चलचित्र निर्देशको रूपमा परिचय बनाएका छविशीत कुलुङ गजलकार तथा कविसमेत हुन् । शिलिचोङ गाउँपालिका – २, पेलुम्बा स्थायी घरमा भएका उनी हाल ललितपुरमा बस्छन् । उनले एभरेस्ट फिल्म एकेडेमी, मिन भवनमा निर्देशनसम्बन्धी अध्ययन गरेका छन् । केही गजल र कवितामा कलम चलाएका कुलुङले दयाराम लघु चलचित्र, रङ नम्बर लघुचित्र, लक्की हजब्याण्ड लघु चलचित्र, चारिछा भाषिक सर्ट फिल्म, पिप्पीपे भाषिक सर्ट फिल्म र केही म्यूजिक भिडियोहरूमासमेत काम गरिसकेका छन् । आजको आँगनमा चलचित्र निर्देशक, कवि तथा गजलकार कुलुङसँग साहित्य र कला क्षेत्रको विषयमा सेतोमाटोका लागि सहकर्मी मनु विद्रोहीले गरेको भलाकुसारी प्रस्तुत छः
तपाईं गजल लेख्ने राम्रो गजलकार, गजल कतिजति लेख्नु भयो, पछिल्लो समय के लेख्दै हुनुहुन्छ ?
लेख्न त ३ सय हाराहारी लेखेको छु । तर आफैँलाई मनपर्ने गजलहरू चाँहि ६० वटा जति छन् होला । पछिल्लो क्रममा फिल्मको बवद्यार्थी भएको कारणले एउटा सर्ट फिल्मको दोस्रो ड्राफ्टमा काम गरिराछु ।
गजल लेख्दा लेख्दै चलचित्र निर्देशनमा आकर्षित हुनु भयो । केही छोटा चलचित्र निर्देशन गर्नुभयो । गजलले सन्तुष्टि दिएन ?
गजलले सन्तुष्टि मात्रै नभएर सानो पहिचान पनि दिएको छ जस्तो लाग्छ । साहित्य सर्जकहरूको हुलमा सानो भए पनि गजलकारको परिचय पाएको छु । मैले केही कथा, कविता, मुक्तक र हाईकू पनि नलेखेको हैन । तर यी विधाहरूमध्ये बढीजसो गजल विधामा कलम चलाएको रहेछु । लेखेको गजल वाचन गरिरहदा अर्कै मजा लाग्छ । कुनैदिन हजारौं दर्शकहरूको सम्मुख भएर ‘महफिल’ बस्न मन छ । अहिले भने फिल्म मेकिङमै रमाईरहेको छु । सिकिरहेको छु ।
निर्देशकको आँखाबाट हेर्दा चलचित्रलाई कसरी बुझ्नु भएको छ ? कस्ता चलचित्रलाई तपाईले राम्रा चलचित्र मान्नु हुन्छ ?
खासमा मैले त चलचित्र बुझिसकेको छैन । भर्खर फिल्मको कखरा सक्काउँदैछु । यद्यपि चलचित्र हेरिरहदा दर्शकले आफूलाई पाउनु पर्छ । स्क्रिनमा देखिरहेको पात्र आफैँ जस्तो वा आफ्नै समाजको कोही जस्तो लाग्नु पर्छ । त्यसैले दर्शकको मन जित्नुलाई नै सायद चलचित्र भनिन्छ । र जुन चलचित्रले समाजलाई देखाएर दर्शकको जिब्रोमा मीठो स्वाद भर्न सक्छ त्यसैलाई राम्रो चलचित्र मान्छु ।
चलचित्र नगरीको आर्ट मुभि भर्सेज कमर्सियल मुभि बारेमा तपाईको बुझाई के छ ?
