पाँचथर, याङवरक–२, तिम्तिम्बूमा जन्मिएर मोरङको उर्लाबारीलाई कर्मथलो बनाईरहेका कवि कृष्ण उदाशी बिभिन्न साहित्यिक संस्थाहरूसँग जोडिँदै आएका छन् । उदाशी साहित्यिक भित्तेपत्रिका ‘प्रारम्भ’ (२०६३–२०६५) को सम्पदान गरेँ । ‘सिर्जनाको बगैँचा’ (संयुक्त साहित्य संग्रह २०६५), ‘सम्बन्ध’ (द्वैमासिक साहित्यिक पत्रिका २०६६–२०६८) सम्पादन, रेडियो कार्यक्रम ‘गजलमाला’ र ‘सिर्जजनाको बगैँचा’का प्रस्तोता समेत थिए । ‘दाइजो’ (उपन्यास २०६४), ‘दोभानपारि बाबरी’ (गजल संग्रह २०६७), ‘म हराएको साँझ’ (बबिता घिमिरेसँग संयुक्त कथासंग्रह २०७०) प्रकाशन गरेका उनको भर्खरै “पानीको पर्खाल” कविता सङ्ग्रह प्रकाशन भएको छ । यसै कृतिको सेरोफेरोमा रही कवि उदाशीसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कविको जवाफ;

१, पानीको पर्खाल कृतिको बारेमा केही बताईदिनुस् न ।

– ‘पानीको पर्खाल’ कविताहरूको सङ्ग्रह हो । यसभित्र जम्मा ४१ वटा कविताहरू छन् । ती कविताहरूमध्ये केही अगाडि नै लेखिएका कविताहरू पनि छन् र केही पछिल्लो समय लेखिएका कविताहरू छन् । कविताहरू कस्ता छन् भन्ने कुरा पाठकहरूले नै बताउनु हुने छ तर सर्जकको दृष्टिबाट भन्नेको हो सबै विषयलाई सङ्ग्रहमा समावेश गर्ने कोसिस गरिएको छ ।

२, हुन त असम्भव कुरा नै कविहरूले कल्पने वा बिम्बमा भनेर अर्कै सङ्केत गर्छन् तर कृतिको नामले के कुरालाई सङ्केत गर्छ ? ‘पानीको पनि पर्खाल हुन्छ ?’ भनेर एक पाठकले सिधा प्रश्न गरेमा ?

– यो ब्रह्माण्डमा नभएको कुनै पनि कुरा मानिसको कल्पनामा आउँदैन । यदि मानिसले कुनै पनि कुराको कल्पना गर्न सक्छ भने यो ब्रह्माण्डमा कतै न कतै त्यसको अस्तित्व हुन्छ । त्यसमा पनि ‘पानीको पर्खाल’ व्यापक आयामहरू बोकेको एउटा सघन बिम्ब हो । एउटा कविको नजरले हेर्दा ‘पानीको पर्खाल’ सामाजिक भौतिक, सांस्कृतिक र भावनात्मक सबै हिसाबमा देख्न सकिन्छ ।

३, यो तपाईँको पहिलो कविता सङ्ग्रह हो । कविता के हो ? किन लेख्ने कविता ?

– हो । मेरा पहिलाका कृतिहरू अरु नै विधामा थिए । कविताकै कृति चैँ यो पहिलो हो । तर कविता सङ्ग्रह प्रकाशित भइसकेको भए पनि कविताको परिभाषा गरिहाल्न सक्ने म सायद बनिसकेको छैन । कविता असाध्यै व्यापक विषय भएकाले यसको गहिराई छिचोल्न एउटै जुनीले पुग्छ जस्तो मलाई लाग्दैन । ‘यो चैँ कविता हो र यो चैँ होइन’ भन्न सक्ने हुनलाई एउटा व्यक्ति मानक हुनसक्नु पर्छ । मैले आजसम्म कविताको सर्वमान्य दृष्टिकोण पाएको छैन । जतिले कविताको परिभाष गर्नुभएको छ, त्यो उहाँहरूको अध्ययनको पहुँच बराबर मात्रै छ । त्यसले म चैँ ‘कविता असाध्यै वृहत विधा हो’ मात्रै भन्न सक्छु ।

कविता किन लेख्ने भन्ने प्रश्नको उत्तर पनि अप्ठ्यारो छ । अरुले किन लेख्नु हुन्छ थाहा छैन, म चैँ सुन्दर सुन्दर परिकल्पना गर्छु र त्यो कल्पनालाई शब्दमा उन्ने प्रयास गर्छु । विद्रोहका लागि लेखिएका कविताहरू पनि सुन्दर कल्पनाबाट नै जन्मिन्छन् ।

४, कविताबाट सुरु गरेर कथा र उपन्यासको घरतिर लाग्ने कविहरू धेरै छन् । तपाईँचाहिँ उपन्यास हुँदै कथा र कवितामा आईपुग्नुभयो । खासमा यसका पछाडि कारण के छ ?

