✍️ जनक कार्की
महेश पौडेल समकालीन साहित्यको सक्रिय साहित्यकार हुन् । उनले कथा, अनुवाद, कविता, समालोचना, उपन्यास गरेर एक दर्जनभन्दा बढी साहित्यिक कृति नेपाली साहित्यलाई उपहार दिइसकेका छन् । उनको कथा सङ्ग्रह ‘अपरिचित अनुहार’ अहिले बजारमा छ । त्यहीँ सोही कथा सङ्ग्रह र साहित्यका विविध विषयमा सेतोमाटो डटकमका सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सारसङ्क्षेप प्रस्तुत छ ः
१. तपाईं कविता हिँडनुहुन्छ, कथा पिउनुहुन्छ, समीक्षा खानुहुन्छ, अनुवाद लगाउनुहुन्छ, उपन्यास पहिरनुहुन्छ । समग्रमा साहित्य जिउनुहुन्छ । उठेदेखि निदाएसम्म साहित्य सोच्नुहुन्छ । कसरी यो जिम्मेवारी, रहर, रुचि र साहित्य प्रेमलाई निभाउन भ्याउनुभएको छ ?
वास्तवमा म साहित्यकर्मी हुँ । एक साहित्यकर्मी हुनुका नाताले मेरो जीवनचर्याको केन्द्रमा साहित्य छ । मैले पढेको पनि साहित्य । पढाउने पनि साहित्य । परिचयको पथ पनि साहित्य, र जीविकोपार्जनको माध्यम पनि भाषा–साहित्य । त्यसैले, ‘जागिर’ भनेर अन्य साथीहरूले अरू नै पेसाको नाम लिइरहँदा, र साहित्यलाई रहरको वा अतिरिक्त रुचिको विषय भनिरहँदा, मेरो चैँ सबै कुरा साहित्य भएको छ । त्यसैले, गर्नुपर्ने नै यही एकमात्र काम भएकोले र अरू केही पनि गर्नुपर्ने नभएकोले, खोलालाई बग्नु र बगरिहनु जति सहज र प्राकृतिक छ, मलाई साहित्यकर्म गरिरहन त्यस्तै छ । अर्को कुरा, काम एकातिर र रुचि अर्कातिर रहन्छ, मान्छेमा मानसिक द्वन्द्व उत्पन्न हुन्छ । तर मेरो काम जता छ, रुचि पनि त्यतै । त्यसैले मभित्र कुनै द्वन्द्व छैन । यस्तो द्वन्द्व मात्रै भइदिएन भने काम स्वतः हुन्छ । मेरो पनि भएको त्यही हो ।
२. तपाईं एकपछि अर्को साहित्यिक कर्म लगातार गर्नुहुन्छ । तपाईंको ऊर्जाको स्रोत के हो ?
मेरो ऊर्जाको श्रोत मेरो परिवार हो । मेरो घरको सम्पूर्ण काम मेरी श्रीमती रमाले सम्हालेकी छिन्, र मलाई साहित्यकर्मका लागि फुक्काफाल छोडेकी छिन् । अर्को कुरा, मैले गर्ने काममा उनको, मेरा आमाबुवाको, दिदीहरूको, दाइभाइको, काकाकाकी र मेरो ससुरालीतिरका सबैको पूर्ण समर्थन छ । कसैले पनि मलाई बाटो बिराएर यो ‘अनुत्पादक’ क्षेत्रमा लागेको भन्नुहुन्न । बरू मेरो साहित्य पढ्नुहुन्छ । कार्यक्रममा सगौरव आउनुहुन्छ, र मैले आर्जन गरेका साना–ठूला उपलब्धिहरूमा गौरव गर्नुहुन्छ । मैले पाठक, प्रकाशक, साथीभाइ र विश्वविद्यालयमा काम गर्ने विभागको नेतृत्व र त्यहाँका सहकर्मी साथीहरू पनि त्यस्तै पाएको छु । मिडियाको प्रेम र साथ छ । यसले एउटा लेखकको ऊर्जालाई चरमचुलीमा पु¥याउँछ । मेरो हकमा पनि भएको त्यही नै हो ।
३. साहित्य पठन र लेखन दुवै एउटा लत हो भन्छन् । यो लतको फाइदा र बेफाइदा के होलान ?
