– तीर्थराज विश्वकर्मा
जिन्दगी चुहाउँदै चुहाउँदै
यो व्यस्त चोकमा भर्खरै आइपुगेको छ
एउटा भरिया ।
भरियाले भारी मात्रै बिसाएको छैन्
भर्खरै आफ्ना थकाइहरू पनि बिसाएका छन् ।
भरियाले भारी मात्रै नबोक्दो रहेछ
बोक्दो रहेछ-
माटो,
माटोमा चुहिएको ईतिहास/बलिदान
माटोमा उम्रिएको पसिना
तर यी गल्लीहरुमा चुहिन्छन् यिनका खुशीहरू
जफत गरिन्छन् यिनका तोक्माहरू
यो शहरको पाइतलाहरूले
निर्मम कुल्चिदिन्छ यिनका खुशीहरूलाई
शहर भन्नु फगत कुल्चिनेहरुको न हो
भरियाले चुरोटको
धुवाँसगै दुर-दुर उडाउँदै छ, थकानहरू
मनमा प्रश्नको च्याब्रुङ बझिरहेको छ
भारीको वजन गरूङ्गो हुन्छ कि हुन्छ सपनाहरूको ?
कि हुन्छ जीवनको ?
भरियाको
शरीरबाट पसिनाको गन्धसँगै
सपनाहरू मरेका गन्ध पनि आइरहेको छ ।
ओठमा एक चिम्टी खैनीसँगै
कति मज्जाले च्याप्न सकेको एक अनुच्छेद मुस्कान !
खैनीको थुकसँगै
कति मज्जाले थुक्न सकेको असङ्ख्य दु:खहरू !
र हिड्न तयार बोकेर एक भारी उज्यालो ।
भविष्य बनाउँछु भनेर
धेरै चुट्टिए होला यिनका चप्पलहरू
धेरै छुट्टिए होला यिनका सम्बन्धहरू
मेरो क्यामेराले खिच्छु
भरियाको च्यात्तिएको जिन्दगीको फोटोहरू
देशलाई देखाउँदै सोध्नु छ,
तिम्रो विकासको मोडेलले
किन छुएन यी जीवनहरूलाई ?
***
प्रतिक्रिया
-
४
