✍️ प्रीति अर्याल
यात्रा रहेछ जीवन
समयको सडकमा दौडिरहने
पुग्नु अगावै जीवनमरणको
सकिँदै – सकिँदै जाँदोरहेछ लम्बेतान स्वप्नहरू
सडकका यात्रामा भेटिँदारहेछन् मायालु मनहरु
छुटिँदारहेछन् नपुग्दै सडक किनारमा
निकै कठिन हुँदोरहेछ
आफ्नै छातीमा अभावले खङ्ग्रङ सुकेका रहर दफन गरेर
कठोर जीवनको कठघरामा हरपल मुस्कुराउन…
बडो कठिन छ निराशाको डोरीले
आफ्नै सपना जन्जिरमा बाँधेर
यात्राको अन्त भेट्न
र,
समयले निर्धारण गरेको समयभित्र
जिन्दगीको कुवा भत्काएर
पीडाको नदी तर्न
बेठेगान हुँदै उग्र आवेगमा
भग्नावशेष बनाउँदै मुटुका भित्ताहरू
बग्नु परेकोछ
चुहिएर सकिनु पूर्व जीवन
भोकले मुर्छित कलिलो भविश्य
थाप्लोमा बन्धक राख्दै
अस्तित्व उनेर काँडाहरूमा
चर्किएका भित्तामा हरियो रङ पोत्न
वैदेशिक मरुभूमिमा कयौं अदेख्य
जीवन रोइरहेछन्
निशब्द…जीवन
तन्नेरी आयु अन्त गर्दै
अँध्यारो रातसँगै बूढ्यौली पर्खिरहे
विवशताले जतिसुकै कमजोर
बनाइदिए पनि जिन्दगीको यात्रा
दुखको छडि टेक्दै समयको मरुभूमिमा
ईन्द्रेणीको बुरुसले रङ पोतिरहनु पर्दोरहेछ
मुस्कुराउनु पर्दोरहेछ
पीडाको मिठो धुनसँगै
हाँस्नु पर्नेरहेछ सुनसान समयको सडकमा
पीडाको उत्सव मनाउँदै दौडिरहनु पर्दोरहेछ यात्रामा
यतिसम्म हुँदा पनि….
समयको सडकमा दौडिरहने
यात्रा रहेछ जीवन
उफ्फ,
जतिपटक भाँच्चिए नि
सङ्घर्षको भाग्य रेखा
जीवनको यात्रामा दौडिरहनु पर्दोरहेछ ।
प्रतिक्रिया
-
४
