दक्षिण कोरिया — नेपाली भाषा–साहित्यको क्षेत्रमा क्रियाशील साहित्यकार एवं भाषाविद् डा. अशोक थापा तथा उपप्राध्यापक राजिन पनेरूसँग दक्षिण कोरियामा रहेका नेपाली साहित्यकारहरूको भेटघाट तथा साहित्यिक विमर्श सम्पन्न भएको छ।
अनेसास कोरिया च्याप्टरको आयोजनामा २०२६ अगस्ट १५ (शनिबार) दक्षिण कोरियाको सुवनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यको समकालीन अवस्था, प्रवासमा नेपाली साहित्य सिर्जनाको अभ्यास तथा डायस्पोरिक साहित्यका विविध पक्षमा विचार–विमर्श गरिएको थियो।
कार्यक्रममा विशेषगरी दक्षिण कोरियामा नेपाली साहित्यको अवस्था र नेपाली मूलधारको साहित्यमा डायस्पोरा साहित्यको भूमिका विषयमा व्यापक छलफल भएको थियो। प्रवासमा रहेर नेपाली भाषा र साहित्यको सिर्जना, संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने चुनौती, प्रवासी साहित्यले मूलधारको नेपाली साहित्यमा पुर्‍याइरहेको योगदान तथा नेपाल र प्रवासमा सिर्जना भइरहेको साहित्यबीचको सम्बन्धका विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।
नेपालबाट दक्षिण कोरिया भ्रमणमा आउनुभएका साहित्यकारद्वय डा. अशोक थापा र उपप्राध्यापक राजिन पनेरूसँगै दक्षिण कोरियामा रहेर नेपाली साहित्यमा सक्रिय साहित्यकारहरू आर. एन. अधिकारी, जीवन खत्री, ह्यारी बोण्ड, राधेश आचार्य, दीपक राज, सिद्धान्त कलमकार, सरोज भण्डारी सर्वहारा, मिलन बस्याल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो। भेटघाटले नेपाल र प्रवासमा रहेर साहित्य सिर्जना गरिरहेका साहित्यकारबीच अनुभव आदानप्रदान तथा साहित्यिक सम्बन्ध विस्तारका लागि महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

अनेसास कोरिया च्याप्टरका उपाध्यक्ष सरोज भण्डारीको संयोजनमा सम्पन्न कार्यक्रममा अतिथिका अलावा उपस्थितहरू जीवन खत्री आर एन अधिकारी, ह्यारी बोण्ड, मिलन शर्मा बस्याल, दीपकराज बञ्जाडे, सिद्धान्त गौतम ‘कलमकार’, राधेश आचार्य लगायतले साहित्यप्रति आफ्ना धारणा राख्दै रचना वाचन गरे

कार्यक्रममा सहभागी साहित्यकारहरूले प्रवासमा नेपाली साहित्यको गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। साथै, नेपालमा रहेका साहित्यिक संस्था तथा स्रष्टासँग सहकार्य बढाउँदै प्रवासी नेपाली साहित्यलाई नेपाली साहित्यको मूल प्रवाहसँग थप निकट बनाउने विषयमा पनि छलफल भएको थियो।
अनेसास कोरिया च्याप्टरले कार्यक्रममा उपस्थित भई साहित्यिक विमर्शलाई समृद्ध बनाउन योगदान पुर्‍याउनुहुने नेपालबाट आउनुभएका साहित्यकारद्वय, दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमीहरू र कार्यक्रम व्यवस्थापनमा सक्रिय संस्थाका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
प्रवासमा नेपाली भाषा–साहित्यको संरक्षण, सिर्जना र विस्तारका लागि यस्ता भेटघाट तथा विमर्शले साहित्यकारहरूबीच सहकार्य, संवाद र सिर्जनात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

(राजेश सुवेदी/जीवन खत्री)

प्रतिक्रिया

सम्बन्धित खवर