✍️ जीवन खत्री

“नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर…”

ठीक यतिबेला कानमा यही गीत बजिरहेछ । ७ पटक दहोर्याइसकेँ । धित मर्दैन । फेरि दोहोर्याउँछु । सुन्छु । काँडा बुरुरु उम्रिन्छ । रसिला हुन्छन् आँखा । आज पोखिन्छु होला । टिस्यू पेपरको याद आउँछ । हेर्छु, छेउमा छैन ।

३ दिन दिन देखि लगाएको टिसर्ट र पाइन्ट । कम्पनीले दिएको एक जोडी पुरानो हुन लागेको जुत्ता । काट्न नभ्याएको झुस्स दारी । अलअलि फुल्न थालेको कपाल । सायद मेरो अनुहार दया लाग्दो हुँदो हो । ऐना छैन छेउमा । सत्य भन्छु, म एउटा तल्लो तहको लेबर हूँ । लेबरको अवस्था यस्तै त हो नि !

टिसर्टको भित्रबाट एअरफोनको तार घुसाएर पाइन्टको खल्तीमा राखेको मोबाइलमा जोडेको छु । मेशिनमा काम गर्दै सुनिरहेछु दसैँको गीत । क्या मार्मिक आवाजमा गाए कृष्णभक्त राईले । के सोचेर लेखे होलान लक्ष्मण रायमाझीले र कसरी सङ्गीत गरे होलान् नारायण रायमाझीले । अचेल उनी अमेरिकातिर छन् भन्ने सुनेको । के उता पनि गीत संगीतलाई यसैगरि निरन्तरता दिएका होलान् ? कि पैसाको भङ्गालोले मोड्यो उनी बग्ने सङ्गीतको नदी ? आशा गरौँ न उनी गीतकै बाँचिरहेका होलान् ।

सेतो एअरफोनको तार मैलो भैसक्यो । मैलो त टिसर्ट पनि भैसक्यो । ३ दिन देखि लगाइरहेको छु । मास्क नलगाएको भए पसिनाको बास्ना (गन्ध) नाकसम्म पुग्थ्यो होला । धन्न मास्क लगाएको छु ।

दसैँको मौसम छ । घरदेशमा भए कत्रो उमङ्ग हुने थियो । धानका बालाहरूलाई छोएर आउने कोमल हावाको बास्ना र त्यसको महक कल्पिन्छु । कमेरो र रातोमाटोले घर पोतेको सम्झिन्छु । घरमा थाम, दलन ढोका र झ्यालमा लगाउने गरेको रङ सम्झिन्छु । मलाई त आकाशे निलो रङ मन पर्छ । यसपाला पनि घरमा त्यस्तै रङ दले होलान त ? म यता मेशिनको आडैमा बसेर आफ्नो पसिनाको रङ आफ्नै शरीरमा पोत्दैछु ।

कविहरू पसिनाको रङ नीलो हुन्छ भन्छन । साँच्चै निलो हुन्छ त ? मलाई थाहा छैन् । बस्, स्वाद थाहा छ । नुनिलो । समुन्द्रको पानीजस्तै नुनिलो । आँखाको आँसुजस्तै नुनिलो । गाउँमा हुँदा, सानो छँदा जब जब दसैँ आउँथ्यो, दसैँ के आउँथ्यो ? मेरो मन र शरीरमा अर्कै रौनक आउँथ्यो । दुई घण्टाको बाटो हिँडेर तप्तप् पानी चुहाउँदै हिलो कमेरो माटो बोक्थेँ । चार घण्टाको बाटो हिँडेर रातोमाटो बोक्थेँ । पर्खाल लिप्न भनेर नागीबाट भारीका भारी माटो ओसार्थेँ र घर चिटिक्क पार्थेँ । त्यो जोश, त्यो उमङ्ग र उत्साह आज पनि हुनेथियो होला यदि म घरमै हुन्थेँ भने । तर सात समुन्द्रपारि छु आज ।

सम्झनाका लहरहरू हरर उडेर आउँछन् मेरो आँखासम्म । म फेरि भत्किन्छु ।

यता त घरदेशकोजस्तो जोश छैन । मौसम छ । मन छ । शरीर पनि छ र छ दसैँ पनि । भूगोलले केही फरक पर्दैन, मननै सबथक हो भन्छन् भन्नेहरू । के भनेका हुन् ? म अचेल झन् दोधारमा पर्छु । भूगोलकै कारण म यता रुझिरहेछु आँसुको पानीमा । भिजीरहेछु यादका झरीहरूमा । मान्छेलाई कतिसम्म फरक पार्दो रैछ भूगोलले । म महसुस गर्दैछु यतिबेला । “डङ डङ डङ डङ” यो मेशिनको आवाज हो । खोलेदेखि बन्द नभएसम्म कराइरहन्छ । तर मलाई होस् छैन, मन गाउँमा छ । सुन्ने कानले हो कि मनले ? कान त यतै छ त ।

