काठमाडौँ – राजतन्त्रको अन्त्य र जनवादी गणतन्त्रको स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको ‘जनयुद्ध’ को स्मरणमा नेकपा (माओवादी केन्द्र)ले सोमबार देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘जनयुद्ध दिवस’ मनाएको छ ।

माओवादीले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरे ।

कञ्चनपुरको महेन्द्रनगरमा पनि प्रधानमन्त्रीको प्रमुख आथित्यतामा नै सो दिवस मनाइयो । मधेस प्रदेश सरकारले जनयुद्धका कमान्डरसमेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरेर दिवस मनायो ।

सो समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले देशको राजनीतिक तथा सामाजिक परिवर्तन सहितको एउटा युग परिवर्तनका लागि नेपाली जनताले सचेततापूर्वक नयाँ ढङ्गको सङ्घर्ष थालनी गरेको दिनका रुपमा फागुन १ लाई स्मरण गरे।

उनले भने, “आजकै दिन २७ वर्षपहिले नयाँ राज्य व्यवस्था तथा गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले जनयुद्ध सुरु गरेका थिए । जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत त्यसअघि र पछि भएका क्रान्ति तथा आन्दोलनबाट देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको नयाँ राज्य व्यवस्था स्थापित भएको छ ।”

सामाजिक न्याय र समानताको पक्षमा आफूलाई उभ्याउँदै माओवादीले सुरु गरेको जनयुद्धको बलमा नै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो ।

समावेशी, समानुपातिक प्रतिनिधित्व र सबै धर्मलाई समान रुपमा हेर्ने उद्देश्यका साथ धर्मनिरपेक्षता लागू भएको हो । सङ्घीयता र अधिकार सम्पन्न स्थानीय निकायको स्थापनाको पछाडि पनि माओवादी जनयुद्धको अहम् भूमिका रहेको छ ।

यस दिवसको स्मरणमा आज सरकारले देशव्यापी रुपमा सार्वजनिक बिदा दियो । जनयुद्धका नेतृत्वकर्ता प्रचण्डका शब्दका जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति हो । “जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठीक ढङ्गले स्थापित गर्ने जिम्मेवारी भने तपाईँ हाम्रै छ । हामीले नै यसलाई आम जनताका बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतर्फ लैजानुपर्ने आवश्यकता छ ।”

विसं २०५२ फागुन १ गतेदेखि सुरु भएको सशस्त्र जनक्रान्ति २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा पुगेपछि औपचारिकरूपमा अन्त्य भएको थियो ।

जनयुद्ध हाँकेको माओवादी पार्टी विभिन्न टुटफुट र एकताको प्रक्रियामा अगाडि बढे पनि त्यसको मूल पहलकर्ताका रूपमा माओवादी केन्द्र क्रियाशील छ । तत्कालीन शीर्ष नेतृत्व विभिन्न धारामा विभक्त भए पनि मुख्य धाराका रुपमा प्रचण्ड नेतृत्वको माओवादी नै क्रियाशील छ ।

जनयुद्धकालका एक नेता एवम् सांस्कृतिक चिन्तक ईश्वरचन्द्र ज्ञवालीका अनुसार जनयुद्धको सौन्दर्य भनेकै शहीद तथा बेपत्ता योद्धाका सपना, घाइते अपाङ्ग योद्धाका आकाङ्क्षा, आम नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने हो, जुन काम अझै पूरा हुन बाँकी नै छ ।

उनी भन्छन्, “जुन जनयुद्धका अभियन्ता माओवादीहरूले पूरा गर्ने उद्यत र उद्यम गर्नु आवश्यक छ । हाम्रो नीतिलाई अरूले पूरा गर्दैनन् पनि । आफूले जन्माएको बालक आफैँले हुर्काउनु प्राकृतिक नियम नै हो । त्यसका लागि नै तल्लो वर्गका समस्या, आवश्यकता र आकाङ्क्षालाई हामीले आत्मसात् गर्नै पर्छ ।” फागुन १ ऐतिहासिक दिन भएकाले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपर्थ्यो भन्ने आवाज उठेको थियो ।

ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै माओवादी सम्बद्ध नेता तथा कार्यकर्ताले खुसी व्यक्त गरेका छन् । १० वर्षका क्रममा शहादत प्राप्त गरेका योद्धा, बेपत्ता तथा घाइतेका स्मरणमा सोमबार साँझ देशव्यापी रूपमा नै दीप प्रज्वलन गरिएको हो।

