– मधु भण्डारी
“हैन आज यो केटो किन ढिलो गर्यो कामबाट फर्किन? सधैं त यति बेला आइपुगिसक्थ्यो।”ओछ्यानमा ढल्किदै बोल्छन् माझाघरे मोहन । आफ्नै जत्तिकै प्यारो लाग्छ उनलाई गाउँले भाइ गैराघरे कान्छो ।
“किन एक्लै बर्बराका छौ है दाजु?” हातमा मोबाईल हल्लाउँदै आइपुग्छ कान्छो ।
“तै कता हराईस् भनेर कराईराखेको नि ।”
कान्छो दाजुको कुरातिर ध्यान नदिई गीत गुनगुनाईरन्छ निकै बेर “तिमिलाई भेट्न आउदैछु तिम्रो गाउँमा…………।”
“निकै खुसी पो छस् त । ठुलै माछो हात पारिस् कि के हो?” कान्छोको ओठमा धेरै पछि फक्रीएको मुस्कान देखेर सोध्छन् मोहन ।
“ए सान्दाई लौ है म त पर्सि लाग्ने भए घरतिर । बल्ल बल्ल साहुलाई मनाएर पन्ध्र दिनको बिदा पाको छु । तिम्रो पनि केही खबर भए भन है ।”
“ओहो लौ सार्है राम्रो कुरो पो सुनाईस है कान्छा । असार मासमा गाउँ जान पाउनु कम्ता खुसिको कुरा हैन । रोपाइँले छपक्कै पारेको होला । पर्सि हिडिस् भने त ठ्याक्कै असार पन्ध्रै मा पो पुग्छस त हौ । काका काकिलाई नि सहारा हुने रोपाइँ मा । खुसिले मनै हरर भएर आयो मेरो त ।”
“हो नि दाइ । मेरो मन त उडेर तीन फन्का लाईसक्यो गाउँ । सम्झ त त्यो गैरिखेतको रोपाइँ, असारे भाका, सानिको हातको दोपारे अनि आमाको हातको खाजा ।”
“अब सम्झिने नै भैस नि बाबै । तेरो त झन् परेवाको झैँ जोडी । साँच्चै निकै महिना पो भो त है गाउँमा फोने गर्न नसकेको नि । असारले छपक्कै छोपेर होला पारी रात्माटे सम्म फोन चार्ज गर्न नि जान भ्यानछन् कि सधैं अफ भन्छ तेरि भाउजुको फोन । खोइ कहिले पुग्ला हाम्रो गाउँमा बिजुली ।”
“मेरो नि त्यही त हो नि दाजु । बासङ्ग दुई महिना अघि कुरो भाथ्यो । सानी कस्ति भै होलि है दाजु ? यतिका बर्ष भो नभेटेको । तीन महिना अघि कुरा हुँदा घरमा बिहेको लागि कर गर्दैहुनुहुन्छ छिटो आउ भन्थि । जिन्तिन जोहो गरेको अलिकती पैसा छ । मिल्यो भने असार मै बिहे गरेर आउने पो सोच्दैछु म त के भन्छौ?”
“लौ सोर्है आना सहि कुरा गरिस् है कान्छा । त्यति गरिस् भने बा आमालाई तातो पानी दिने मान्छे हुन्छ । हामी त सधैंको परदेशी । देशमै पसिना बगाउँछु भन्दा न टेक्ने हाँगो, न समाउने हाँगो भएर यता आइयो । सधैं घरकै याद्ले पिरोल्छ ।
पर्सिपल्ट
“ल दाजु बस है । आफ्नो ख्याल गर । म पन्ध्र दिन्मा आउँछु ।”
ल केटा राम्ररी जानू अलिकति पैसा पुर्याइदिनु तेरि भाउजुको हातमा । केटाकेटी हुरुक्कै हुन्छन् चकलेट भनेसि भन्दै कान्छको हातमा केही पैसा र चकलेट थमाएर बिदा गरे मोहनले ।
मन दशैको चङ्गा झैं हलुको बनाउँदै गाउँ पुग्यो कान्छो । घरमा कुनै अत्तोपत्तो नदिकन ।
“ए लौ हन कान्छो पो आइपुगेछ ए मखमली बाहिर आइज त ।” खुसिले आँखाका कुना रसिलो पार्दै गम्भीरमान हेरिरन्छन् छोरोलाई । चार बर्ष पछि बा आमाको गोढा ढोग्ने सौभाग्य पायो कान्छाले । बस् बाबू भोकाईस् होला म खाजा बनाउँछु खुसिका आँसु पुछ्दै भन्छिन् मखमली ।
“लौ आमा पनि आज त दहि चिउरा खाने दिन नि के अरु खाजा बनाईरनु ।”
ल ल दहि चिउरा नै खालास् भन्दै आमाले एक बटुको दहि चिउरा ल्याईदिइन् ।
“अबुई यो त पसलको चिउरा जस्तो छ त। अनि दहि पनि हाम्रो घरमै बनाको हो र यो?स्वाद त अर्कै पो छ त आमा । अनि केरा पाक्याछैन?” अचम्म मान्दै कान्छोले सोध्यो ।
“गाउँमा खेती गर्ने कोहि छैन बाबू । युवा जति परदेशी भैगए । बालबच्चा पढाउने भनेर सहरतिरै बस्छन तिनका जहान पनि । गाउँमा हामी जस्ता डाँडापारिका घाम जस्तो बुढाबुढी मात्रै पिँढी रुघेर बसेकाछौं । गैरिखेत बाँझो भाको चार साल भो । हामीलाई बुढेसकाल लागिहाल्यो । गोडाचारेक बाख्रा छन् तिनैले पालिरहेका छन् हामि बुढाबुढिलाई ।भैंसी पनि परारै बेचिदियौं पाल्न नसकेर । अहिले तल डेरिबाट एक मानो दुध ल्याउँछौं । आज आफ्नो परम्परा धान्नुपर्छ भनेर बाले एक किलो चिउरा किनेर ल्याउनुभको पसलबाट । भात पनि साईलोको पसलबाट चामल उधारो ल्याएर खाईरकाछौं बा । कुनै स्वाद छैन ।”
“लौ न । अनि केरा पनि फल्न छोड्यो आमा गैरिखेतमा?”
