✍️ गोविन्द महत क्षेत्री
गजल – एक
भनिदेऊ प्रिया, यो मन ज्ञानी कसरी हुन्छ ?
तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ ?
धेरै भैसक्यो,पँधेरीमा त्यो नजर नजुधेको
सोच्दैछु,अब हाम्रो चिनाजानी कसरी हुन्छ !
सबै बराबर हुनुपर्छ, सिकेको हुँ तिमीबाटै
हे ईश्वर मेरै मात्र भाग्य बैमानी कसरी हुन्छ !
के भनौँ तिमीलाई, एक्लो ज्यान छैन ठाउँमा
चटक्कै मायालाई बिर्सने बानी कसरी हुन्छ ?
एउटै कुराको गुनासो हुन्छ चितामा मलाई
म जल्दा सारा यादहरू खरानी कसरी हुन्छ !
गजल – दुई
किन होला खर्चभन्दा धेरै कमाउन सकिन
जति थियो मसँग त्यसैमा अघाउन सकिन।
दुनियाँसँग लड्न सक्दिन निरीह छु सायद
त्यसैले त स्वदेशमै जीविका चलाउन सकिन।
सुगन्ध र आवाज फैलिन्छ रोक्न नसकेर हो
विडम्बना ! म कसैको अगाडि आउन सकिन।
मन दुखेको कुरा,मनलाई मात्र थाहा हुन्छ
चिल्लाएर बेसरी किन छट्पटाउन सकिन।
लठ्ठीको पीडा लठ्ठी समाउने हातलाई के थाहा
आधुनिक युग, कसैलाई सम्झाउन सकिन।
प्रतिक्रिया
-
४
