– सुदिप पाख्रीन

एउटै बाटो भएर पुगिन्थ्यो
मन्दिर र मावल पहिले

जहाँ…

मंत्रोच्चारण गरेझैँ पण्डितले
सुनाउनुहुन्थ्यो परीकथाहरु मामा,
घण्टीझैँ बज्थ्यो
पुरानो खोकी हजुरआमाको
र, फैलन्थ्यो धूपको सुगन्धझैँ धुवाँ
उहाँको चुल्हाबाट पुरै घरमा

एउटैजस्तो लाग्थ्यो
मस्जीद र मावल पहिले

जहाँ……

सखारै कुनै मौलवीले एकसुरमा
बडो सूरका साथ आजान गाएझैँ
लाग्थ्यो हजुरबुवाको हप्काई पनि
र, लागिरहन्थ्यो कि दोहोर्याई रहुँ
ती केटाकेटी गल्तीहरु बारम्बार,
सफा हृदयका साथ एकधूनले नमाज पढेझैँ
चलिरहन्थ्यो सानीमाहरूका हातहरू
सफा भईरहन्थे भाडाकुँडा, कोठा, बरण्डा र पुरै वातावरण

हुबहु एकै देखिन्थे
चर्च र मावल पहिले
गुरुद्वारा र गुम्बा पनि चुपचाप आएर
थपक्क बसेझैँ गर्थ्यो मावलमै

जसको छानामाथिबाट शुरु हुने इन्द्रेणी
झनै रङगीन हुने गर्दथ्यो
अझै सुरिलो लाग्थ्यो
जहाँको झ्यालमा चढेर गाउने कोइली पनि
जहाँ त शत्रुहरु नै पनि
मित्रहरुभन्दा बढि मित्र लाग्थे
जो नगिचै रहेर सुमधुर सम्बन्धको कुनै सुरिला रागहरु गाइरहन्थे

साँच्चै नै
उस्तै थिए मावल र दुनियाका प्रत्येक सुन्दर कुराहरु पहिले
उस्तै छन् मावल र दुनियाका हरेक पावन कुराहरु अहिले

एउटै बाटो भएर पुगिन्छ
मन्दिर र मावल अहिले पनि…

***

प्रतिक्रिया

सम्बन्धित खवर