-योगप्रसाद उपाध्यय चापागाईं
सुत्न जौं दाइ । लुरुलुरु हिँडेको मान्छे सोझै ठिङग भएँ । पुरानो बसस्टेण्ड कटेको मात्रै छु । आश्चर्य लग्यो र आवाज आए तिर देखेँ एक मस्त सुन्दरी मुखमा मास्क लगाएर उभिएकी छे । म उस्लाई सोध्न खोज्थेँ, व्यस्त रहेको फुटपाथमा कस्तो कुरा बोली ! मैले चिनेकी आइमाई हैन ऊ । तर मलाई पक्कै चिनेरै त्यसो भनेकी हो भन्ने लागे पछि मेरामनमा कैयौं जिज्ञासाहरू जागे । त्यसलाई लु हिँड जाउँ भनेर लैजाउँ र ऊसँग मनका सबै कुरा पोखेर मलाई मेरै कुरा बुझ्न मन लाग्यो । तर मेरो लाने ठाउँ थिएन र मेरा आफ्नै विवसताहरू पनि थिए ।
उसले मलाई किन छोडथी र ! मैले कदम चाल्नै लाग्दा “कहाँ जान लागेको ?” भनि । उस्का आँखामा प्यास थियो । तनमा जोस थियो । ऊ आवेगमा आई सकेकी थि । उस्को चाला लज्जाहिन भैरहेको थियो । ऊ फुटपथमै अँगालोले मलाई बेर्न चाहन्थी ।
मैले उसलाई कहिल्यै देखेको थिइनँ । तर मलाई चाहिँ उसले पहिल्यै देखि लख काटेकी रहिछे । मलाई यहि बसस्ट्याण्डमा देखेकी रहिछ । दुईदिन अगि पनि मलाई यहाँबाट रत्नपार्क तिर जाँदै गरेको देखिछ र पछ्याई छ । “दाई तपाईं कति छिटो हिडेँको । अस्ति यहि बेला तपाईं यो फुटपथको बाटो कटनु भयो । म परसम्म गएर पनि तपाईंलाई भेट्न सकिन । मसँग एउटा जुँघे काले पनि थियो । त्यसले थाहा पाउँछ भनेर बोलाउन सकिनँ । दाई जाउँ । मलाई लिएर हिँडनुहोस । तपाईं जहाँ लानुहुन्छ म जान तयार छु ।”
उस्का आँखाहरू बलिरहेका थिए । बाघले शिकार भेटे जसरी झम्टीरहेकी थिइ । मैले सोधेँ- “को थियो त्यो मान्छे ? के सम्बन्ध छ त्यससँग ॽ”
“उत्यहाँ त्यसको डेरा छ । भाडाको टट्टु हो । परिवार छैनन् । एक्लै बस्छ काले ।” झर्नै लागेको ब्यागको फिता कुमतिर तानि । बाटेको चुल्ठोबाट खुस्केर झूलेका केश चुल्ठोमै दोबरी ।
म एक कदम पछि हटेँ । किनकी त्यस्को नतिजा ठिक थिएन । ऊ जतिबेलै मलाई कोपर्न खोजेको देखिन्थि ।
“त्यो मान्छे किन आएको ॽ अनि के गर्यो ॽ” म उस्का कुरा सुन्न हतारिएँ ।
उसले मलाई सर्तले बाँधि । मैले अस्वीकार गर्न सकिनँ । हामी दुबैजना होटलको काउन्टरमा पुग्यौं । होटल साहुनीसंग उसैले कुरा मिलाई । पैसा उसैले तिरि र कोठासम्म लगि ।
त्यो काले एक्लो मान्छेबारे मेरा मनमा कुरा खेल्न लागे । मैले उसलाई त्यो मान्छेबारे छिटो बताउन भनेँ ।
“एकदिनको कुरा हो । मसँग पैसा थिएन । किनेर खान गाह्रो भयो । उपाए खोज्दै जाँदा त्योसँग भेट भयो ।” उसले भनि ।
“तिमीलाई अभाव टार्न पैसा दियो ॽ”
“दियो । तर……”
“फेरि के भयो ? सुनाउन मिल्छ ॽ”
“मिल्छ । दाई, खाजा खाऊ है ।”उसले साहुनीलाई डायल गरेर खाजा र पेय मगाई र अट्याच बाथरुम पसि ।