सामान्यतयाः आर्ट मुभि भन्ने बित्तिकै समाजको डार्क स्टोरी देखाईएको र कमर्सियल भन्ने बित्तिकै फर्मुलामा बनेको ४ फाईट ४ गीत टाईपको फिल्मलाई आम मान्छेहरूले बुझेका छन् । तर मलाई चाँहि त्यस्तो हो जस्तो लाग्दैन । सबै फिल्महरू आर्ट फिल्म नै हुन् । र जुन जुन फिल्मले लगानी उठाएर नाफा कमाउँछ त्यो कमर्सियल फिल्म हुन् । या भनौं कमर्सियल्ली सफल फिल्म ।
कमर्सियल्ली सफल हुनलाई कस्ता फिल्महरू बनाउँनु पर्छ ? कस्ता खाले चलचित्र बनाईयो भने सफल चलचित्र हुने रहेछ ?
सफल चलचित्र बनाउने संसारको एउटै मात्र सुत्र दर्शकको मन जित्नु नै हो । दर्शकलाई मन पर्नु नै हो ।चलचित्र आफैमा क्रिएटिभ फिल्ड । एक चोटी हाँसिसकेको जोक्समा अर्को चोटी हाँस्न नसकिए जस्तै एक चोटी देखिसकेको सिनमा अर्को चोटी मजा आउँदैन । त्यसैले संसारमा बनिसकेका टाईपको फिल्म भन्दा फरक देखाउँनु पर्ने हुन्छ । कि त नयाँ कथा वस्तु कि त पुरानो कथालाई नयाँ तरिकाले प्रिजेन्ट गर्न सक्नु पर्छ । चलचित्र मानौं एउटा नयाँ संसार हो भने त्यहाँका पात्र र परिवेश अर्को संसारको जस्तो हुनु भएन । म त भन्छु प्रत्येक चलचित्र नयाँ संसार जस्तो हुनु पर्छ । जुन चलचित्र हेरेर दर्शकहरूको दिमागले नयाँ स्वाद पावोस् । त्यसैले दर्शकहरूको स्वाद नै सफल फिल्मको मापक हो भन्छु ।
अहिले चलिरहेका अधिकांश चलचित्रहरू लगानी उठाउँन असफल देखिन्छन् । यसको खास कारण तपाईलाई के होला जस्तो लाग्छ ?
यसको मुख्य कारण नै मेकरहरूको कमजोरी हो। हरेक चलचित्र सफल वा असफल हुनुको जस निर्देशकलाई जान्छ।कलाकार,क्यामेरा, एडिट, कलर, साउण्ड र कस्ट्यूम आदि त साधनहरू हुन् । निर्देशकले कल्पना गरे अनुसार साधनलाई ठिक ठाउँमा प्रयोग गरेर चिटिक्क बनाउँने हो । चिटिक्कको चलचित्र बनाए सबैले रूचाउँछन् । नेपाल देश आफैमा चिटिक्क परेको मुलुक हो । यहाँका कथाहरू यहाँका दृश्यहरू आफैँमा सुन्दर छन् । तर मेकरहरूले चिटिक्क परेको दृश्यलाई म्यानेज गर्न सकिरहेका छैनन् । कथा राम्रो भएर मात्रै फिल्म राम्रो हुँदैन । जति राम्रो तरिकाले बुनिएको कथा छ उत्तिकै कलात्मक तरिकाले कथालाई क्यामेराको लेन्सबाट प्रस्तुत गर्न सक्नु पर्छ ।निर्देशक एस।एस। राजामौलिले ुबाहुबलिु,आर।आर।आर जस्ता मुभिका लागि करोडौ खर्चेर बनाएको भिएफ एक्सका धेरै सिनहरू नेपालमा सित्तैमा पाईन्छ । तर त्यस्ता सिनलाई नेपालका निर्देशकहरूले आफ्नो कथामा प्रस्तुत गर्न सकिरहेका छैनन् । त्यसैले मुख्यतयाः नेपाली चलचित्र स्तर माथी नउठ्नुमा मेकरहरूकै हात देख्छु । र पछिल्ला केही चलचित्रहरू भने चलचित्र लिट्रेसीको कारणले पनि डुबेका हुन् की भन्ने लागेको छ । हरेक चलचित्रका आ(आफ्नै कथ्य शैली भाष्य शैली हुन्छ । बलिउड हलिउडका फिल्म हेर्न बानी परेका दर्शकहरूले नेपाली स्वादको चाल नपाएका पनि हुन सक्छ । भलै,कुनै पनि चलचित्र राम्रो नराम्रो भन्ने हुँदैन । मात्रै कुनै चलचित्र बढि राम्रो र कुनै थोरै कम राम्रो मात्रै हुन्छ ।प्रत्येक चलचित्रको आफ्नै स्वाद हुन्छ । कुनैको पिरो कुनैको गुलियो । मानौं,कुनै फिल्मको कथा खोर्सानीको छ भने चटपटे पारखीहरूलाई बढी मन पर्छ भने चिनी चिया खानेलाई कम मन पर्न सक्छ । त्यस्तै, चिनीको कथामा गुलियोप्रेमीहरूलाई बढी र अरूलाई कम मन पर्न सक्छ । यसरी मेकरको स्वादसँग दर्शकहरूको स्वादमा फरकपन भएको कारणले केही सफल फिल्महरू भने असफल भएका उदाहरण छन्
तपाईले कस्ता चलचित्र मन पराउँनु हुन्छ ? मन परेका केही चलचित्रहरू सजेस्ट गर्दिनुस्न ?
