाको प्रबल पक्ष रहेको छ । नेपाली समाजमा महिला र पुरुषको कार्य विभाजनले निम्त्याएको खाडल पुरेर महिला र पुरुषको समविकासको लागि मुडुलीको कार्य कथामा यसरी प्रस्तुत गरिएको छ – “गाउँलेले एक्लो बनाएपछि आफू मजबुत बन्न समाजले जेजे कुरामा निषेध ग-यो, उनले ती सबै गरिन् । खेताला खोज्दा खेताला पाइनन् । आफै खेताला बनिन् । हली खोज्दा हली पाइनन् । आफै हली बनिन् । महिलाले खेत जोत्न हुन्न भन्थे जोतिन् ।
उनले समाज र समय दुवैको विपरीत बगेर आफ्नो जीवनको उज्यालो जोगाइरहिन् ।” रेणुका जिसीले यस कथामा नारीवादी र अस्तित्ववादी लेखक सिमोन द वुभाको महिलाप्रतिको धारणा–“महिला र पुरुषबिचको जैविक भिन्नताका आधारमा महिलालाई दमन गर्नु एकदमै अन्यायपूर्ण र अनैतिक कार्य हो ।”लाई आत्मसात् गरेकी छन् । नारीभित्रको सहनशील क्षमता भत्किएपछि विद्रोह जन्मन्छ । त्यो विद्रोहले समाजका परम्परागत रूढिवादी मान्यतालाई भत्काउँछ । ती मान्यता भत्काएर आफ्नो पहिचानलाई परिवर्तन गरेकी महिला पात्र मुडुलीको माध्यमबाट पुरुष प्रधान समाजलाई चुनौती दि“दै पुरुष झै“ नारीले समान कार्य गर्न सक्छन् भन्ने धारणा कथामा प्रस्तुत गरिएको छ ।
यसरी ‘मुडुली’ कथामा कथाकार रेणुका जिसीले समाजको वास्तविक यथार्थलाई चित्रण गरेकी छन् । कथामा नेपाली समाज र समाजको विद्यमान मान्यताले गर्दा असाधारण कार्य गर्ने महिला सधै एक्लो हुनुपर्ने अवस्था र महिलाले स्वअस्तित्वको लागि आफै संघर्ष गर्नुपर्ने यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।नारीले नै विद्रोह नगरेसम्म समाजमा महिला र पुरुषको समविकास नहुने र पुरुषको हिंसात्मक प्रवृत्तिको खुलेर विद्रोह नगरेसम्म महिलाले आफ्नो अस्तित्व जोगाउन नसक्ने धारणासमेत यस ‘मुडुली’ कथामा पाइन्छ । कथाका घटनाक्रम सहज र सरल तरिकाले अगाडि बढेका छन् ।
हरेक वाक्यको पठनसँगै पाठकको मनमा अब के होला भन्ने कुतूहलता सिर्जना हुन्छ । समाजको यथार्थ विषयवस्तुलाई फरक ढङ्गले प्रस्तुत गरिएको कथाको अन्त्यमा रूढिवादी मान्यताको सत्ता नढल्नुले सो मान्यता समाजमा रहिरहने विचार लेखकको हो की भन्ने भान हुन्छ । तथापि कथाकारको लेखनशैली स्तुत्य छ ।
कथा पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया
-
४