म सम्झिन्छु, र पुग्छु बाल्यकालको समयमा । आहा ! त्यो बेला । त्यो बेलाको दसैँ । त्यो उज्यालो त्यो उत्साह र उमङ्ग । सदाझैँ घटस्थापनाको दिन पनि आमा सबेरै उठ्नुहुन्थ्यो । हामीलाई पनि उठाएर नुहाउन भन्नुहुन्थ्यो । म टार्थेँ । आमा गाली गर्नुहुन्थ्यो, “ननुहाए त, नौदुर्गाले कसरी पढ्न जान्नी बनाम्लिन ए ? न्वा छिटो ।”

मैले नुहाउनै पथ्र्यो । एकछिनको नासनुुस् पछि म अबेर गरेर नुहाउँथे । घरधन्दा भ्याएपछि लिपपोत गरेर चिटिक्क पारिएको पूजाकोठामा माटो, गाईको गोबर र बालुवामा पुजा गरेर गहुँ मकै धान केके मिलाएर जमरा राख्नुहुन्थ्यो आमा । अनि सुरु हुन्थ्यो घरमा दसैँ । हरेक बिहान दिदीको र मेरो झगडा पथ्र्यो । निहुँ हुन्थ्यो जमरामा पानी हाल्ने को ? म सानो थिएँ । रोएरै पनि मै जित्थेँ । मै हाल्न पाउँथे पानी । “एल्ले खाइसक्यो, म चोखै छु म हाल्छु पानी ।” दिदी फन्किन्थिन् । हुन पनि हो म जुरुक्क उठेर भान्छामा छिर्थेँ र केके छ खोजखाज गरेर क्वाप्प पारीहाल्थेँ ।

“हैन के हैन । केही पनि खाकै छैन ।” म झुट बोलेरै जित्थेँ । झुट बोलेको सबैले थाहा पाउँथे तर रोएपछि सबले हार्थे । दि गोडा बजार्थिन् । एउटा डर लाग्थ्यो मनमा “झुट बोल्यो भनेर नौदुर्गाले फेल पो गराइदिन्छिन् कि ?” तर कति जाती थिइन् नौदुर्गा भवानी । म फेल हुनु पर्थेन ।

स्कुल बिदा हुन्थ्यो । लेकाली र घोर्मालीमा लगेर भाले र परेवा पुजा गर्यो । दिनकै मासुभात खायो । लिङ्गे पिङ हालेको हेर्यो । झुत्तियो पिङमा दिनभर । रेडियोमा सुन्यो मंगल धुन र मालश्री । गाउँका दाइहरू टिम टिम मिलाएर खेल्थे भलिबल । हाहाहुहु गर्यो हुटिङ । अर्को खुसी, सित्खा बजारबाट नयाँ लुगा जुत्ता किन्यो । लुगा सिलाउन तल काले काकाकोमा लग्यो । छेकायो । दसैँमै लाउन मिल्नेगरी सिलाएर भ्याउने हुन कि हैनन् पीर गर्यो । दिनभरि यता दगुर्यो, उता दगुर्यो । आहा…!

फूलपातीको दिन सबेरै उठ्थेँ । लगलग काम्दै नुहाउँथेँ आफैँ । खाँडादेवीको मन्दिरमा मेला लाग्थ्यो नि त ! नयाँ लुगा आईसक्थ्यो । लगाउँथेँ । घरीघरी ऐना हेर्थेँ । तेल दलेझैँ पानी दलेर कपाल कोर्थेँ । ठाडो पारेर कपाल सट्ट मिलाएपछि म मन्दिर जान पाउथेँ । आमाले पाँच रुपैयाँ दिनुहुन्थ्यो । म बुरुक्क उफ्रिन्थेँ । भैमा खुट्टा हुन्थेनन । खाली पेट लाइन लागेर देवीको दर्शन गर्थेँ । मनमनै भन्थेँ “हे खाँडादेवी माई, म जसरी पनि फस्ट हुन पाउँ । ठूलो भएर जागिर खाएसी ५० रुप्पेँ चडाउँचु ।” अचेल सम्झिन्छु त्यो कुरा । खिस्स हाँस्छु । आज कति ठाउँमा जागिर खाएर कति टाढा टाढा सम्म पुगेको छु । आजसम्म त्यो ५० रुपैँया चडाएको छैन । खाँडादेवी जाती छिन । अझै माग्दिनन् । आमाजस्तै जाती ।

नवमीको दिनमा खसी काट्ने । दही चिउरा केरा । केरामा पनि चिनी । साँझबाट मासु भात । भुटेको रक्ती र कलेजो । मज्जाले पाकेको पक्कु, कवाफ । आहा…!

