– दिब्य गिरी
‘अब हामी भोलि नै यो शहर छोडेर टाढा जानु उत्तम हुनेछ ।’ नवीनले आफ्ना लत्ताकपडा, किताब र अन्य केही साना सामानहरू झोलामा राख्दै भन्यो ।
उसको साथी आभास मोबाईलमा गेम खेलिरहेको थियो । नवीनको कुरा सुनेर सोध्यो ‘के तिमीलाई विश्वास छ कि लडाइँ हुन्छ नै भन्ने ?’
‘हुन्छ, यसमा द्विविधा गर्ने कुरै छैन । रुसले सीमानामा लाखौंलाख सैनिक र बख्तरबन्द गाडीहरू ल्याएर राखेको समाचार दिनदिनै टेलिभिजनले प्रसारण गरिरहेको तिमीलाई थाहा छैन र ?’ नवीनले प्रतिप्रश्न ग¥यो ।
‘त्यो सबै कुरा मलाई थाहा छ तर युद्ध नै भइहाल्दैन भन्नेहरू पनि छन् । उसले युक्रेनलाई तर्साउन तेसो गरेको हो भन्छन् ।’ आभासले शङ्का व्यक्त गर्दै भन्यो ।
‘तिमी यस्तै कुरामा विश्वास गर । शासकहरूको द्वैध चरित्र र व्यवहार बुझ्न सकिन्न । उनीहरूको महात्त्वाकाङ्क्षा र घमण्ड कै कारण विगतमा पनि यस्ता लडाइँ धेरै भइसकेको इतिहास छन् । अब यहाँ पनि युद्ध नभई छोड्दैन । म त बस्दिन । भोलि नै यो शहर छोडेर पोल्याण्डको सीमानातिर जान्छु । मेरो ज्यान मलाईभन्दा पनि मेरो परिवारलाई बढी महत्त्वपूर्ण छ । बाले गाउँको जग्गाजमिन धितो राखेर चर्को ब्याजदरमा ऋण लिएर मलाई यहाँ पढ्न पठाएका हुन् । म सकुशल घर फर्कनु अनिवार्य छ ।’ नवीनले यतिभन्दै मिनरल वाटरको दुई घुट्को पानी पियो ।
नवीनको कुरा सुनिसकेपछि आभासको मनमा पनि कताकता डर लाग्यो । यदि साँच्चै नै युद्ध भइहाल्यो भने त यहाँ नै फसिन्छ । युद्धमा ज्यानको जोखिम हुन्छ । उसले मनमनै सोच्यो र भन्यो– ‘ठिक छ त्यसो हो भने म पनि जान्छु । यस बारेमा अरू साथीहरूलाई पनि खबर गर्नुपर्ला । उनीहरू पनि जान्छन् कि । समूहमा जान पाए सजिलो हुन्थ्यो ।’
‘तिम्रो यो सुझाव राम्रो हो । उनीहरूलाई पनि खबर गर्नैपर्छ । केही साथीहरूलाई तिमी खबर गर केहीलाई म खबर गर्छु ।’ नवीनले आभासको प्रस्तावलाई स्वीकार ग¥यो । त्यसपछि उनीहरू दुवै जना साथीहरूलाई स्वदेश फर्कने विषयमा मोबाईलबाट कुराकानी गर्नथाले । केही समय त्यसैमा बित्यो ।
होस्टेलमा नवीन र आभासको कोठा सँगैसँगै थियो । उनीहरू दुवै जना एउटै मेडिकल कलेजमा पढ्थे । कलेजमा यो उनीहरू दुवै जनाको चौथो वर्ष अर्थात्् अन्तिम वर्ष चलिरहेको थियो ।
मोबाईलमा कुराकानी सकिएपछि नवीनले भन्यो ‘जाऊँ अब तिम्रो सामान ठिक गरौं । भोलि बिहान हतार हुन्छ ।’ नवीन र आभास भएर सामानहरू झोलामा राखे । आभासको पनि झोला तयार भयो । जाडोको मौसम थियो । उनीहरू बसेको शेलिङ् शहरमा पनि वर्पm पर्न सुरु भइसकेको थियो । टेलिभिजनका समाचारहरूले जति बेला पनि युद्ध सुरु हुन सक्ने सङ्केत दिइरहेका थिए ।
त्यही रात शहरभन्दा धेरै टाढा ठूलो विष्फोट भएको आवाज सुनियो । त्यस लगत्तै साइरनहरू बज्न थाले । नवीन उठेर झ्यालबाट बाहिरतिर हेर्न थाल्यो । उसले आपूm बसेको ठाउँभन्दा निकै टाढा पूर्वतर्पmको एउटा विशाल भवनको माथिल्लो तलाको एउटा कुनाबाट आगोको मुस्लो र कालो धुवाँ आकाशतिर उठेको देख्यो । त्यो देखेपछि उसलाई लाग्यो यो पक्कै पनि आक्रमण गरिएको हो ।
विष्फोटको आवाजले आभास पनि ब्यूँझेछ । ऊ दौडेर नवीनको ढोका ढकढकाउन पुग्यो । नवीनले ढोका उघारेर हेर्यो । उसले आफू अघिल्तिर डरले काँपदै उभिएको आभासलाई देख्यो ।
‘तिमीलाई विश्वासै थिएन कि युद्ध हुन्छ भन्ने । ल हेर, युद्ध त सुरु भइहाल्यो । हामी अब युद्धमा फस्यौं । हामीले सुरक्षित रूपमा यो शहर कसरी छोड्न सकिन्छ । तिमी विचार गर ।’ नवीनले भन्यो । आभासले केही जवाफ दिन सकेन । केवल नवीनको अनुहारमा एकनास हेरिरह्यो ।
रातभर बम विष्फोटको आवाजले वातावरण कोलाहल र त्रासदीपूर्ण भइरह्यो । समाचार एजेन्सी र टेलिभिजनमा देखाइएका युद्धसम्बन्धी समाचार देख्दैमा भनायक थिए । रुसले युक्रेनमा जल, थल र आकाशबाट एकैसाथ आक्रमण गरेको थियो । जताततै आगो बलेको र धुवाँको कालो मुस्लो आकाशतिर बढिरहेको देखिन्थ्यो । आक्रमण गरिएका ठाउँहरूका मानिसहरू आ–आफ्ना सरसामानलाई सकिनसकी बोकेर दौडिरहेका थिए । आइमाईहरू साना–साना केटा–केटी र नवजात शिशुलाई च्यापेर दौडिरहेका थिए । जो वृद्धावस्थाको कारण अशक्त थिए, ती पनि सकिनसकी भीडमा हिँडिरहेका थिए । उनीहरूको साथमा घरपालुवा जनावर विशेष गरी साना कुकुर र बिरालाहरू पनि थिए । ती जनावरहरू मानिसहरूको भीडभित्र छिरेर यताउति गरिरहेका थिए ।
देशमा आक्रमण भएपछि युक्रेन सरकारले सबैलाई सुरक्षित रहनको निम्ति बङ्करमा आश्रय लिन सूचना जारि ग¥यो । आपूmखुसी स्वदेश फर्कन नसक्ने अवस्था देखेपछि नवीन र आभास बङ्करमा शरण लिन गए । बङ्करमा अन्य देशका छात्र–छात्राहरू पनि आ–आफ्ना झोला भुइँमा राखेर लहरै बसेका थिए । बाहिर बम विष्फोट भएको आवाज बङ्करभित्र पनि सुनिन्थ्यो । बङ्करमा छात्र र छात्राको सङ्ख्या झन्डैझन्डै बराबर थियो । डाक्टर र इन्जिनीयरिङ्का विद्यार्थी धेरै थिए । नवीन र आभास पनि एम्.बी.बीं.एस्.का छात्र थिए । दुवै जना एउटै मेडिकल कलेजमा पढ्थे ।
समय बित्दै जाँदा बङ्करभित्रका सबै विद्यार्थीहरूमा चिन्ता बढ्दै थियो । युद्धको कारण उनीहरूको मन मस्तिष्क विचलित भएको थियो । उनीहरू सबै त्रासमय, भयभीत र कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेका थिए । सबैको साझा चिन्ता थियो कि कसरी सुरक्षित रूपमा स्वदेश फर्कने । धेरैजसो विद्यार्थीहरू घरपरिवारमा सम्पर्क गरेर मोबाईलबाट कुराकानी गरिरहेका थिए भने कोहीकोही युक्रेनस्थित आफ्नो देशको दूतावासमा सम्पर्क गर्न कोसिस गरिरहेका थिए ।
‘म केही खानेकुरा र पानी किनेर ल्याउँछु ।’ नवीनले आभाससँग भन्यो ।
‘म पनि तिमीसँगै जान्छु ।’ आभासले भन्यो ।
‘तिमी जान पर्दैन । एक जना यहाँ सामान हेरेर पनि बस्नुपर्छ । म छिटोछिटो गएर आइहाल्छु ।’ नवीनले भन्यो । नवीनले त्यति भनेपछि आभास चुप लाग्यो ।
छिटै आउँछु भनेर गएको नवीन धेरै समयसम्म पनि नफर्किएपछि आभासले मोबाईलमा फोन ग¥यो ।
‘म अझै पनि लाममा उभिएको छु । मभन्दा अगाडि अझै धेरै मानिसहरू छन् । अझै एक डेढ घन्टाको समय लाग्ला जस्तो देख्छु ।’ नवीनले आभासलाई स्थिति अवगत गरायो ।