मलाई रियस्टिक मुभिहरू खास मन पर्छ । जस्ले सामाजिक मुद्धामाथी सरल किसिमले तिखो प्रहार गरोस् ।फिक्सनल फिल्महरू कैलेकाहि मात्रै हेर्छु । मलाई छिमेकी देशका निर्देशक राजकुमार हिरानीका सबै फिल्महरू मन पर्छ । चाईनिज मेकर ज्याङ्यी मोउका प्राय फिल्महरू हेर्छु । त्यस्तै कोरियन निर्देशक किम्की दुकका धेरै फिल्म अरूलाई पनि सिफारिस गरेको छु । अनि चर्चित इरानी निर्देशक अब्बास किरोस्तामीका मास्टर पिसुटेस्ट अफ चेरीु क्लोज अप लगायत कुनै छुटाएको छैन । त्यस्तै जेम्स क्याम्रनको टाईटानिक धेरै पटक दोहोराएको छु । अर्का कोरियन निर्देशक लि जिङको ‘The way home’ (집으로), चाईनिज मेकर पेङ चेनको ‘ Walking to school’, हलिउड मेकर जासनको ‘Labour Day’ र पछिल्लो क्रममा हेरेको गंगुबाई,चार्ली,Darlings आदि मलाई पन परेको केही फिल्महरू हुन् ।
मेकरहरू नेपालमा चलचित्र बनाउँन गाह्रो छ, पर्याप्त लगानी गरिदिने निर्माताहरू छैन भन्छन् । यसको बारेमा तपाईको बुझाई कस्तो छ ?
फस्ट अफ अल, जुनसुकै काम-पेशा सजिलो हुँदैन जस्तो लाग्छ । चलचित्र चाँहि अझ किन गाह्रो छ भने यो टिम वर्क हो । चलचित्रभित्र साहित्य, संगित, नवरस, टेक्निकल पार्ट लगायत धेरै चिजको मिश्रण हुने हुँदा, धेरै थोक मध्ये एउटा थोक मात्रै बिग्रे पनि सग्लो चलचित्र बिग्रिन्छ। यस मानेमा अरू पेशा अरू फिल्ड भन्दा हल्का बढि सेन्सेटिभ भएको हुन सक्छ ।
तर लगानीकर्ताहरू त टन्नै छन् नि। बरू राम्रा मेकरहरूको चै खडेरी नै लागेको छ । तोरी मेकरमाथि त कसैले पनि लगानी गर्दैनन् नि । नेपालकै अवस्था हेर्ने हो भने पनि राम्रो निर्देशकको हात खाली छैन । भ्याई नभ्याई काम गरिरहेका छन् । अहिले आफूले काम गर्न सकेको खण्डमा विदेशी फण्डमा पनि काम गर्न सकिने च्यानलहरू थपिदै गैरहेका छन् । विशेष त काम देखाउँनु सक्नु पर्छ विदेशीहरू करोडौं लगानी गर्न तयार छन् । अझ भनौ लगानीको अवसर खोजिरहेका छन् ।
आफूले गरेका चलचित्र सम्बन्धीको कामबाट दर्शकको कस्तो प्रतिक्रिया पाउनु भयो ? कुनै सम्झिनुहुन्छ ?
