✍️ प्रकाश आचार्य
विभेदकारी समाजमा
जन्मदै विभेदको जालोमा
जेलिएर जन्मेको एक मानिस हुँ म
पिरै पिरको चौघेरामा
अडिएको छ मेरो जिन्दगी
जहाँ छैन
सन्तुष्टिको फूलबारी
सुखको एकै आना बारी
र छैन दुःखको भारी बिसाउने एउटै चौतारी ।
छ त बरु आँसुले भरिएको एक थान गाग्री
अभावै अभाव कोचिएको एउटा झोला
र विरहको धून निकालिरहने एउटा बाँसुरी ।
भोको पेट भर्नलाई छैन एकै दाना अन्न
कठयाङ्ग्रिदो रातमा शीत बनेको छ मेरो हितैषी मित्र
बस्त्रको नाममा पहिरेको छु एउटा थोत्रो शुरुवाल
जहाँ भेट्टाउँछु मेरो फोटोसँगै नाम लेखिएको
एक देशको नागरिकता
परन्तु आज बाँचिरहेको जीवन अनुभूत गर्दा
लाग्दैन कि म कुनै
देशको नागरिक हुँ,
यदि म कुनै देशको
नागरिक भएको भए त
त्यसै देशको
ऐन–नियम एवम्
नैसर्गिक अधिकारहरुको
अनुशरण गरिरहेको हुन्थे
न कि फगत् अवलोकन गरिरहँदै
वगलीभित्रको एक थान नागरिकता
र बाँच्दै एउटा अनागरिक जिन्दगी ।
प्रतिक्रिया
-
४
