काठमाडौँ – काठमाडौँ उपत्यकाका शिक्षण संस्था सञ्चालनमा लचकता अपनाइने भएको छ ।

करिब छ महिनादेखि जारी निषेधाज्ञा खुकुलो पार्दै बुधबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विद्यालयहरू सरकारबाट जारी ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही यही २० गते आइतबारबाट सञ्चालन गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।

विद्यालय सञ्चालन गर्न स्थानीय तहहरूले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डी–सीसीएमसी)सँग समन्वय गर्नुपर्ने बताइएको छ ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी जारी निषेधाज्ञा १७ गते बिहीबारबाट भदौ मसान्तसम्म थप गरिएको जानकारी उनले दिए ।

त्यस्तै चलचित्र भवन, सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय डिस्को–डान्स, दोहोरी रेस्टुराँ, क्लब तथा पप बार पनि खुला गरिएका छन् ।

२०७७ साल चैतबाट बन्द यी व्यवसाय करिब छ महिनापछि खुलेका हुन् ।

त्यस्तै अनावश्यक भीडभाड, सभा जुलुस, जात्रा महोत्सव, भोज र चाडपर्व मनाउनसमेत निषेध गरिएको छ । घरपरिवार तथा आफन्त मित्रसँग चाडपर्व मनाउनै परेमा स्वास्थ्य मापदण्ड पालना गरी न्यून व्यक्तिको उपस्थितिमा साङ्केतिक रूपमा मनाउन सकिने निर्णय गरेको छ ।

सर्वसाधारणलाई आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना अनिवार्य गरिएको छ ।

जारी निषेधाज्ञामा पनि सञ्चालन भइरहेका खाद्य तथा किराना पसल, सपिङ मल, सुपर मार्केट, उद्योग व्यवसाय, चलचित्र घर, होटल तथा रेस्टुराँ, दोहोरी तथा डान्स रेस्टुराँ, बार तथा क्लबहरूलाई स्मार्ट लकडाउन प्रावधानअनुसारको मापदण्ड अनिवार्य गरिएको प्रजिअ पराजुलीले बताए ।

त्यस्तै स्थानीय ढुवानी बिहान ९ः०० देखि ११ः०० बजेसम्म र साँझ ४ः०० देखि ७ः०० बजेसम्म तोकिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्य ढुवानी राति ९ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्मलाई छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर