– सरण राई
मर्सिडिज बेन्च कारमा चढेर गरिबको गायक आए । दुई लहरमा पंक्तिबद्ध उभिएका गरिब कामदारहरूले जोड जोडले ताली बजाएर स्वागत गरे । एकजना मजदुरले ग्रिज, मोबिल लागेको आफ्नो मैलो हात गरिबका गायकतर्फ बढाए । गायकले हात मिलाएनन् । पंक्तिबद्ध उभिएका गरिब कामदारहरूको ताली अचानक बन्द भयो तर गरिबको गायकले वास्ता गरेन ।
पत्रकारहरूले गरिबको गायकलाई विविध प्रश्नहरू सोधे । एउटा प्रश्न— “किन तपाईँलाई गरिबका गायक भनिन्छ ?”
“गरिबको गीत गाएर मैले नाम, दाम र यश कमाएको छु । मेरो ‘गरिबको गीत’ एल्बम लाखौं बिक्रि भयो र अझै भइरहेछ । मेरो ‘स्टेज प्रोग्राम’ गरिबहरूमाझ अत्यन्त लोकप्रिय छ । गरिबको गीत गाएर अहिले म करोडपति भएको छु । त्यसैले मलाई गरिबका गायक भन्छन् ।”
“किन करोडपति भएर पनि तपाईँ अझै गरिबको गीत गाइरहनु भएको छ ?”
“पहिला म असाध्य गरिब थिएँ र गरिबको गीत मेरो हृदयको आवाज थियो । गरिबको गीत गाएर लोकप्रिय भएँ, करोडपति भएँ । अहिले म गरिबको गीत ब्यापारको लागि गाउँछु, अरबपति हुन गाउँछु ।”
“त्यसैले होला, तपाईँको गीत पहिलाजस्तो मधुर हृदयस्पर्शी छैन । आडम्बरी स्वरमा गाईरहनु भएको छ भन्ने सुनिन्छ । यसमा तपाईँको प्रतिक्रिया ?”
“हुनसक्छ, अब मैले गाएका गीतहरू गरिबको हृदयको पुकार हुन सकेका छैनन् । कारण मैले गरिबको पीडा बिर्सीसकेको हुँला । त्यसैले मेराे गायन मर्मस्पर्शी नभएका होलान् ।”
“त्यसो भए अब तपाईँ गरिबको गीत गाउँन छाड्नु हुन्छ ?”
“अँ हँ, म अझै गरिबको गीत गाईरहन्छु । गरिबको पुकार समाजमा गुञ्जायमान पार्नका लागि होइन । नेताहरूले गरिबको कुरा गर्न छाडेभने उनीहरू नेता भई रहन सक्तैनन् र गरिबको कुरा गरिरहन्छन् । नेताहरूलेझैँ मैले पनि बुझेको छु, गरिबहरूलाई सजिलैसँग मूर्ख बनाउन सकिन्छ, झुक्याउन सकिन्छ र ठग्न सकिन्छ । म गायनको आफ्नो धन्दा छाड्न सक्तिनँ । धन्दामा टिकिरहन गरिबको गीत गाईरहन्छु ।”
***
प्रतिक्रिया
-
४
