✍️ सुषमा तिमल्सिना

पहिलो पटक नजर जुध्दाँ म नुहाएर झ्याल छेऊ परेको घामको किरण सँग आफ्नो कपाल खेलाइरहेकी थिएँ । त्यत्तिकैमा आँखाहरु फुत्त बाहिर लम्किए र टक्क रोकिए ऊ भए ठाउँ पुगेर । अनुहारमा कुनै आकर्षण थिएन ।

एकोहोरो मै तिर नजर फालिरहेको उसको भित्री मनमा खै के चलिरहेको थियो कुन्नी । मैले भने हतार हतार झ्याल बन्द गरिदिएछु । अब म उसलाई देख्थें । उसले मलाई देख्दैनथ्यो । हेरें । ऊ एउटा मोबाइल पसलमा थियो । लाग्दै थियो त्यो पसल उसकै हो । गर्मी महिना भएपनि मैलिएको जस्तो कालो ज्याकेट र पुरानो पाइन्ट लगाएर बसेको ऊ ।

शारीरिक बनावटमा पनि लोभ्भिनु पर्ने खासै केही थिएन । मैले यति धेरै कुराहरु सोच्दै नियालिरहँदा ऊ अझै मेरै झ्याल तिर मुन्टो फर्काएर बसिरहेको थियो । दुई दिन मात्र भयो । यो घरमा कोठा सरेर आएकी । कोही चिनजान भएका वरिपरी नहुदाँ अचानक उसले यसरी हेर्नु कता कता रमाइलो लागिरहेको थियो ।

त्यसपछि म आफ्नै काममा व्यस्त भएँ । दिनभर अफिसमा पनि उसको हेराई आँखै अघि झलझली आइरहेको थियो । अफिस छुट्ने समयको पर्खाइ सकिएपछि हतार हतार कोठा आएँ र पुगें ऊही झ्याल छेऊ । भित्रै बाट हेरें । देखिहालें । लाग्यो, ऊ मलाई नै पर्खिरहेको छ ।

दिनभर बन्द झ्याललाई हेरेर कसरी दिन कटायो होला ? सोचें झ्याल खोलिदिन्छु तर मलाई अझै उसलाई पर्खाउन मन लागिरहेको थियो । उसको गतिविधि नियाल्न मन लागिरहेको थियो । ग्राहक झुम्मिएका उसका पसलमा ऊ हरेक मिनेट मिनेटमा मेरो झ्याल तर्फ हेर्थ्यो । मानौं उसलाई म बाहेक कसैको वास्ता छैन ।

के उसले यो झ्यालमा मेरो आकृति बनाएको छ ? ऊ किन मलाई हेर्ने आतुरतामा छ ? मलाई ऊ भए ठाउँ गएर सोध्न मन लागिरहेको थियो । अब म उसको पर्खाइलाई लम्ब्याउन चाहान्न थिएँ । झ्याल बिस्तारै खोलिदिएँ ।

सिधैँ उसलाई नहेरि यताउता हेरें । अनि उसलाई हेरें । ऊ पनि मलाई नै हेरिबसेको थियो । उसको पसल मेरो कोठाको ठ्याक्कै अघि छ । अब यो क्रम दिनानुदिन बढ्न थाल्यो । म बाहिर निस्कथें । ऊ हेरिबसेको हुन्थ्यो । कता जान्छु, के गर्छु त्यो थाहा नभए पनि लाग्थ्यो उसले मेरो एक एक समयको हिसाब गरिबसेको छ ।

अब मलाई उसको बानी पर्न थालिसकेको थियो । बिहान उठ्नासाथ झ्याल छेऊ गएर उसलाई हेर्थे । बेलुका पनि अफिसबाट आउनासाथ उसैलाई हेर्थे । शनिबार पनि दिनभर झ्याल छेऊ बसेर उसैलाई हेर्थे । उसको पसल बिहान छ बजेदेखि बेलुकी नौ बजेसम्म खुल्ला हुन्थ्यो । ऊ पसल हुन्जेल र म कोठामा भइउन्जेल पनि बस् उसैलाई हेरिबस्थे ।

के यो प्रेम हो ? के प्रेम यस्तै हुन्छ कि कस्तो हुन्छ ? प्रेम के हो ? उसले मलाई हेर्नु, मैले उसलाई हेर्नु के हेराईमा पनि प्रेम हुन्छ ? मनमनै प्रश्न गर्थें । यतिन्जेल सम्म मैले के बुझिसकेकी थिएँ भने बाहिरी सुन्दरता मात्र पे्रम होइन । प्रेम असुन्दर आवरण भित्र सुन्दर हुन सक्छ ।

सधैं झैं त्यो दिन पनि म झ्याल छेऊ पुगें । हातमा चियाको कप बोकेर । देखें । उसको पसल बन्द थियो । उसलाई हेर्न सजिलो होस् भनि झ्याल छेउमा एउटा कुर्सी राखेकी थिएँ । घडी हेरें सात बज्नै लागिसकेको थियो । अहिले सम्म त आइपुग्नु पर्ने भन्दै हेरिरहें । तर ऊ आएन । चिया सकियो । खिन्न मन बोक्दै उठेर झ्याल बन्द गर्न खोज्दै थिएँ । ऊ टुलुक्क आइपुग्यो । लागेको थियो पसल आउनासाथ मलाई हेर्ला ।

