✍️ सरस पाण्डे

जुना ! तैँले मैले भनेको मानिनस् है । कतिन्जेल पछि लाग्छेस् त्यो केटाको ?“‘तेरो ब्वायफ्रेन्डभन्दा धनी छ भनेर डाह लाग्यो कि क्या हो तॅंलाई ! जुनाको उत्तर सुनेर म अवाक् हुन्छु । ऊ साह्रै राम्री छे । कलेजमा उसको शरीरमा आँखा गाड्ने केटाहरू थुप्रै छन् । साधारण परिवारबाट हुर्किएकी जुनाले आफ्ना रहरलाग्दा दिनहरू बडो कष्टले बिताएकी छे ।

ऊ र म स्कुलदेखिका साथी हौँ । उसको घरमा खानेकुरा नहुँदा कयौँ दिन मैले मेरो भाग काटेर खुवाएकी छु । हाम्रो सम्बन्धमा आजका दिनसम्म कहिल्यै फाटो आएको छैन । गाउॅंमा स्कुल पढुन्जेल उसको स्वभाव साधारण मान्छेका जस्तै थियो । जब हामी कलेज पढ्न काठमाडौँ पस्यौँ तबदेखि उसमा आएको परिवर्तनले म दङ्ग परेकी छु । उसको रूपको चर्चा कलेजभरि हुनथालेपछि ऊ बिस्तारै परिवर्तन हुन थाली ।

बेलाबेलामा भन्ने गर्थी, “हेर एलिजा ! सानो बेलामा मैले अभावमा जिन्दगी बिताएँ । न राम्रोसॅंग पेट भर्न पाएँ । न त मन परेका कपडा नै यो शरीरमा लगाउन पाएँ । मैले हरेक दशैँ आफन्तले दिएका जडौरीले मनाउॅंथेँ । तेरो बाबाले मलाई धेरै उपकार गर्नुभएको छ । नत्र मेरो काठमाडौँमा आएर पढ्ने धोको अधुरै रहन्थ्यो । कोठाभाडा तिर्न नपर्दा पनि कति राहत हुनेरहेछ यो सहरमा । पढेकी छु, रूपले पनि मलाई साथ दिएको छ । डेजन तैँले भनेजस्तो छैन । उसले रोजेसले जसरी धोका दिँदैन मलाई ।”

डेजन काठमाडौँमा जन्मिएको केटो, दुःख के हो भन्ने कुरा उसलाई थाहा छैन । आमा बैङ्कमा जागिरे, बाउ आर्मीको रिटायर्ड । पैसाको सिरानी हालेर हुर्किएको केटो जुनाको रूपको पछि लागेको छ । भर्खर ब्याचलर सुरु गरेको केटोलाई प्रेम, व्यवहार र जीवन भनेको रमाइलो हो भन्ने मात्र थाहा छ । रोजेसले पनि जुनाको पारिवारिक अवस्था थाहा पाएपछि छोडेको थियो । प्रेमको भूतले जुनालाई अन्धो बनाएको छ । कहिले सम्झिन्छे होला यसले ?

“हेलो ! एलिजा, आज म आउॅंदिन है । डेजनसॅंग छु, घरबाट फोन आएको थियो म कोठामै छु भनेको छु । तॅंलाई फोन आयो भने सुतिसकी भन्दे है ?” मेरो कुरै नसुनी फोन काटी जुनाले । दिनभरि डुल्थे ठिकै थियो । अब त रात पनि उसैसॅंग बिताउन थाली । एकपटक त्यसको घरमा कुरा गर्नुपर्ला । मलाई रातभरि निद्रा परेन । भोलिपल्ट बिहानै जुना कोठामा आई । उसले गर्दा मेरो निद्रा गायब भएको थियो ।

त्यसैले बोल्नै मन लागेन । शनिबार थियो नत्र कलेज जानहुन्थ्यो । उसले धेरैपटक बोलाउन खोजेकी थिई । म बोलिनॅं, त्यो दिन त्यसै बित्यो । “एलिजा, तैँले भनेको ठिक रहेछ । त्यो रात हामी ठमेल गएका थियौँ । डेजनको रिक्वेस्टमा सॅंगै बस्नका लागि म पनि राजी भएँ । जीवन उसैसॅंग बिताउने भएपछि त्यो रात मैले उसको प्रस्ताव स्वीकार गरेँ । म सम्पूर्ण रूपमा उसकी भएँ । हामी दुवै खुसी थियौँ । तर हेर् न तीन दिन भयो उसले मलाई फेसबुक, इन्स्टा, भाइबर सबैतिरबाट ब्लक गरेको छ । फोन पनि लाग्दैन ।”

जुनाको अनुहारमा मध्यरात परेको थियो । मसॅंग उसलाई सम्झाउने शब्दहरू बाँकी थिएन । यो दिन आउॅंनेमा म ढुक्क थिएँ । ऊ मेरो काखमा आएर सुती । झण्डै दुई घण्टा हामी चुपचाप भयौँ । पेटमा भोकले मिसकल दिएपछि मैले उसलाई उठाएँ । मेरो काख आँसुले भिजेको थियो । त्यसैगरी जुनाले पन्ध्र दिनसम्म आँसुले सिरानी भिजाई तर डेजनको अत्तोपत्तो थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर