आँगन
– नन्दलाल आचार्य
चाँदीको घेराभित्र जून निदाएझैँ,
तिमी मुस्कुराउँदा यो मन ब्युँझिन्छ ।
शिशिरको ओभानो पत्रदलमा कतै,
तिम्रै प्रीतको शीत बनी श्वास अल्झिन्छ ।
बतासले सुस्तरी सुसेल्छ तिम्रो नाम,
पहाडका थुम्कीमा लाली पोतिएझैँ ।
परेलीका डिलमा लुकेका ती सपना,
क्षितिजको काखमा साँझ ओतिएझैँ ।
हो, टल्किने पत्थर होइन यो मेरो माया,
धर्तीको तृष्णामा बादल झुल्किएझैँ ।
रेशमी धागोले बाँधिएका छन् भावना,
अव्यक्त शब्दका तरेलीमा बग्दै ।
तिमी मौन हुँदा पनि सुनिन्छ बाँसुरी,
आत्माको मझेरीमा अनुराग जग्दै ।
जूनको उज्यालोमा तिमीलाई नै खोज्छु,
अँध्यारो रातमा तारा चम्किएझैँ ।
प्रतिक्रिया
-
४
