– देवव्रत
ख्वामित,
जागिर छाड्नु अघिल्लो साँझ
चढाउँदैछु यो बिन्तीपत्र
नियतिले नचिथोरेको भए
बाध्यताले ननिचोरेको भए
सायद म त कतै अन्तै हिँडेको थिएँ
अन्तै कतै थियो पुग्नुपर्ने ठाउँ
परार एउटा समाचार लेख्दै थिएँ- ‘भोकै कोही मर्नुपर्दैन’
बा कालापहारमा स्याउ टिप्दाटिप्दै खसे
पोहोर लेखेको थिएँ- ‘सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गर्ने सरकारको घोषणा’
खच्चर पनि लडेर मर्ने भीरमा
स्वास्नीलाई व्यथाले च्याप्यो
बा खसेको वर्ष कामको चाप थियो
स्वास्नी सुत्केरी हुँदा असार लागेको थियो
घर नगएको पनि वर्षौँ भएछ क्यार!
म बढुवा भएकै दिन
के कारण हो कुन्नि!
गेटपालेलाई हजुरले खुब गाली गर्नुभयो
त्यो दिन खुब बिझाएको थियो मेरो छाती
किनभने- म न्युजरुमको पाले थिएँ
ऊ गेटको पाले थियो
हामी दुवैको जिन्दगी आलेटाले थियो
अर्को दिन
रुँदै गुनासो गरेथ्यो पालेले – उत्कृष्ट नम्बर ल्याउँदा पनि छोरीले अवसर पाइनन्
खच्चर नभएर सडक भइदिए
ख्वामितको अलिकति निगाह भइदिए
सायद आज मेरी छोरी पनि स्कुल जाँदी हुन्
अस्ति भर्खरै
हजुरकी छोरीले ‘अक्सफोर्ड’मा ‘स्करसिप’ पाइछिन्
हजुरले अफिसमा लड्डु बाँड्नुभएथ्यो
तर मेरो हजुरलाई भन्नै सकिनँ
मलाई लड्डुको स्वाद यत्तिको नमीठो कहिल्यै लागेको थिएन
हिजै, हजुरको अर्को कम्पनीले कर छुट नपाएपछि
आफैले लेख्नुभएछ फ्रन्ट पेजमा समाचार
‘दलाल, भ्रष्ट, शोषक सरकार’
यी लुछिएका छाला
चिसिएका हाड
यी दु:खका पहाड
यो शोषण
यो अभर
फोक्सो भरिनेगरी नलिएको सास
वर्षौँ नहाँसेका ओठका काँप
यो नमिलेको जिन्दगीको ब्यालेन्स सिट
चुपचाप उभिइरहेँ म
मैले थाहै पाइन् को हो मेरो जीवनको- दलाल
जागिर छाड्नु अघिल्लो साँझ
आज खुब याद आयो ख्वामित
रुँदै कालापहार हिँडेका ६५ वर्षीय बाको अनुहार
सुत्केरी व्यथाले चिच्याइरहेकी स्वास्नीको चित्कार
संसार बदल्नसक्ने मृत छोरीको रातो अनुहार
रित्तो गाउँकी एक्ली आमा
मेरो ख्वामित
सायद यत्ति नै भयो हजुरलाई यो जिन्दगी
नियतिले नचिथोरेको भए
बाध्यताले ननिचोरेको भए
सायद म त कतै अन्तै हिँडेको थिएँ
अन्तै कतै थियो पुग्नुपर्ने ठाउँ।
***
प्रतिक्रिया
-
४