अनि सटर खोल्ला । तर, आखाँ हतार हतार सटर खोल्नै व्यस्त देखेर मलाई रीस उठ्दै थियो । त्यतिनै बेला उसले पुलुक्क मलाई हेर्यो मेरो रीस खै कता पुग्यो । म मुसुक्क मुस्कुराएछु । ऊ पनि मुस्कुरायो । आँखाले धेरै पटक संवाद गरेका हामी बीच अब मुस्कानबाट पनि संवाद हुन थाल्यो । आज ऊ फरक देखिएको थियो । उसले मलाई हेर्ने नजर फरक लागिरहेको थियो । हिजो अस्ति सम्म मलाई हेरेर नथाक्ने ऊ आज एक्काशी परिवर्तन भएको थियो ।

मोबाइलमा एकोहोरो झुण्डिरहेको थियो । खै को सँग कुरा गर्दै थियो कुन्नी उसलाई मलाई हेर्ने फुर्सद थिएन । बडो वेवास्ता पूर्वक कतिबेला कतिबेला मात्र मुन्टो फर्काउथ्यो । मैले झ्याल बन्द गरिदिएँ ।

खै किन बन्द गरे थाहा छैन । तर म उसलाई भित्रै बाट नहेरी बस्न नसक्ने भइसकेकी थिएँ । हेरिरहें । झ्याल बन्द गरेको चाल पाएर हो की त्यसपछि उसले एकफेर पनि हेरेन । कतिपय अवस्थामा पे्रमले क्षणिक खुशीमात्र दिने रहेछ जसको सट्टामा हामी जिन्दगीभर पिरल्लीरहन्छौं ।

भोली पल्ट उठें । चिया बनाएँ । झ्याल तिर हेरें । नजाऊ भन्यो एकमनले । गइहाल भन्यो अर्को मनले । गएँ । हेरें । आज पनि पसल बन्द थियो । सात बज्यो । आठ बज्यो । अफिस हिड्ने बेला दश बज्यो । यतिन्जेल सम्म पनि ऊ आएको थिएन । दिनभर काममा मन गएन ।

म थाकेकी थिएँ उसलाई सम्झेर । डराएकी थिएँ उसलाई केही भयो कि भनेर । काम सकाएर कोठामा आएँ ऊ आएकै थिएन । उसको सटर बन्द थियो बिहान झैं । आज ऊ आउँदैन भोली त कसो नआउँला भेट्न जान्छु । के भएको थियो सोध्छु भन्दै मनलाई खुशी बनाएर आफ्नो काम तर्फ लाग्न खोजें के सक्थें सकिनँ कसैगरी पनि । त्यो दिन रातैभर निदाउन न दिनभर काम गर्न । भोलीपल्ट पनि ऊ आएन । मलाई छटपटी हुन थाल्यो । देखौंदेखौं भइरह्यो ।

आफ्नै मनलाई धिक्कारे यतिन्जेल मैले उसलाई किन भेटिनँ ? उसको नाम किन सोधिनँ ? आज उसको नम्बर मात्र भइदिएको भए म उसको हालचाल सोध्ने थिएँ । किन आएनौं भन्ने थिएँ । म कुरिबसेकी छु भनि सुनाउने थिएँ ।

फेरि सोचें । मैले सोचे जस्तै उसले सोच्यो कि सोचेन होला ? यदि उसले मलाई प्रेम गर्दैन्थ्यो भने किन त्यसरी हेरिबस्थ्यो ? फेरि प्रेम गथ्र्यो भने किन सम्बन्ध अघि बढाउन खोजेन । के ऊ मलाई भेट्नको निम्ति कुरा गर्नको निम्ति आग्रह सक्दैनथ्यो थ्यो ।

यसरी दुईदिन बिते, ऊ आएन तेश्रो दिन पनि । धैर्यताले सीमा नाघेपछि म उसको पसल छेऊ गएँ । बन्द सटर छेऊ गएर एकैछिन उभ्भिएँ । नजीकैको अर्को पसलको दिदीले सोध्नुभयो–“केही चाहिएको हो नानी ।” मैले होइन भनि मुन्टो हल्लाउँदै उल्टै सोधें– “दिदी यो पसल त बन्द छ दुईदिन देखि । मान्छे कता गएछन्” उनले भनिन् “ए ए यी पसलका भाई । तिनको त आज बिहे छ । हामीलाई पनि निम्तो गरेका थिएँ । दाई जानुभएको छ ।” उनले यति भन्दै गर्दा म छाँगाबाट खसे जस्तै भएकी थिएँ । त्यसपछि मेरो कोठाको झ्याल उसको निम्ति सदाको लागि बन्द भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर