
राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय समूहको संसदीय दलको बैठकले गरेको हो ।
बैठकमा पार्टीको तत्काल कायम रहेका ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सरकारमा जाने निर्णय गरेको हो । जसपाका कार्यकारी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने निर्णय गरेको छ । पुन:स्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।
जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी थिए । जसपाको दुवै सदनका सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा ३ सांसद सहित ३५ सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्त ठाकुरको पक्षका केही सांसद पनि यादव पक्षमा आएको बताइएको छ ।
महन्थ ठाकुरको पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाललगायतका सांसदहरु उपेन्द्र यादवको पक्षमा आएको उपेन्द्र पक्षीय नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताए । उनले अझै केही सांसदहरु उपत्यका बाहिर रहेको कारण बैठकमा आउन नसकेको र चारजना सांसद अझै सम्पर्कमा रहेको दावी समेत गरे ।
अरु चार सांसद को को हुन् भन्नेबारे उनले बताउन चाहेनन् । यसअघि उपेन्द्र यादवको साथ छाडेर विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, राम दुलारी खत्वे महन्थ ठाकुरको पक्षमा लागेका थिए ।
प्रतिक्रिया
-
४
-
१०