– विधान आचार्य

“भित्र कोठामा लैजा ….” हाकिमले सिपाहीलाई आदेश दियो । सिपाहीले उसलाई घिस्यायो । उसले हाकिमका अनुहारमा हेरी र पिच्च थुकी ।  हाकिमले इसारा गरेको कोठामा लगेर उसलाई भित्र छोड्दै सिपाही बाहिर निस्क्यो । ढोका थुनेर बाहिरबाट ताल्चा लगायो । भित्र अन्धकार थियो ।

एकछिनमा आाफ्ना काम निप्ट्याएर हातमा धारिलो हतियार चम्काउँदै हाकिम आयो । भित्र पसेपछि भने हाकिमका हातको ब्याट्री सकिन लागेको टर्चलाइटको मधुरो उजेलोमा कोठाको कुनाको खाट र त्यसमाथिको मैलो तन्नामा हातगोडा खुम्च्याएर बसेकी ऊ देखिई । उसका मुहारमा क्रोध छापिएको थियो ।

बाहिर बसेका सिपाही भोलिबिहान फेरि अर्की एउटीको लास तह लगाउने तरिकाको तानाबाना बुन्न थाले । भित्रबाट महिलाका स्वरका केही टुक्रा आवाज आए र क्रमैसित बिलाए । अँध्यारो कोठा अरू बेलाजस्तै शान्त साक्षी बन्यो ।

बिहान बन्द ढोकाबाट रगत आएको थियो । पहिले पनि यस्तो भएको थियो । सिपाहीहरूले बिस्तारै ढोका खोले । चमचमाउँदो हतियार धारपट्टि रगतको दागसहित एक कुनामा फालिएको थियो ।

लासलाई नाघेर रगतका छेउतिर टेक्दै बिस्तारै  ऊ ढोकाबाट निस्की र निर्भीकतासाथ बाहिर निक्लिएर उज्यालोतिर बढ्दै गई ।

***

प्रतिक्रिया

सम्बन्धित खवर