त्यस्तो राम्रो प्रतिक्रिया पाउने खालको काम गर्ने समय पुगेको छ जस्तो लाग्दैन मलाई। मैले औपचारिक सिनेमा सिक्न थालेको भर्खर २÷३ बर्ष त हुँदैछ । एउटा टिचर हुनलाई कमसेकम १०र१२ बर्ष लागे जस्तै सामान्य फिल्म बनाउँनलाई पनि कम्तिमा १०÷१२ बर्षको अनुभब र सिकाई अवश्य चाहिने रहेछ । मैले अहिले जे जति गरिराछु ती सबै अभ्यास स्वरूप गर्दै आईरहेको छु । त्यसैले फिल्मबाट त्यस्तो प्रसंशा टाईपको प्रतिकृयाको आश पनि गरेको छैन र पाएको पनि छैन ।
तपाईँले निर्देशन गरेको पहिलो लघु चलचित्र ‘रङ नम्बर’को दाँजोमा अरुको खासै चर्चा भए जस्तो लागेन । हामीले थाहा नपाएको पो कि ? वास्तविकता के हो ?
जरूर । यो त म आफैले पनि महशुस गरेको कुरा हो । अघि पनि भने फिल्म टोटल्ली टिम वर्क हो । पहिलो काम गर्दाको टिम प्रोफेस्नल टिम थियो । अहिले मैले जति पनि काम गरिराछु सबै रअ अर्थात म जस्तै शिकारू छन् । मैले जिरो बजेटमा काम गरिराछु । त्यसैले पनि कल्पना गरे अनुसार आउटपुट दिन सकिरा छैन । अहिलै पनि साना तिना काम गर्न नसकिने हैन ,तर म आफैले लगानी गरेर फिल्म बनाउँने मनसायमा छैन । अरू निर्माताले पत्याउँने बेला भाको छैन भनौ या मैले काम देखाउँन सकेको छैन ।
‘वान म्यान आर्मी’ भनेजस्तै लेखन, निर्देशन, छायाङ्कन, सम्पादन, सबै आफैँ गर्दा असफल हुन्छ भन्छन्, विज्ञहरू । तर तपाईँ त एक्लै गर्न सक्छु जसरी सबैतिर हात हालेको छ नि के भन्नुहुन्छ ? विज्ञहरूको कुरासँग अलि मेल खाएन नि । तपाईंलाई के लाग्छ ?
पक्कै पनि । एउटै मान्छेले सबै काम गर्दा बिरलै मात्र गहिराईमा पुग्न सक्छन् । धेरै गरेसी एक विशेषमा दक्षता बढाउँन पनि सकिदैन । मेरो केसमा भने मलाई भविष्यमा डाईरेक्सन मात्रै गर्नु छ । भोलिका दिनमा सकेछु भने पनि आफूलाई एज डाईरेक्टर नै स्थापित हुने प्रयास गर्ने हो । तर अहिलेको मेरो कन्डिसन भनेको सिकाई नै हो । एउटा राम्रो डाईरेक्टरलाई फिल्मको सबै पार्टहरूको बारेमा ज्ञान हुन आवश्यक छ । त्यसैले क्यामेरा, एडिट, कलर, पोस्टर, लाईट र साउण्ड आदिको बारेमा निर्देशक जानकार हुनुपर्छ । मेरो प्राक्टिस सायद त्यसैको लागि हो । हाम्रा बजारका मेकरहरू मानौं एडिटर हुनलाई ‘कट टु कट’ जोड्नु मात्रै सम्झन्छन् । तर, कट टु कट जोड्नु त केही हैन त्यो त टुल चलाईदिए पुग्छ । तर असली एडिटर हुनलाई फिल्मको स्पीड, फिल्मको मर्म÷फिलमा खिचिईएको फुटेजलाई राख्न सक्नु हो । एडिट भनेको शरिरमा सास भर्नु जस्तै हो । त्यसैले मलाई यस्ता कुराहरूमा चासो÷रूची छ र आजकल सबैथोक चलाउँदै सिक्ने प्राक्टिसमा छु ।
कोरियामा हुनुहुन्थ्यो राम्रै कमाइ हुन्थ्यो होला । चलचित्र क्षेत्रमै स्थापित हुन्छु भनेर नेपाल फर्किनु भएको हो ? अहिलेसम्मको अनुभवले कतिको सम्भावना कस्तो भविष्य देख्नु भा छ ?