“तपाईं पनि वास हुनुहोस” सेतो तौलि मलाई दिदैँ भनि ।
खाजा खाँदै गर्दा उसले थुप्रै कुरा सुनाइ । पाँचवर्ष अघि राकेशले उसलाई धोखा दिएर विदेश गएको रहेछ । बिहे गर्ने वचन दिएर ऊसँग मज्जा गरेछ । विदेश गए पछि पनि कतिपल्ट केहि पैसा पठाएको रहेछ । पछि विदेशमै एउटी आइमाईको प्रेममा परे पछि राकेशले सम्बन्ध टुटाएको रहेछ ।
“विदेश गएको राकेशले तिमीलाई धोखा दियो । तर तिम्रो भाग्यले स्वदेशमै बसेको कालेलाई पायौ । फेरि के भयो र !” मैले कुरा खोतल्ने प्रयासले भनेँ ।
“दाई, मेरो भाग्य छैन । भावि पनि कोडी बनेर मेरो भाग्य लेखेका रहेछन् ।”
“मतलब कालेसँग तिम्रो प्रेम छैन ?”
“शरीर पैसाले किन्नेसँग कसरी प्रेमको पवित्र सम्बन्ध हुन सक्छ र ॽ ऊ यौनआनन्दका लागि जति पनि पैसा दिन तयार हुन्छ । त्यो चोखो प्रेम होइन नि दाई !”
उस्का आँखामा निस्किएका पिलपिले आँसु लामा नङले आँखा जोगाएर पुछि र भन्न लागि- “राकेशसँग मेरो सच्चा प्रेमको भावनात्मक सम्बन्ध थियो । शारिरीक सम्बन्ध होइन । हाम्रो प्रेममा बिहे पछि मात्र शारीरको सम्बन्ध राख्ने प्रतिज्ञा थियो ।”
“कालेले पैसाले तिम्रो शरीर किन्यो । त्यहि भन्न खोजेको हो तिमीले ॽ” मैले थोरै आवेग ल्याउने कोसिसमा भनेँ ।
“हो ।”
“के भन्यौ ॽ उसले तिमीलाई लूट्यो ॽ”
“उसले मलाई लुट्ने हर प्रयास गर्यो । मलाई निचोर्न खोज्यो । चुस्न खोज्यो र कप्प खाउँला जस्तो गर्यो । म मानिनँ । उस्ले मलाई पैसाको बिटा देखायो । अँह म मान्दै मानिनँ । उस्को अघिल्तिरको भित्तामा झूण्डिएको तक्मा देखेर मैले उसलाई चिनिसकेकी थिएँ । ऊ पेन्सन पकाएर विदेशबाट आएको फौजी रहेछ । त्यस पछि म उस्को कोठाबाट निस्किए । उसले बाटामा भेट्यो भने हातमा आए जति पैसा दिन्छ । के गर्नु दाई म अभागिनी । त्यसको थुप्रै पैसा समाइ सकेकी छु ।”
“आमा बुवा ॽ तिम्रो घर परिवार नि ॽ”
“नसोध्नुस दाई ! त्यो कुरा ।”
“तिमीले गरेको हिम्मत देखेर विश्वास भएन ।”
“सत्य हो । मेरो घर भर्खरै सरकारले डोजर लगाएर तोडफोड गर्यो । उ त्यो भग्नको थुप्रो देख्नु भयो नि ॽ” उठेर गएर उसले झ्यालको पर्दा सारेर देखाइ ।
मैले मुन्टोले देखेको संकेत गरेँ ।
झ्यालको पर्दा त्यहिँ अल्झाइ र फर्किएर आएर ओछ्यानमा बसेर भन्न लागि- “आमाले मलाई जन्माए पछिनै छोडेर जानु भएको रहेछ । बुवा दरबारियाहरूको छेउको हुनुहुन्थ्यो । बुबालाई उनिहरूले बोलाएर लिएर गएको दशवर्ष भयो । बुबा फर्किनु भएन । सम्झिएर छाती चिरिन्छ । भक्कानो फुटेर आउँछ । अबला नारी त्यो पनि सर्वहारा टुहुरी भएर बाच्नै नसक्ने भएँ दाई ।”
“तिम्रो नाम नि ॽ” मैले उस्को नाम जान्न खोजेँ ।
“ललिता !”