लत हो । तर लत मात्रै चाहिँ होइन । रहरले पढ्दासम्म लत हो । तर जब भोलि पढाउनका लागि, पढेर केही लेख्नका लागि, लेखेर केही तर्क गर्नका लागि, अथवा आफूले सोचेको परिवर्तन पाठकहरूमा आओस् भन्नका लागि वा विश्वसँग कुनै संवाद गर्नका लागि लेखिन्छ, लतबाट त्यो पठन वा लेखन जिम्मेवारीमा परिणत भइदिन्छ । ममा लत र जिम्मेवारीको मात्र बराबरै छ । यस लत वा जिम्मेवारीको फाइदा के भने फुर्सद पनि फजुल कुरामा व्यतीत हुँदैन । दुव्र्यसनतिर लागिँदैन । अलिकति समय बच्यो कि पढ्ने–लेख्ने । यो त सकारात्मक काम हो नि ! र बेफाइदा चैँ के भने, घरमा, परिवारमा, गाउँमा, छिमेकमा हुने उत्सव वा घटने घटनामा सामेल हुन त्यति भ्याइँदैन । यसले एकलकाटे होइन्छ कि, अथवा बेपर्वाह भएको आरोप लाग्छ कि भन्ने चाहिँ रहन्छ । यसमा आफूलाई सन्तुलनमा राख्नु पर्छद ।
४. ‘अपरिचित अनुहार’ कथासङ्ग्रह भर्खरै लोकार्पण भएको तपाईंको पछिल्लो कृति हो । यस कथाका कथारूलाई खोज्न कति समय लगाउनु भयो ?
२०७४ सालमा मेरो कथा सङ्ग्रह ‘त्यसपछि फुलेन गोदावरी’ आयो । त्यसपछि लेखेका कथा अहिले आए । भनेपछि, २०७४ देखि २०७८ सम्म लेखेका कथा ‘अपरिचित अनुहार’मा आएका छन् । यसमा अठार थान कथा छन् ।
५. ‘अपरिचित अनुहार’लाई किन परिचित बनाउन खोज्नुभयो ? के परिचित बनेपछि उनीहरूको समस्या हल हुने सम्भावना होला र ?
लेखकको काम नै उज्यालो नपुगेको ठाउँमा उज्यालो पु¥याउने हो । ध्यान नपुगेका ठाउँमा ध्यान तान्ने हो । छोडिएका अथवा नेपथ्यमा पारिएका पात्रहरूलाई समाज र सरकारको आँखामा ल्याउने हो । मैले त्यही गरेको हुँ । मेरो कथामा निर्वासनको इतिहास लेख्नेले छोडेका बालबालिका, क्रान्तिले छोडेकी बूढी आमा, सौन्दर्यशास्त्रले छोडेको कुरूप पुरुष, लैङ्गिक सम्बन्धले छोडेकी अपाङ्ग महिला अथवा सम्पन्नताले छोडको एउटा गरिब साधु छन् । अब यिनलाई लेखेर यिनका समस्याको समाधान नै होला भन्न त म सक्दिनँ, तर ध्यान त तानियो । कुनै संवेदनशील व्यक्ति वा शासकको आँखा वा कानमा यो कुरा पुग्यो भने त केही न कसो नहोला !
६. तपाईं कवि, समालोचक, गीतकार, उपन्यासकार, अनुवादक, कथाकार । अब साहित्यको कुन विधामा काम गर्ने इच्छा र बाँकी छ ?
यी सबै मेरा अभ्यासका पाटा हुन् । म ठान्छु, एकचोटि पाउने जीवनमा मान्छेले आफ्नो क्षमताभित्रका सबै संभावनाको परख गरेर हेर्नुचाहिँ पर्छ । मेरो लेखनका पाटामा धेरेथोर काम भएको छ । अब मलाई गीत र रङ्गमञ्चको क्षेत्रमा अझै रहर पुगेको छैन । म त्यो मौका र समयको पर्खाइमा छु ।
७. तपाईंलाई मनपर्ने पाँचवटा कथा सङ्ग्रह र कथाकारको नाम लिनु पर्दा कसलाई सम्झिनुहुन्छ ?
मनपर्ने त अनेक छन् । तर पाँच सङ्ग्रहको नाम लिनुपर्दा भवानी भिक्षुको ‘मैया साहेब’, इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’, देवकुमारी थापाका प्रतिनिधि कथा, र गोविन्द बहादुर मल्ल गोठालेको ‘प्रेम र मृत्यु’ र कृष्ण धरावासीको ‘झोला’ हुन् । अब कथा विशेषको कुरा गर्दा मेरो मनका गडेका पाँच कथाचाहिँ बीपीको ‘मधेसतिर’, भिक्षुको ‘मेरो सानो साथी’, गोठालेको ‘मैले सरिताको हत्या गरेँ’, कृष्ण धरावासीको ‘झोला’ र डा. राजेन्द्र विमलको ‘पोस्टमोर्टेम’ हुन् ।
८. साहित्य सिर्जना गर्न जन्मजात गुण लिएर आउनुपर्छ कि यही समाजबाट सिक्न जरूरी छ ?
साहित्य सिर्जना पूर्णरूपमा आर्जित सिप हो । त्यसैले, यसलाई समाजबाटै सिक्ने हो । जन्मजात आउने भनेको स्वभाव हो । त्यो स्वभाव साहित्यमै लाग्छ भन्ने हुँदैन । त्यसलाई त आत्मबलले साहित्यमा लगाउने हो नि ।
९. हामी पाठकलाई के लाग्छ भने तपाईं निकै सक्रिय हुनुहुन्छ । लेखनका विभिन्न पाटाहरूमा हामी सोच्छौँ । तपाईं बिहान कथा, दिउँसो कविता, साझ अनुवाद लेख्नुहुन्छ होला । वास्तवमा तपाईंको समय तालिका कस्तो हुन्छ ?
वास्तवमा म कुनै तालिका नै नभएको मान्छे हुँ । जब एउटा कुरामा लागेको हुन्छु, नसकुन्जेल त्यही मात्रै गर्छु । एउटा काम गर्दागर्दै अर्को केही कुरा फुर्याे भने डायरीमा टिपेर राख्छु । जब हातको काम सकिन्छ, अनि त्यता लाग्छु । मेरो काममा नियमितता छैन । कहिले एउटा कथा एकै दिनमा सक्छु । कहिले हप्तौँसम्म एक अक्षर पनि लेख्दिनँ । विसङ्गत छ मेरो दिनचर्या । कुनै नियमितता छैन ।
१०. एउटा मूलभावलाई एउटा मात्र उद्देश्य लिएर लेखिएको एक बैठकमै सक्याउन सकिने आख्यायिकालाई कथा हो भनेर भनिन्छ । एउटा समालोचक र कथाकारको हौसियतले कथालाई कसरी परिभाषित गर्नुहुन्छ ?
तपाईंको बुझाइसँग म सहमत छु । एउटा कथा एक बसाइमै लेख्छु । अरूले पनि सायद त्यसै गर्छन् । अँ, पुनर्लेखन र सम्पादन त अनेकौँ पटक चल्छ नै ।
११. तपाईंले यो कथा सङ्ग्रह भवानी भिक्षुलाई समर्पण गर्नुभएको छ । भवानी भिक्षुको शैलीलाई बोकेर हिँडन खोजेको छु पनि भन्नुभएको छ क्यारे । भवानी भिक्षुको साहित्यमा के पाउनुहुन्छ जसले तपाईंलाई यति धेरै प्रभावित गर्यो ?
म भवानी भिक्षुबाट प्रभावित जरुर छु । तर मैले कतै पनि भवानी भिक्षुको शैलाीलाई बोकेर हिँड्न खोजेको भनेर भनेको छैनँ । म मेरै शैलीमा छु, अथवा मेरो शैली निर्माण गर्ने कोशिसमा छु । अँ, भिक्षुबाट मैले सिकेके के भने, ठूला ठूला क्रान्ति, आदर्श र परिर्वतनका कुरा एकातिर छोडेर, आम मान्छेका सम्बन्धका साना साना तन्तुलाई केलाउने कला हो । मैले कथामा त्यसै गरेको छु । फरक कहाँ छ भने उनी समाजको मूल्यविधानभित्र र मूल विचारप्रवाह भित्र पात्र खोज्छन् । म त्यसको उल्टो, मूल विचार प्रभावको विपरीत गएर पात्र खोज्छु ।
१२. दर्शन र जीवनजगतका विचारहरूलाई बोकेर ‘अपरिचित अनुहार’ आएको कुरा भन्नुभएको थियो । मानिसको जीवनमा कथामा भेटिने दर्शनले कत्तिको प्रभाव पार्न सक्ला ?
यो प्रश्नमा भनिएजस्तो दाबी पनि मैले कतै गरेको छैनँ । मेरा कथा दार्शनिक वा वैचारिक एजेन्डाका कथा होइनन्, यद्यपि संयोगले तिनमा दर्शन वा वैचारिकता छिरेको भए त्यो अतिरिक्त लाभांश भइगयो । अँ, कथामा दर्शन पस्ने जीवनबाटै त हो । कतिपय अवस्थामा कथाले स्थापित गरेको दर्शन, पछि कसैको जीवनमा लागू हुन सक्छ । यो पारस्परिक कुरा भयो ।
१२. समाजिक परिवर्तन, चिन्तन, ज्ञानको भोक, टाइमपास, मनोरञ्जन, उत्सुकता, प्यास वा किताबी अम्मलको तलतल मेट्न किन साहित्य पढ्छ होला मान्छेले ?
यी सबैका लागि । उत्तर मान्छे अनुसार फरक हुन्छ । तर सबैलाई जोड्न तन्तुचाहिँ रुचि हो । रुचि छैन भने, मान्छेले पढ्दैन । रुचिले साहित्यमा मान्छेलाई प्रविष्ट गराउने हो । प्रवेश गराउन सकियो भने पाठकले साहित्यमा धेरै कुरा पाउन सक्छ ।
१३. तपाईंले कुनै अन्तर्वार्तामा भन्नुभएको छ, मेरा कथामा समसमायिक विषय, यौन र प्रयोग छैन । एउटा समालोचकको हैसियतले आफ्नै कथाको आलोचना गर्न पर्यो भने माथिका कुरा बाहेक के भन्नुहुन्छ ?
माथिका कुरा भइगए । थप के भन्छु भने, म समकालीन कथाकार भए पनि मेरा कथामा प्रकाशनको मितिबाहेक समकालीनता त्यति छैन । कथामा प्रयोगशीलता खासै छैन । विज्ञानको युगमा विज्ञानले प्रवेश पाएको छैन । भूमण्डलीकरणको समय हो आजको । यसका बाछिटा कतै छैनन् मेरा कथामा । सहरमा बस्छु, सहरको कथा छैन । अङ्ग्रेजीको प्राध्यापन गर्छु, अङ्ग्रेजी शब्द, शैली, चिन्तन, जीवन दर्शन कतै पनि छैन । युवा–युवतीलाई बाँध्ने केही पनि छैन । देशमा माओवादी द्वन्द्व भयो । शान्ति सम्झौता भयो । देश गणतन्त्र बन्यो । मधेस आन्दोलन भयो । नाकाबन्दी भयो । इतरका आवाज केन्द्रमा आए । तर मेरा कथाका यी कुरा कहिल्यै उठेनन् । यी मेरा कथाका गम्भीर दोषहरू हुन् ।
१४. किताब लेख्न भन्दा छाप्न र छाप्न भन्दा विक्रीको पक्ष अझै अप्ठ्यारो हो भन्छन् । तपाईंले कस्तो किसिमको पब्लिसिटीलाई आत्मासात गर्नुभएको छ ?
म अलि भाग्यमानी मान्छे हुँ । मेचीदेखि महाकाली, भारत तथा पूर्व र पश्चिमका अन्य देशहरूमा पनि मलाई माया गर्ने मान्छेको ठूलो परिवार छ । धेरै भन्दा धेरै साहित्यकारहरूसँग कुनै न कुनै मोडमा सहकार्य गरेको छु । डेढ दशकदेखि मैले स्कुल, कलेज विश्वविद्यालयमा पढाउँदा मैले भेटेका विद्यार्थी भूगोलभरि छन् । तिनले माया गर्छन् । म आफू पनि सञ्चार क्षेत्रसँग निकट रहेको मान्छे । सञ्चारका साथीहरूले माया गरेका छन् । मैले आफूलाई बयोवृद्ध लेखकदेखि भर्खर स्कुलमा रहेका तर संभावना भएका तरूणहरूसँग सजिलै मिलजुल गर्ने बानी बसालेको छु । ती मेरा प्रियजन हुन् । मेरा परिवारजनको सङ्ख्या पनि ठूलो र विस्तारित छ । मेरो किताब आयो, उहाँहरूले नै त्यसको प्रचार गरिदिनुभयो । पुस्तक फैलियो ।
१५. कुनै पात्र वा कथा भेटेपछि त्यसलाई पूर्णता दिन कस्तो किसिमको अध्यन गर्नुहुन्छ ?
धेरै दिन दिमागका खेलाउँछु । फुरेको कुरा बोक्ने पात्र निर्माण गर्छु । परिवेश निर्माण गर्छु । आफूले चिनेको र बुझेको कार्यपीठिका खोज्छु । यति काम पूरा भएपछि एक बसाइमा कथा लेख्छु । त्यसपछि पुनर्लेखन धेरैपल्ट गर्छु ।
१६. दशैं नजिकिदै छ, पाठकलाई कुनै तीनवटा पढ्नै पर्ने पुस्तकको रूपमा कुन कृतिलाई सम्झिनुहुन्छ ?
१. प्रतीक ढकालको नियात्राकृति ‘त्यो उज्यालो कर्णाली’
२. नयनराज पाण्डेको कथाकृति ‘जियरा’
३. डा। नवराज लम्सालको महाकाव्य ‘अग्नि’
१७. तपाईंले अपेक्षा गरेभन्दा कम चर्चा पाएको र अपेक्षा भन्दा बढी चर्चा पाएको कुनै पुस्तकको नाम लिन सक्नुहुन्छ ?
अपेक्षा गरेभन्दा कम चर्चा पाएको रोशन थापा निरवको कथासङ्ग्रह ‘कोष्ठकभित्र हाँसो’ हो । असामान्य कथा छन् । परम्पराभन्दा भिन्न । बौद्धिक र प्रयोगशील कथा छन् । यो कथा खोजी खोजी पढिनुपर्छ । यसको चर्चा गरिनुपर्छ । पुस्तकको महत्ताभन्दा बढी चर्चा भएको पुस्तकचाहिँ मेरै ‘अपरिचित अनुहार’ हो कि क्या हो !
१८. नेपाली साहित्यको विकासको लागि लेखक र पाठकले गर्न पर्ने कुरा के के होलान् ?
लेखकले अध्ययन, सिर्जना र शैली तिखार्नुपर्छ । भनौँ, साधना बढाउनुपर्छ । मौलिक दृष्टिहरू बनाउनुपर्छ । मानिसका आँखा नपुगेका क्षेत्रहरूलाई लेखनमा ल्याउनुपर्छ । पाठकले आलोचनात्मक चेतसहित, बिनापूर्वाग्रह पढ्नुपर्छ र सर्जकलाई दिशानिर्देश गर्नुपर्छ ।
प्रतिक्रिया
-
४