टीकाको दिन घरमा अर्कै रौनक हुन्थ्यो । बुबा जेठो भएकाले टिकाको कार्यक्रम हाम्रै घरमा हुन्थ्यो । दियो, कलश, गणेशको पुजा थापना गरेपछि दशमीजस्तो लाग्थ्यो । हजुरबुबाको पालाको तरबार झिकेर त्यसमा नौ टिका र जमारा चढाएपछि बुबा के के मन्त्र जप्दै मूल ढोका र मूल थाममा पनि टीका लगाउनु हुन्थ्यो । अनि हाम्रो पालो आउँथ्यो । जेठोबाट सुरु हुने परम्परा अनुसार काका काकीपछि छोराहरूको पालोमा बल्ल म पर्थेँ । म सरक्क सरेर बुबाआमाको अगाडि बस्थेँ । अगाडि बसेपछि बुबा भन्नुहुन्थ्यो “खै त टोपी काले ?” हो त म बुबाको काले त थिएँ । प्यारो काले ।

“टोपी नलगाई आशिक थापे त अडिन्न है ।” बुबा थप्नु हुन्थ्यो । म केही भन्थिन् । बुबा आफ्नै टोपी खोलेर मलाई लगाइ दिनुहुन्थ्यो र टिका लगाउँदै भट्याउन थाल्नुहुन्थ्यो आशिष “आयू द्रोण सुते दशरथे…”

अहो यो सम्झिँदै बसेको ८ वर्ष भएछ । निधार खाली खाली भएको ८ पटक । आकाशजस्तै फराकिलो आशिर्वाद नथापेको पनि उत्तिनै भयो । आँखा डम्म डम्म भएर सम्झनाले भरिन थालेको पनि उत्तिनै भयो । परदेशमा पनि दसैँ त आउँछ तर अर्कै अर्कै बनेर । बिहानैदेखि मेलोमा छु । काममा ध्यान छैन । घरकै मात्र आउँछ याद । यतिबेला त घरमा उठेर बडार बुडुर पारिसके होलान् । लिपपोत भैइसक्यो होला यतिबेला । यतिबेला त मासु पाक्दै होला । म मासु पोलेर खान्थेँ, यो साल कसले खायो होला ?

सम्झना त हो, हुरुरु आको आकै छ । सबैले खाना खाए होलान् । ममीले चुल्हो पोत्नुभो होला । बुबाले दुर्गा थाप्नुभो होला । कलश राख्ने अम्खोरा कसले माझ्यो होला ? दिदीको पनि त बिहे भैसक्यो । घरिघरि भित्ताको घडी हेर्छु । बिहानै अनलाइन रेडियो सुनेथेँ । जहिल्यै साइतमै टिका लगाउने काम हुन्थ्यो घरमा । यताको र उताको समय घटाएर हेर्छु । साइतको टिका लगाउने बेला भयो । ममी र काकाहरूले टिका लगाउनुभयो होला । सबैजना आए होलान् । यो साल बुबाले टोपी झिक्नु परेन । आँखा रसाएर आउँछन् । टुसक्क बस्छु ।

“के भो ?” मेरो क्याप्टेन कोरियन भाषामै थर्काउन आइपुग्छ । भन्छ “किन बसेको ?”म आँसु पुछ्छु र फेरि काममै घोटिन्छु । ऊ फर्किन्छ । उसलाई थाहा छैन मेरो मनमा के बितिरहेछ । उसलाई केवल काम थाहा छ र त्यो समयमै सक्नुपर्छ । ठीक हो सक्नुपर्छ । त्यसका लागि उसले मलाई पैसा तिरेको छ ।

नेपाली ५ जना छौँ । सबैको मुहार हेर्छु । उदास उदास । छेउको भाइलाई भन्छु “के तनाव छ र हौ, हाँस्नु पर्छ ।” अनि म पनि हास्छुँ । हाँस्छु के भन्नु हाँसेको अभिनय गर्छु । मन नहाँसे त मुहार पनि नहाँस्दो रहेछ । भाइ पनि अभिनय गर्छ । कस्तो नसुहाउँदो हाँसो ।

दिनभर मनमा कुरा खेल्छ, “के परदेशीलाई यस्तो दसैँ नआए हुन्न ? कस्तो दिक्दार कस्तो उकुसमुकुस । तेट । तर हुँदैन आउनै पर्छ परदेशसम्म दसैँलाई र सताउनै पर्छ परदेशीलाई । के छ र ? सताउनेलाई पनि कोही त चाहिन्छ । छन् नि परदेशीहरू लाखौँ लाख । दुबई, कतार, साउदी, मलेशियामा छन् । जापान कोरिया र अष्ट्रेलियामा छन् । छन् सबतिर छरिएर । दसैँमा कतिले नै छुट्टी पाउँछन् र ? उनीहरूलाई सताउनै भए पनि त आउनु पर्छ । नभए पनि कम्तिमा म छु । आइज बे । हरेक वर्ष आइज र सता मलाई ।”

“तर एकदिन तँ थाक्नेछ र खुसी लिएर पनि आउनेछस् । त्यो पल म बा आमाको काँखमा हुनेछु ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर