✍️ एलिसा एकलास
मेरो चाहना त
म ‘म’ भएरै तिम्री बन्ने थियो
त्यसैले त
सुदूरको गाउँबाट – दूरको तिम्रो सहर आइपुग्दासम्म
म ? – म थिएँ
जस्तो कि,
जून सिर्फ जून हुन्छे
जूनकीरी सिर्फ जूनकीरी
जून र जूनकीरीको दाँजो
असुहाउँदो अवश्य हुन्छ
त्यस्तै असुहाउँदो थियो
पहाड–पहाड दौडिएका यी पैतालाहरूमा
तिमीले लगाइदिएका
पहाडजत्रै अग्ला जुत्ता
त्यसैबेला, अनुमान गरेकी हुँ
तिम्रो एक चिम्टि सिन्दुरको जिम्मेवारी
पहाडजत्रै भारी बन्नेछ मेरा लागि
कुनै दिन
तिम्रो बजारले मसँग
फेयर एन्ड लब्लीको डिल गर्न खोज्दा
मैले मुसुक्क हाँसेर भनिदिएँ
गुराँसलाई गुलाबको अस्तित्वबोध छ – ईष्र्या छैन
अस्तित्वबोध ?
– हो अस्तित्वबोध
यसैकारण
विवाहको ब्रान्ड एम्बेसेडर बन्नुअगावै
मैले नगरेकी हुँ
तिम्रो दिलको रेडकार्पेटमा
पिरतिको क्याटवाक
प्रेम गर्दागर्दै पनि…
प्रतिक्रिया
-
४
