काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन्।
बिहीवार ललितपुरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरु भएको उल्लेख गरे।
अध्यक्ष दाहालले तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि उल्लेख गरे। नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने पनि उनको भनाइ छ।
प्रचण्डको भनाइ उनकै शब्दमा
‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ। के विश्वासमा गरेको थियो भने अब तत्काल भूमिगत जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन। त्यो अवस्थामा हिजो एउटा चरण त हामीभन्दा चर्को क्रान्तिकारी कुरा गर्ने, झापा विद्रोह। माले कालका थुप्रो नेता, कार्यकर्ता त्यहाँ छन्, अहिले पनि समाजवादतिरै जाने हो भन्ने पनि छन् भने हामी किन ध्रुविकृत नहुने भनेर गरियो।
त्यो पनि अरुले गरेका भएन, तपाईहरुलाई प्रचण्डले के के गर्छ गर्छ भन्ने भएको थियो होला, तर जसरी एकताकेन्द्र बनाउँदा जोखिम उठाउन खोजिएको थियो। त्यो एकताबाट कम्युनिष्टहरुलाई सबैलाई एक ठाउँमा राखेर समाजवादतिर लानुपर्छ र सकिन्छ भन्ने विश्वासले हामीले नै अझ मेरो नै प्रश्तावमा काम अघि बढेको थियो।
त्यो कतिबेला दुर्घटनामा पर्यो भने जतिबेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाति, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रिय समितिको दोस्रो बैठकमा सबै पूर्व एमालेको पनि अत्याधिक ठूलो संख्या ८/१० जना छोडेर अबको नेता अध्यक्ष प्रचण्ड हो, भन्ने ठाउँमा पुग्यो त्यसपछि षड्यन्त्र शुरु भयो। भयानक षड्यन्त्र शुरु भयो।
आजकाल तपाईहरुले सुन्नुभएको होला, एमालेका केही नेताहरु भन्ने गर्छन्, अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि। उनीहरु नै भन्छन् हामीले भन्नुपर्दैन। हामीले एकता गर्दा ६०/४० भनियो। यदि माओवादी नफुटेको भए त्यो हुँदैन थियो। हामी ६० हुन्थ्यौँ, एमाले ४० हुन्थ्यो, माओवादी ६० भएको भए पार्टी फुट्दैन थियो। हामी साच्चै समाजवादतिर त्यो पार्टीलाई लिएर जान्थ्यौँ। त्यसैले एमालेका सबै खराब छन् भन्ने पनि सोच्नु हुँदैन। एमालेभित्र हामीले ३ वर्ष बसेर हेरेका छौँ नि। त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार नै कम्युनिष्ट छन्। क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने छन्। तर लिडरशीप भनेको चाबी जस्तो हो।
नेतृत्वले यति धेरै भ्रम दिएर राखेको छ कि तिनीहरुलाई बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई। एमालेभित्रका कम्युनिष्टहरु प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य छन्। हामीले तिनलाई मुक्त गर्नुछ। तिनलाई मुक्त गरेर तिनको पनि नेतृत्व हामीले गर्नुछ। त्यसैले ठूलो सोचाइ राखेर क्रान्ति गर्नुपर्छ।
देशभर अब माओवादी ध्रुवीकरणलाई हामी सबैले सहयोग गर्नुपर्छ र प्रतिक्रियावादीहरुले देश भित्रका र देश बाहिरका सबैले माओवादीलाई क्षत विक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओवादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने जो षड्यन्त्र भएको छ, त्यो षड्यन्त्रलाई परास्त गर्नु माओवादी आन्दोलनका सहभागी सबैका निम्ति त जीवनमरणको प्रश्न छँदै छ।
राष्ट्रको निम्ति र आम जनता र समावेी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको संघीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षता जस्ता कुराहरु माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन्। अरु कुनै पार्टी र विचारबाट यो भएको होइन। माओवादी कमजोर हुने बित्तिकै कसरी हामीले प्राप्त गरेका उपलब्धिमाथि हमला हुँदोरहेछ भन्ने कुरा गत साल देखि नै हाल्यौँ।
अझै पनि त्यो खतरा टरेको छैन। अहिले पनि माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई, मूल्य, मान्यताहरुलाई प्रहार गर्ने, क्षत,विक्षत पार्ने षड्यन्त्र रोकिएको छैन। प्रतिक्रियावादीहरुको रणनीति अहिले पनि माओावदीलाई घेरा हालेर सखाप पार्ने नै छ। हाम्रो रणनीति माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने नै छ। अब एकपटक फेरि क्रान्ति प्रक्रियालाई वैज्ञानिक समाजवादतिरको हाम्रो यात्रालाई माओवादीहरुकै सक्रियतामा अघि बढाउने बलियो आधार निर्माण हुँदैछ।
प्रतिक्रिया
-
४
