✍️ घनश्याम अस्तित्व
पहाडको चुचुरोमा बसेर
पल्टाइरहेछु – आफ्नै जीन्दगीका पानाहरू
एसएलसी सर्टिफिकेट
हातमा पारेको रात
कुनै नमिठो निद्राले चिमोटिएर
म लखेटिएथे गाउँबाट
दुनियाले खै के आदत सिकाएथ्यो
म हुलिए पर्खालहरूभित्र सहरको
तर विश्वविद्यालयका भित्ताहरूले
जीन्दगी लेख्न सकेनन् – मेरो चेतनाको पानामा
सर्टिफिकेटको भोलाले
‘नमस्ते’गर्न वाहेक केही नसिकाएपछि
पहाडको चुचुरोमा बसेर
हेरिरहेछु – पहाडका महान सिर्जनाहरू
यतै छन्
आफूलाई बिर्सेर
‘गाउँ’ गाइरहने नदीहरू
हिड्ने – दौड्ने लय सिकाउँने
पृथ्वीका नसा – धुले गोरेटाहरू
जीन्दगीका महान गुरू
धैर्यताको पाठ पढाउँने ढुङ्गा र ठेसहरू
गीता मर्म बुझे जस्तो
बसेर जरै काट्दा पनि
पसिना र दुःख पुछ्ने पीपलबोट
आफ्नै नियतीले चोइटिदै
खस्नु पनि कतै पुग्नु बोल्ने झरनाहरू
यी सबै सबैको
महान सर्जक – यो पहाड
जसलाई झरीले बेस्सरी पिट्छ – भत्किन्छ
र पनि बिर्सन्न हरियो हाँस्न
घामको प्रेमले जल्छ, नाङ्गै बन्छ र बसन्त जन्माउँछ
सहरले सब – सबलाई ढोग्न सिकायो
बस् ! पहाड न हो यस्तो एउटा
जसले आफ्नै टाउकोमा टेक्न लगाएर पनि
आफुभन्दा बढी अग्लो बनाउँछ ।
प्रतिक्रिया
-
४
