काठमाडौँ / सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले साउन २५ देखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापति जिम्मेवारी दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्।

रथी शर्मा हाल बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारीमा छन्। सन् १९६४ जनवरी ५ मा काठमाडौँमा जन्मिनुभएका शर्मा आगामी भदौ २५ गतेदेखि सेनाको ४४औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै छन् । भारतबाट डिफेन्स कोर्स गरेका रथी शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नात्तकोत्तर गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोस्थित नेपाली शान्ति मिसनको नेतृत्व अनुभव सम्हाल्नुभएका रथी शर्माको सैनिक सङ्गठनमा बौद्धिक र भद्र व्यक्तिका रुपमा परिचय स्थापित छ ।

नेपाली सेनामा प्रधानसेनापति अवकाशको एक महिनाअघिबाटै बिदा बस्ने परम्परा छ । उक्त परम्पराअनुसार प्रधानसेनापति थापा साउन २५ गतेदेखि बिदामा बस्नेछन् ।

प्रधानसेनापति थापाको सैनिक मुख्यालय जङ्गी अड्डाले औपचारिक बिदाइ भने भदौ २५ गर्नेछ । नेतृत्व सहज हस्तान्तरण गर्ने क्रममा प्रधानसेनापति थापाले जेठ २३ बाटै उक्त प्रक्रिया शुरु गरेका हुन् ।

उनले आफ्नो तीन वर्षे नेतृत्वकालमा सङ्गठनमा विधि र पद्धति सुधारको विषयलाई प्राथमिकताका साथ अघि बढाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर