✍️ अरुण नदी खत्री
किशोरले आफ्नो छिमेकी भोलालाई पटक्कै मन पराउदैनथ्यो । भोलाले कुनै राम्रो काम गर्न लाग्यो भने पनि किशोरको मन दुख्ने गर्दथ्यो ।
एकदिन भोला किशोरकी आमासँग एक महिनाभित्र तिर्ने गरी पैसा सापटी माग्न पुग्यो । भोलाले भन्यो, “आमा मलाई हजुरले पाँच हजारजति पैसा सापटी दिनु पर्यो ।” किशोरकी आमाले आफूसँग पैसा नभएको जानकारी गराइन् । भोलाले भन्यो, “म हजुरलाई एक महिनाभित्र जसरी पनि तिर्छु । कृपया मलाई सहयोग गर्नुहोस् ।”
किशोर र किशोरकी आमाले भने, “तिमीहरूलाई कसैले पनि मन पराउँदैनन् । कसैले पनि मन नपराउनेलाई हामी पैसा भए पनि दिन सक्दैनौँ ।”
“हामीलाई कसले मन पराउदैनन् र आमा ?” भोलाले सोध्यो । “तिमीहरूलाई यो टोलमा कसैले पनि मन पराउँदैनन् ।” किशोरकी आमाले भनिन् ।
“हामीलाई किन मन पराउदैनन् आमा ?” भोलाले सोध्यो । “तिमीहरू साचो बोल्दैनौ रे ! जहिले पनि झुठो कुरा बोल्छौ रे ! त्यसैले तिमीहरूलाई कसैले पनि मन पराउँदैनन् ।” किशोर र किशोरकी आमाले भनिन् ।
केही समयपश्चात किशोरले अर्को छिमेकी भुवनसँग दुई महिनाभित्र तिर्ने कबोल गरेर दश हजार रुपैयाँ सापटी माग्यो । तर आफूले मागेर ल्याएको रकम एक वर्षसम्म पनि तिर्न सकेन । त्यसपछि किशोरलाई टोलका सबैले मन पराउन छाडे ।
एक दिन किशोरकी आमा भोलासँग पूजाका लागि फूल माग्न पुगिन् । भोलाका बगैँचामा सुन्दर फूल फुलेका थिए ।
त्यस्तैमा भोलाले नम्र स्वरमा भन्यो, “हजुरहरूले हामीलाई टोलमा कसैले पनि मन पराउँदैनन् भन्नु भएको थियो । सबैले मन नपराउने व्यक्तिका घरमा फूल माग्न आउन कसरी सक्नुभयो नि ?” किशोरकी आमाले कुनै जवाफ दिइनन् । जुन बाटो आएकी थिइन्, फरक्क त्यही बाटो फर्किन ।
प्रतिक्रिया
-
४