– कविता लेखेरै ख्याति कमाइसक्नु भएका थुप्रै अग्रजहरू पछिल्लो समय लामो विधाका पुस्तक प्रकाशन गरिरहनु भएको छ । मलाई लाग्छ एउटा सर्जक जुनबेला जुन विधामा पोखिन सक्छ त्यसैमा पोखिने हो । जुनबेला जुन विधामा गहिरिन सक्छ त्यसमै गहिराइ खोज्ने हो । लामा विधामा तर्क पनि पेश गर्न पाइन्छ । कवितामा तर्कको स्थान हुँदैन । कवितामा आफ्नो भावनालाई चेसको घोडाजस्तो हिँडाउनु पर्छ । कवितामा तर्क पेश गर्न थाल्यो भने कविता पनि निबन्ध कि त संस्मरण, कथा बन्छ ।

मेरो सवालमा चैँ भन्नु पर्दा गीत र गजल लेखिरहेको थिएँ । कविताहरू पनि पहिलाबाटै लेखिरहेको थिएँ । कविताको सङ्ग्रह तयारी गर्ने मनसाय बनाएपछि लगभग २ वर्ष मैले कथा, उपन्यास, निबन्ध पढिनँ, कविताहरू मात्रै खोजिखोजि पढेँ । यो पल्ट कविताको सङ्ग्रह तयार पार्नुमा छुट्टै कुनै कारण छैन ।

५, कवि ‘कृष्ण’ जो आफू उदास छु भन्ठान्छ र उदाशी भनेर आफूलाई चिनाउँछ । उसको ‘पानीको पर्खाल’ किन पढ्ने पाठकले ?

– यो प्रश्न चैँ सायद अलि रमाइलो प्रश्न होला, हे हे हे हे । किन भने प्रश्नमा आएजस्तो नामको अर्थमा कुनै तालमेल छैन । तपाईंले पहिला नै निर्णय गरिसक्नु भएको छ कि मैले ‘आफू उदास छु, भनेर सोच्छु ।’ प्रश्नको यो भावसँग मेरो कुनै पुस्ताको कतैको पनि साइनो जोडिँदैन । म ‘उदास’ अथवा ‘निराश’ ‘उदासी’ होइन । म ‘दुःखी छु’ भन्नका लागि उदाशी नाम राखेकै होइन । म, मेरो नामको ‘उदाशी’ मा ‘शी’ लेख्छु, ‘सी’ लेख्दिनँ । त्यसैले पहिलो कुरा त अर्थै मिल्दैन । अर्को कुरा यो एउटा दर्शन पनि हो, ‘कृष्ण’ सँग किन ‘उदाशी’ छ ? ‘कृष्ण’ चञ्चल, प्रेम, र उत्साहको प्रतीक हो । तर आम जीवनहरू एउटै पाटोले मात्रै बनेका हुँदैनन् । जीवनको अर्को पाटो अवरोध, संघर्ष, निराशा आदि धेरै कुराको चाङ लागेर बनेको हुन्छ । यो असंलग्नताको भावमा पनि लिन सकिन्छ । मैले ‘उदाशी’ नाम राख्नुका पछाडि थुप्रै कथाहरू बाहिर आइसकेका छन् । भूपेन्द्र तिम्सिना दाइले मेरो जीवनी नै बाहिर ल्याउनु भएको छ । यहाँ ‘उदाशी नाम कसरी राखियो’ भनेर म लामो व्याख्या गर्दिनँ ।

अब ‘पानीको पर्खालभित्रका कविता किन पढ्ने ?’ भन्ने प्रश्न चैँ गम्भीर छ । म एउटा लेखक हुँ त्यसैले धेरैभन्दा धेरै पाठकहरूले मेरो सिर्जना पढून् भन्ने चाहन्छु । ‘गम्भीर पाठकहरूका लागि यो पुस्तक एउटा खुराक हो’ भन्ने मेरो बुझाइ छ । पुस्तक पूरा पढिसकेपछि पाठकहरूले आफैँ थाहा पाउनु हुने छ कि ‘पानीको पर्खाल’ किन पढ्न आवश्यक छ ।

मैले केही वैचारिक कविता राखेको छु पुस्तकमा । ती जानजान राखिएका हुन् । नत्र अधिकांश कविता, कविताका शास्त्रीय मान्यतामा आधारित बिम्ब, प्रतीक र अलङ्कार प्रयोग गरेर लेखिएका कविता नै छन् । नयाँ स्वाद र अग्र्यानिक बिम्बको मजा लिन चाहने पठाकहरूका हातमा ‘पानीको पर्खाल’ पुग्न अत्यन्तै जरुरी छ । मलाई लाग्छ, साँच्चै कविताका पाठकहरूले यो कवितासङ्ग्रह पढ्नुभयो भने मजा लिनुहुने छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर