✍️ युग सर्वनाम
त्यस्तो गहिरो अनशन हो मृत्य
जो, संसारको भीषण आँधीबेहरिले पनि
तोड्न सक्दैन, उसको परिधी !
भावविह्वल भएर जप्नुस् उसको अगाडि
कारुणिक मन्त्र
राखिदिनुस आफ्नै मुटु झिकेर उसको छातीमा
खन्याईदिनुस जति छन् उसलाई खुशी पार्ने शब्दहरू
उपहार स्वरुप चढाईदिनुस संसारकै बहुमुल्य सामान
फलाकी दिनुस लोपलालचका अनगिन्ती तर्कहरू
तर अँहँ !
तोड्न सक्दैन उसले आफ्नो अनशन !
कात्रोमा बेर्दै गर्दा तर्साउईदिनुस्
भूत र किचकन्याको वस्त्रमा उत्रिएर
चितामा राख्दै गर्दा देखाई दिनुस्
आगो भन्दा भयानक चिज
चिहानमा गाड्नु पूर्व राखिदिनुस्
भुईँचालो भन्दा खतरनाक कम्पनको आहालमा
अथवा, दागबत्ती दिदै गर्दा भनिदिनुस्
“म जीवन भर तिम्रो दासत्वको पाईताला मुनि
आफ्नो अस्तित्व मेट्न तयार छु
तर, अँहँ !
तोड्न सक्दैन उसले आफ्नो अनशन !
जब मृत्युु आफ्नो सत्याग्रहको
परिधिमा रहेर बैकुण्ठकोर् सवारमा जान्छ
धुमिलिदै जान्छ हाम्रो आँखाबाट उसको चेहरा
भत्किँदै जान्छ उसँगको यादको सतह
पातलिदै जान्छ हाम्रो आत्मीयताको सघन छाँया
उसैगरी कोरल्लिन आउँछ काल सबैको आत्मामा
एउटा साङ्केतिक भ्रुण बनेर
र बिस्फोटन भएर जन्मिन्छ मृत्यु
जब जन्मन्छ मृत्युु
सदाको लागि मर्छ एउटा भौतिक शरीर ।
प्रतिक्रिया
-
४
