✍️ लक्ष्मी रायमाझी
मुक्तक – एक
हिमालबाट नदी बगाउन पानीको खाँचो होला र ?
आमाको मातृत्वधारा कतै झुटो कतै साँचो होला र ?
कर्तव्यमा जीवन सुम्पिने पृथ्बी सरि आमासँग
स्नेह, ज्ञान, शिक्षा र अनुभवी भण्डार, काँचो होला र ?
मुक्तक – दुई
जेठाजुले बुहारीलाई छुन हुँदैन खै किन शास्त्रले भन्छ
फेरि पनि पवित्र सीता धमिल्याउने रावणको मन छ
पौराणिक कालदेखी धरासायीमा छ नारी अस्मिता
लक्ष्मी, सरस्वती, काली हुँदाहुँदै किन दुष्कर्म सहन्छ ?
मुक्तक – तीन
जिजीविषाको चिन्ताले एक एक मन हराएको छ
मानवीयताको खडेरीले सबैको जीवन हराएको छ
इर्ष्या द्वयषको सहरमा, कोपिलै चुडिन्छन् फुल्ने रहरमा,
सद्भावको अभावमा सौहाद्र धन हराएको छ।
मुक्तक – चार
छरिएर पोखियो अत्यधिक आभास बटुल्न खोजें
टिपेर उठाउँदै प्रेमिल विश्वास असुल्न खोजेँ
चादनीभरि जून छरियो, पसिनाभरि श्रम भरियो
थाहा छैन, आज किन तिमीलाई खास भुल्न खोजेँ ।
मुक्तक – पाँच
प्रेमको बजारमा सित्तैमा भेटिने यो माया सस्तो रहेछ
भोग र विलासितामा रनभुल्ल पार्ने माया कस्तो रहेछ
स्वार्थमा उनिएको माया रहुन्जेलको घाम छाया
कर्कलाको पातमाथि पानी अडेजस्तो जस्तो रहेछ।
प्रतिक्रिया
-
४