म यो क्षेत्रमा प्यासनले आएको हुँ ।भविष्यमा एउटा मेकरको सपना भनेकै फिचर फिल्म बनाउँनु नै हो । मेरो पनि त्यो बाहेक अर्को सपना छैन । तर मेरो लागि फिचर फिल्म बनाउँनु निकै परको कुरा हो । सिक्न र बुझ्नलाई अझै निकै उमेर कटाउँनै बाँकी छ। फेरि उमेर कटाएर मात्रै परिपक्क भईन्छ भन्ने त हैन कमसेकम सिक्नलाई समय त चाहिदो नै रहेछ । आफूले काम गर्न सकियो भने,आफूसँग सम्भावना छ भने फिल्म क्षेत्रमा भविष्य उज्यालो छ । यो फिल्म क्षेत्रमा एउटा राम्रो क्रिएशनको मूल्य नै करोडौ-अरबौं हुन सक्छ जुन यतिको मूल्यवान अरू ब्यवसाय सायदै छन् ।
एउटा राम्रो चलचित्र बनाउँन सक्ने दक्षता हाशिल गर्न कति बर्ष जति लाग्ने रहेछ ?
खै त्यो त मेकरमा भर पर्ने होला । कसैले ४÷५ बर्षमै पनि फिल्म बनाईराछन् । कसैले दुई दशकमा पनि एउटा फिल्म बनाउँन सकिरा छैन। हाम्रै चिनेका सरहरूले फिल्म पढेका १६र१७ बर्ष भैसके तर फिचर फिल्म बनाउँनु भा छैन । मेरो बारेमा भन्ने हो भने म त स्कृप्ट लेखनमै हराईराछु । फिल्म पढ्नु भन्दा अगाडी ‘ल देश खान्छ है’ भन्दै फाईनल लक्ड गरि राखेको सबै स्कृप्टहरूले डस्टबिन भरिसके । अलिली फिल्म बुझ्न थालेसी स्कृप्ट लेख्नै सकिरा छैन ।
अबको नयाँ योजनाहरू केके छन् ? यस क्षेत्रको सम्भावना तथा चुनौतीहरू के के देख्नु भयो ? तपाईंले ठूलो चलचित्र निर्देशन गरेको कहिलेसम्म देख्न पाइएला ?
केही लघु चलचित्रको कथामा काम गरिराछु । एउटा भाषिक फिल्मको स्कृप्ट लेख्न थालेको निकै भो बिट मार्न सकेको छैन । यदि लघु चलचित्रको कथा चित्त बुझिहाल्यो भने खिचेर फेस्टिबल तिर पठाउँने योजना छ । तर ५/७ वटा आईडियामा कथा लेखिसकेँ तर सबैमा केके मिलिराछैन । मिलाउँदैछु ।
यो क्षेत्रमा सम्भावना प्रचुर छ । किनकी विश्व सिने जगतको तुलनामा हाम्रो नेपाली सिने जगत धेरै तल छ। तल हुनु भनेको चानचुने चुनौति हैन । यी चुनौतिलाई अवसरको रूपमा बदल्न सके नेपाली फिल्मको स्तर धेरै माथि पुग्नेछ ।
अत्यमा कुरो रह्यो फिचर फिल्मको, जुन दिन मैले आफूलाई प्रुभ गरेर लगानीकर्ताको मन जित्नेछु । सायद त्यही दिन मेरो चलचित्र हेर्न पाईनेछ ।
प्रतिक्रिया
-
४
