✍️ सुरेन्द्र कार्की

भाइ !
यसपाली पनि भुलिछस् तैंले
मलाइ नसुहाउने तीज
भुल्छस होला उस्तै करिडोरको दशैं तिहार
बूढो आँगन

बा–आमाको बैशाखी उमेर
अनि भुल्छस् होला
रातोमाटो र चिप्लो बाटो
देउसी भैलो खेलेका मादल र बासुरी
तात्–तातो सेल र गुलियो चिया
अनि दिदीको यो डुँढे हात र सिंगै तिहार ।

भाइ ! म त तँलाई सम्झी रहन्छु
घाम डुबेपनि
जून डुबेपनि
सोलिफिस्टोले धँगेरोको रस चुस्दा पनि सन्झिन्छु तँलाई

चौतारीमा दाउराको भारि बिसाएर घण्टौ सम्म
त्यही अढेस लागेको ढुंगो सुम्सुम्याएर बस्छु म
त्यही चौतारो भएर गुज्रिदा ।

भाइ !
तँलाई कहाँ कहाँ सम्झिन्न म ?
मोहनेगरो साउँदा दाँदेमा खुट्टा अड्किएको पनि सम्झिन्छु
गोठालोमा धुसुरे वर, खन्यु पानीअमला खाँदै जलुको टिपेको पनि सम्झिन्छु
प्रत्यक पल्ट आकाश गर्जिदा
यो छातिमा मुन्टो लुकाएको सम्झिन्छु
सम्झिन्छु भाइ सम्झिन्छु
चिउरी फल्दा चिउरिका बोटभरी
बयर पाक्दा बयरका झ्याङभरी
झरी पर्दा ओतिने
भोर्लाको झ्याङ्मुनी ओढार पनि गएर हेर्छु
गर्मी हुँदा तिल्किनिको दुवामा डाइब हानेर पानीखादै निस्केको पनि सम्झिन्छु ।

तँ कहिले देखि परिवर्तन भइस त्यो पनि सम्झिन्छु म
दिनभरी गैरिखेत जोतेर साँझ घर आउँदा
सेनाला लच्छार पच्छार पारे तँलाइ
भोलि पल्ट आँचिला हान्दा–हान्दै बिद्रोहिले आँखाछोपेर
चार दिन गायब पारे तँलाइ
सेनाले आतंककारी बनाए
बिद्रोहिले जासुसी बनाए
तँ त्यही देखि लाटिन थालिस्
आमाले छोरो बचाउन
नौगेडी, मुन्द्री, बुलाकी सबै मासिन
तँ गाउँ नछोडेको मान्छे एकैबाजी परदेश पुगिस्
त्यही साल देखि हो यो झुलेगोरु अरुले हालेको कुँडो खादैन
नयाँ मान्छे हिँडेपछी कान ठाडा पार्छ र
बाटामा नजर ओछ्याउँछ ।

सुनेको हुँ
तँ रोबर्ट सँगसँगै खट्छस अरे
रोबर्ट सँगसँगै उठ्छस अरे
रोबर्ट सँगसँगै हिँड्छस अरे…
यता भुलेको देख्दा त सम्झें
कतै रोबर्ट सँगैपो मन साटासाट गरिसकी भनेर
तर यसपाली महङ्गो स्मार्टफोन पठाइछस्
लाग्यो बिर्सेको रैनछस
र यो भाइको चिनो भनेर
तँ बस्ने खोसेलाको पिरासँगै संगालेर राखेको छु यो फोन ।

यसपाली तल्ला घरे ठुल्दाजु
आफ्नै बिजोडी हात बोकेर आउनुभयो
देखेर त्यही चौतारिमा गइ धेरै बेर रोएँ म
सुनाउनु भयो
पल्लागाउँका कृष्ण मास्टरपनि अपांग हुनुभो रे
टाढा अर्कै जिल्लाको भाइ भट्टी पड्केर
सातमहिना अस्पताल बसेरे
अर्कै अर्कै देशको मान्छेत
मेसिनले पेलेर कुखुराको सुलिजस्तै बनायो अरे
मेरो ज्यान आधा भो भाइ आधा भो
म बेहोस जस्तै बने
आमालाई यी कुरा सुनाउन सकिन मैले ।

दाजुलाई सोधिस् अरे तैँले
गाउँको बारेमा
हो भाइ गाउँ गाउँ जस्तो छैन
गाउँ गाउँ जस्तो हुन गाउँमा तिमिहरु छैनौ ।

अरु बेला त त्यस्तै हो भाइ त्यस्तै हो
बुढा बा– आमा खुइया खुइया गरेर सुस्केरा हाल्दा
चुल्होमा मिठोमसिनो पाक्दा
र यी आइरहने चाडबाडले बढी बिथोल्छन मलाइ
त्यहाँ तलाई पनि त त्यस्तै हुदो हो ?

प्रतिक्रिया

सम्बन्धित खवर