– शिव पलाँस
१,
बिहानै मन्दिर धाएर के धर्म कमाउछौ ?
ओठले भजन गाएर के धर्म कमाउछौ ?
जब कि तिम्रो आत्मा नै अपवित्र छ भने
मूर्तिमा फूल चढाएर के धर्म कमाउछौ ?
२,
हिँड्दा हिँड्दै बाटोमा लडिन सक्छ के भर हुन्छ र ?
खाँदा खाँदैको मानो सकिन सक्छ के भर हुन्छ र ?
अहिले त सन्चै छु मित्र परन्तु एकैछिन पछाडि भने
नामको अघि स्वर्गीय थपिन सक्छ के भर हुन्छ र ?
३,
पहिले साइकलमा भेटिन्थे अहिले कारमा भेटिन्छन्
चुनावपछि गाउँबाट हराएकाहरु बजारमा भेटिन्छन्
न दाम्लोले बाँध्न सकिन्छ न कानुनले बाँध्न सकिन्छ
देशका जम्मै छाडा साँढेहरु सिहंदरबारमा भेटिन्छन् ।
४,
सहनै नसके पछि मात्र भुइँमान्छे बोलेको हो
फलामे गेट भत्काएर बन्द ढोका खोलेको हो
ती सुनका दरबार त्यसै खरानी भएका हैनन्
यो त उनीहरुलाई लुटको धनले पोलेको हो ।
५,
आवरण हेरेर आत्माको मूल्याङ्कन गर्नु नै उचित हो
काँधमा जनै भिरेको मान्छे त सोह्रै आना पण्डित हो
नेपालीको मनोविज्ञान कस्तो हुन थालिसकेछ भने
कोट लगाएको धनी हो अंग्रेजी बोलेको शिक्षित हो ।
***
प्रतिक्रिया
-
४