यसअघि नै कर्णाली र बाग्मती प्रदेश सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सङ्घीय सरकारले नै सार्वजनिक बिदा दिएपछि यसको महत्व र गरिमामा वृद्धि भएको छ । माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलका शब्दमा जनयुद्ध आजको व्यवस्थाको जननी हो । विभेदको अन्त र समानताको आधार हो ।

उनले भने, “जनयुद्ध सुरु भएको दिन फागुन १ लाई आधिकारिकतासहित सम्मानित गरेकामा नेपाल सरकार, बागमती प्रदेश सरकार र कर्णाली प्रदेश सरकारलाई हार्दिक धन्यवाद ।”

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पनि सरकारको पछिल्लो निर्णयलाई सम्पूर्ण शहीद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिप्रतिको सम्मानका रूपमा सार्वजनिक बिदालाई अर्थ्याएका थिए ।

प्रधानमन्त्री दाहालले भने, “यो परिवर्तनलाई अब सामाजिक, आर्थिक रुपान्तरणतर्फ अगाडि बढाउने सङ्कल्प पनि हो ।” यो दिवसलाई स्मरण गर्दै अहिले आफूहरू सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढेको उनको भनाइ थियो ।

माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुआत गरेको थियो ।

विद्रोह सुरु भएको १४ दिनपछि गोरखाको पन्द्रङ, जराङ हाल बारपाक सुलिकोट गापा–८ मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दीलबहादुर रम्तेलको शहादत प्राप्त भएको थियो । राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो ।

जनयुद्धका कारण पिछडिएका, उपेक्षित, विकासबाट वञ्चित गाउँहरू पनि अभूतपूर्व रुपमा ब्युँझेका छन् ।

ग्रामीण र देहाती जनतामा समेत राजनीति पुगेको छ र आफ्नो हक, अधिकारका लागि, शोषणबाट मुक्तिका लागि माओवादी आन्दोलनको मूल्य र त्यसले दिएको ज्ञानको प्रकाश सञ्चार हुन पुगेको जनसांस्कृतिक महासङ्घ नेपालका पूर्वअध्यक्ष ज्ञवालीको भनाइ छ ।

उनले भने, “मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, थारू समुदायहरुमा जुन सचेतना, जागरण र आफ्नो पहिचानप्रतिको जागरुकता आएको छ । त्यो परिवर्तन जनयुद्धकै देन हो भन्नेमा दुईमत नहोला ।”

दुई सय ५० वर्षको सामन्तवादी राज्यसत्ताको प्रतिनिधि रुप राजतन्त्रको अवसान र गणतन्त्रको स्थापना, एकात्मक र केन्द्रीकृत राज्यको पुनर्संरचनाद्वारा सङ्घीयताको निर्माण र समानुपातिक, समावेशिताको विधिको स्थापना, आरक्षणका माध्यमबाट महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिमका स्थानीय निकायदेखि राज्यको माथिल्लो तहसम्म अनिवार्य प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता माओवादी विद्रोहको उपलब्धि हो ।

केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थामा पहुँच हुनेलाई मात्र विनियोजन हुँदै आएको राज्यको ढुकुटी सङ्घीयताले गर्दा विकेन्द्रित रुपमा विनियोजन हुन थालेको छ । राज्यको बजेट, राज्यको कोष समानुपातिक रुपमा तल तलसम्म पुग्न, वितरण हुन थाल्नुको पछाडि माओवादीको भूमिका छ ।

स्थानीय निकायमा जनताले नै योजना बुन्न थालेका छन् र गाउँगाउँसम्म जनता आफ्नो अनुकूलतामा बजेट बनाउन थालेका छन् । यसले समानुपातिक रुपमा देशका सबै क्षेत्रलाई समेट्न थालेको छ । गाउँमै प्रशासनिक निकायहरू पुगेका र विकासका आधार र अवसरहरू पनि प्राप्त हुन थालेका छन् ।

नेकपाका महासचिव नेत्रविक्रम चन्दका अनुसार आजको दिन नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व हो । उनले भने, “जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त ग¥यो । किसान, मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुस्लिम सबैलाई एकतावद्ध गरेर विद्रोहमा परिचालित ग¥यो र एक स्तरको मुक्ति दिलायो ।”

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शुभकामना सन्देशमार्फत माओवादीले नेतृत्व गरेको भए पनि जनयुद्ध, पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवम् परिवर्तनप्रेमी नेपालीको साझा दिवस हो ।

प्रतिक्रिया

सम्बन्धित खवर