समय निकै बित्यो । एक घन्टा, डेढ घन्टा गर्देैमा तीन घन्टा बितिसक्दा पनि नवीन फर्किएर आएन । यता सुरक्षा गार्डले सबैलाई त्यहाँबाट पोल्याण्डको सीमाक्षेत्रतर्फ लैजाने सूचना सुनायो । उसको सुचना सुनेपछि सबै विद्यार्थीहरूको अनुहारमा खुशी देखियो । उनीहरू बसेको ठाउँबाट उठेर आ–आफ्ना सामान सम्हाल्नतिर लागे । यता अभइmसम्म पनि नवीन नआइपुगेकोमा आभास भने मलिन अनुहार पारेर बङ्करको ढोकातिर एकदृष्टि लगाइरहेथ्यो ।
त्यसपछि आभासले नवीनलाई लगातार मोबाईलबाट सम्पर्क गरिरह्यो तर मोबाईलमा घन्टी बजे पनि उताबाट जवाफ आएन । तब आभास झन आत्तियो अनि उसले अर्को साथीसँग नवीनको बारेमा भन्यो । अर्को साथीले पनि नवीनको मोबाईलमा सम्पर्क गर्यो । मोबाईलमा लगातार घन्टी बजिरह्यो तर उताबाट कुनै जवाफ आएन र नवीनले यो कुरा सुरक्षा गार्डलाई भन्यो । सुरक्षा गार्डले भन्यो– ‘तिम्रो साथी आउँछ होला । बाटो छलियो कि यहाँबाट सबैजना निस्कन अभैm केही घन्टा लाग्छ नै । तिमीहरू भने अन्तिम बसबाट जानु ।’
सबैजना बङ्करबाट बाहिर निस्कन लामबद्ध उभिए । युद्धको सङ्कटबाट मुक्त हुन पाएकोमा सबै खुशी थिए । आभास भने नवीनलाई मोबाईलमा फोन गर्दै बङ्करको ढोका छेउमा उभिएर पर्खिरह्यो । अन्तिम बस जाने समयसम्म पनि नवीन नआएपछि सुरक्षा गार्डले आभासलाई बसमा जान आदेश दियो । अब यतिबेला भने आभास धर्मसङ्कटमा प¥यो । उसले भन्यो– ‘मेरो साथी अभइmसम्म आएकै छैन । उसको झोला पनि मसँगै छ । म उसलाई छोडेर जान सक्दिन ।’ यति भनिरहँदा आभासको आँखामा आँशु टिल्पिलाइरहेको थियो ।
‘युद्धको बेला छ । आफ्नो ज्यानको पर्वाह गर्ने हो । तेरो साथीको अझैसम्म अत्तोपत्तो छैन । केही गरी ऊ आयो भने भोलि जान्छ । यो मौका नगुमाउनु बुद्धिमानी हुन्छ । मेरो विचारमा तँ जानु नै उत्तम हुन्छ ।’ सुरक्षा गार्डले भन्यो ।
सुरक्षा गार्डको कुराले ऊ द्विविधामा पर्यो । भोलिको दिन के कसो हो भन्न सकिन्न । अहिले जाने मौका आएको छ । उसले बसमा चढेका साथीहरूलाई हेर्यो । साथीहरू धेरैजसोले उसलाई बस चढ्न भनिरहेका थिए । आभास भने अँध्यारो अनुहार पारेर धेरै बेरसम्म त्यहीँ उभिइरह्यो । उसको आँखामा नवीनको अनुहार झल्झली आइरहेथ्यो । उसलाई नवीन यसरी नआउनुमा पक्कै पनि कुनै खास कारण हुनैपर्छ भन्ने लाग्यो ।
अन्ततः नवीनको झोला गार्डलाई जिम्मा लगाएर आभास बसमा चढ्यो । उसको मन रोइरहेको थियो । बस अभइm गुडिसकेको थिएन । कतै नवीन आइआल्छ कि भन्ने आशमा उसले झ्यालबाट बाहिरतिर हेरिरह्यो । त्यतिकैमा बस गुड्यो । सबै खुशीले रमाए तर ऊ भने चुपचाप बसेर नवीनको बारेमा अनेक आशङ्का गरिरह्यो । बसभित्रको टेलिभिजनमा युद्धसम्बन्धी समाचार आइरहेको ती समाचारमध्य एउटौ समाचारको दृश्य थियो कि एउटौ युवकको गोली लागेर मृत्यु भएको खबर । सडक किनारामा रगताम्य भएर युवक लडेको थियो । उसको वरिपरि खानेकुरा जस्तो कि बिस्कुट, पाउरोटी, पानीको बोतल आदि छरप्रस्ट थिए । लासभन्दा अलिक पर एउटा मोबाईल पनि थियो । नीलो ज्याकेट र कालो पाइन्ट लगाएको त्यो युवक अरू कोही नभएर नवीन नै थियो । त्यो दृश्य देखेपछि आभास त्यहीँ बेहोस भयो । होसमा आउँदा ऊ अस्पतालको बेडमा थियो । उसको वरिपरि उभिएका डाक्टर र नर्सको एउटै प्रश्न थियो– ‘तिमीलाई अहिले कस्तो छ ?’
ऊ भने छुटेको साथीको सम्झनामा भित्रभित्रै लड्पिरहेको थियो । रोइरहेको थियो ।
***
प्रतिक्रिया
-
४