“केरा पनि मल न जल के फल्दो हो बाबै। त्यही पनि फलेथ्यो कि हेर्न बेशी पुगेर आउने आँट आएन । एक दिन पुरै लाग्छ त्यो उकालो काट्न। ” तुरुक्क आँसु झारिन् मखमलिले ।
खिन्न मन बनाउँदै खाजा खायो कान्छोले । “ल आमा अब पिर नलिनुस् । यस्पालि त्यस्तै भैगो अर्को साल म नफर्किने गरि आउँछु परदेश बाट अनि फेरि पहिलाको जस्तै हुन्छ हाम्रो घरखेत हराभरा । बरु बा सानिको बाबा सङ्ग कुरा गर्न जानुस् न । मिल्यो भने यहि बिदामा सानिलाई भित्र्याएर जान्छु । तपाईंहरुलाई नि सहारा हुन्छ । निकै भो त्यो सङ्ग नि कुरा नभाको । आउँदै त छे तपाईंहरुलाई भेट्न?”
छोराको कुराले अमिलो मन बनाउँदै बोले गम्भीरमान ” तीन महिना अघि आएर कान्छोलाई कुर्न नसक्ने भए बा घरमा बिहेको कुरा आको आई छ । कान्छो आएपछि यो चिठी दिनु भनेर एउटा पत्र देर गै बाबु। बैशाखमा बिहे भयो अरे अस्टेर्ल्या बस्ने केटो सङ्ग। अहिले सहरमा बसेर कुन्नी के के टेर्लिङ गर्दै छे र उतै जान भन्नी सुन्छु ।” यति भन्दै दलिनबाट एउटा कागज निकालेर दिन्छन् गम्भिरमान ।
कान्छो कागज खोलेर पढ्न थाल्यो-
“कान्छो खै के भनेर सम्बोधन गरौं तलाई । सम्बोधन गर्ने हक त उहिदिन गुमाएँ जुन दिन अस्ट्रेलिया बस्ने केटासँग मेरो बिहेको कुरा छिनें । सुरुमा त धेरै रोएँ कराएँ म कान्छोलाई नै कुर्छु भनेर । तर बाले यो गाउँमा तेरो भविस्य राम्रो छैन। कान्छोको नि कमाई राम्रो छैन । खाडिमा पसिना बगाएर तलाई के खुसी देला । अस्ट्रेलिया गैस् भने नयाँ संसार देख्लिस् । गाडिमा घुम्लिस् । पैसा कमाउलिस् । सुखी होलिस् । मायाले संसार थाम्दैन बाबै भन्न थाल्नुभो । यसो सोच्दा हो जस्तो लागेर बिहे गर्ने सुर गरें । तँ पनि आफ्नो सुर गर । म नेपाल आउँदा भेटौंला नि तलाई । ल माया नमारेस् ।
उही तेरी बन्न नसकेकी सानी ।”
कान्छोलाई आकाशले थिचेसरी भयो । कुन सपना सजाएर आएथ्यो सबै निमेषमै टुट्यो । झल्झली नाच्न थाले उस्को आँखामा पाँच साल अघि को त्यो रोपाइँ, त्यो असारे भाकाको ख्यालठट्टा, त्यो दोपारे अनि दहि चिउरा । सानी सङ्गै घाँसदाउरा मेलापात गरेका ती दिनहरु । सङ्गै सजाएका एक थान सपना । जसरि युबाबिना उजाडियो गाउँ त्यसै गरि उजाडियो सानिबिना उस्को मन । मानो रोपेर मुरि फलाउने सपना सजाउँदै गाउँ फर्किएको ऊ चाहेन बाढिले सोहोरेको सुख्खा बगर सरि मन लिएर फेरि परदेशी बन्न। आफू नफर्किने खबर गर्यो कम्पनीमा अनि अठोट गर्यो कि अर्को असार पन्ध्र मनाउँनेछ उस्ले आफ्नै पौरखले । गैरी खेतको धान कुटेर बनाएको झुरुम झुरुम चिउरा अनि लैनो भैंसिको दहिमा आफ्नै बगैंचाको केरा हालेर बाड्नेछिन् उस्कि आमाले खाजा । दोपारे बाँड्न आउनेछिन् उस्कि जहान जो छोड्नेछैन उस्लाई बिदेसी जीवनशैलिको लोभमा । अनि असारे भाका घन्काई घन्काई गर्नेछन रोपाइँ फाँट्भरी ।
***
प्रतिक्रिया
-
४