फेरि दोहोर्याइ “ललिता अभागी !”
मैले भने- “मलाई राजनारायन भन्छन् ।”
मेरो ध्यान समय तिर गयो । साँझ परि सकेको थियो । पर्दा दोब्रिएको झ्यालको कुनाबाट चिहाएर हेरेँ । भग्न घरको अवशेष माथि बिजुलीको प्रकास प्रतिफलित भएर टल्की रहेको थियो । पर परसम्म सहर पुरै बिजुलीको प्रकासले झलमल देखिन्थ्यो । मैले विदालिने प्रयास गरिहेरेँ ।
उस्ले मलाई उम्किन नदिने सुर गरेर भनि- “श्रीमान राजनारायन ! के तपाईं एक नारीको अन्तर व्यथा बुझ्न सक्नु हुन्न । सहारा बिनाकी एउटी नारीको पीडा ॽ”
“तिमी नारी, म पुरुष । हामी बिचमा भिन्नता केहि छैन बुझ्यौ ललिता । उहि हाड, छाला, मन र मुटु । दुख, पीडा र वेदनाहरू उस्तै ।” फेरि भनेँ- “म कहाँ हिडेँको मान्छे कहाँ ल्यायौ । सबै कामहरू लठिभद्र छन् । मलाई जान देऊ ।” मैले उसलाई अनुरोध गर्न खोजेँ ।
उसले मलाई छोडने छाँट थिएन । म ललिताको फन्दामा परि सकेको थिएँ । मैले मेरा कुरा राखेँ- “तिमी राज घरानकी एक सुन्दर नारी । म कहाँको सामान्य एक मर्द । तिमी र मलाई समाजले स्वीकार्दैन, जातले, परिवेशले, उमेर केहिले स्वीकार नगर्ला । तिमी समभ्रान्त शाह परिवारकी, दुखमा परेकी एक नारी । म पातिपढेर दिन गुजार्ने बाहुन परिवारको एक पुरुष । हाम्रो संसार बन्न सकदैन । यो सब व्यर्थ छ ललिता, जो तिम्रो मनले सोचेकी छौं ।”
“पुरुषहरू स्वार्थी हुन्छन् । कोहि पैसाले प्यास मेटाउन चाहने । कोहि प्रेमको आगोले समेत नगल्ने । तपाईं कुन श्रेणीको ॽ” उसले मलाई कुरा घुमाएर छेड हानि । मसँग सबै कुराको जवाफ हुँदा हुँदै पनि प्रत्योत्तरमा चाहिँ ती कुरा भनिनँ । किन भने मैले ललिताको मन बुझिसकेको पढिसकेको थिएँ । ऊ प्रेम वासनाले आकुल थि । उसले होटल साहुनीलाई फोन लगाई र फेरि केके मगाई । रातले बिस्तारै घुम्टो ओडदै थियो । हामी पनि होटलको कोठा भित्र आफ्नो आफ्नो प्रकारको जीवन भोगाइका पीडाहरू कोठा भित्र बसेर आवेग बडाउदै थियौं र वैंशको मादकता पिउनै लागेका थियौं । यो मादकता होटलको कोठा भित्रको एकान्तमा । र यौवनको रागले होस गायव हुनै लागेको थियो । ललिताले विष नै घोली । बिर्को खोलेको रक्सीको बोतल मेरा मुखमा घोप्टाई । जबर्जस्त घोप्ट्याई । त्यस पछि खै के भयो मैले भन्न सकिन । निद्राबाट ब्युझे जसरी ब्युझदा मैले लगाएको पहिरन मात्र होइन ललिताका समेत लगाएका सबै लुगा छरपस्टै मिल्काइएको थियो । ऊ पनि नाङ्गै थि । म पनि नाङ्गै थिएँ ।
***
प्रतिक्रिया
-
४
