– रोबर्ट फ्रस्ट
पहेलपुर जङ्गलमा
हिँडिरहेको एउटा बाटो दुइटा भयो
दु:ख लाग्यो-
म एकैसाथ दुइटा बाटो हिँड्न सक्दिनथें
एउटै भएर म त्यहाँ निकैबेर उभिएँ
स्थिर राखेर आफ्ना खुट्टाहरूलाई,
मैले भ्याएसम्म पर-परसम्म हेरें,
एउटा बाटो
पर झाडीमा
हराएको थियो बाङ्गिएर।
अर्को बाटोलाई हेरें-
उत्तिकै राम्रो,
सायद त्यसले मेरो जानुलाई
अल्लि बढी नै तानिरहेको थियो
किनकि,
त्यो बाटोमा घाँसैघाँस पलाएको थियो
र अल्लि कम हिँडिएको जस्तो देखिन्थ्यो,
यद्यपि, दुबै बाटोहरू
पथिकहरूले
समानरूपले कुल्चेका जस्ता देखिन्थे।
र त्यो बिहान
दुबै बाटोहरूलाई
समानरुपले
पातहरूले ढाकेका थिए
कसैले पनि ती पातहरूलाई कुल्चिएर
मैलो पारेको थिएन
ओहो,
पहिलो चाहिँलाई मैले
अर्को दिनको लागि थाँती राखें
थाहा हुँदाहुँदै पनि कि
मलाई
एउटा बाटोले अर्को बाटोमा लगेर छोडिदिन्छ
मलाई शंकै थियो-
म फर्केर फेरि त्यहीँ पुगुँला भन्नेमा।
वर्षौंवर्षपछि
कुनै दिन
कुनै ठाउँ पुगेर
सुस्केरा हाल्दै
मैले भनिरहेको हुनेछु-
दुईटा बाटो छुट्टिएका थिए
जङ्गलमा
मैले अल्लि कम हिंडिएको बाटो रोजेको थिएँ
र त्यही छ्नौटले मेरो सबै कुरा फरक बनाईदियो।
***
(यो कविता मौनव्रतले अनुवाद गरेका हुन् ।)
प्रतिक्रिया
-
४
