– अंकिता कोइराला

अँध्यारो समयको फाटलिएको कागजमा
अपरिचित छायाहरू झुल्केर विलिन हुन्छन्,
र भाग्यको कठोर कदम, हृदयका पुराना मार्गहरूमा
थाकेका स्वप्नहरू दुलुक दुलुक बोक्दै हिँडिरहन्छ

स्मृतिका नुकीला कण पुतलीहरू
भासिने झल्कोझैँ आँखामा टल्किन्छन्
स्पर्श गर्दा रगत बग्छ,
नस्पर्श गर्दा पनि नसा पोल्छन्।
मनको गहिराइमा पुरानो धड्कनको लरबरिएको स्वर
अविराम ढंगले अड्किएर बजिरहन्छ।

मौनका गर्भ कन्दरामा
यति गहिरो सुनसान छ कि
छायाको सानो कम्पनले पनि भित्ता चिरिन्छ
वियोगका अवशिष्ट कण
कहिले खरानीजस्तै चुहिन्छन्,
कहिले बाटोहरुमाथि तुवाँलो भएर टल्किन्छन्,
कहिले चेतनाका किनारतिर
डुबुल्की मारेर अनाम पीडा बटुल्छन्

छोडेर हिँडेका कदमहरूको ध्वनि
कहिले हराएको जस्तै लागे पनि
कुनै पुरानो उज्यालो
हृदयकै प्राचीन खिड्कीबाट पस्दा
त्यो ध्वनि फेरि जागेर थाकेका युगहरू बोकेर
बालुवामा दह्रो खाल्डो छाड्दै उठ्छ।

मनको पुरानो नक्सामा
कुनै सुरक्षित बन्दरगाह बाँकी छैन,
कुनै सहारा औंलिँदैन तर एक अटल छायांकन
नामहीन, आकारहीन,अनुत्तरित मौनको
अविचल धड्कनझैँ श्वासका भित्ताभरि अझै उत्कीर्ण छ,
समयको जंगले समेत मेटाउन नसकेको
अमर प्रतिध्वनिको अभिलेख भएर।

***

प्रतिक्रिया

सम्बन्धित खवर