
– बाबु साहेब
कहिलेकाहीँ भन्नुहुन्छ हजुर ” म तिमीलाई घृणा गर्छु ।”
सोचिबस्छु म,
यति सजिलै कसरी घृणा गर्न सक्नुहुन्छ हजुर मलाई?
घृणा त-
चाउरिँदै गएको आफ्नै अनुहारलाई कुनै नगरबधुले गर्छिन्
घृणा त –
भर्खरै बलात्कारको आरोपमा परेको नेताले आफ्नै कामोत्तेजनालाई गर्छ
घृणा त-
बल्छिमा उनिएको माछाले आफ्नो भोकलाई गर्छ
घृणा त-
सिलिङमा झुन्डिनुपुर्वको निमेष समयमा
मान्छेले आफ्नो जिन्दगीलाई गर्छ
हजुर ! यति सजिलै कसरी घृणा गर्न सक्नुहुन्छ मलाई ?
घृणा त –
बगरका बस्तीहरूले- बाढीसँग गर्छन्
पहाडका छाप्राहरूले- पहिरोसँग गर्छन्
पुजाकोठामा दीयो बालेर
युद्दमा गएको आफ्नो लोग्नेको कुशलताको कामना गरिरहेकी
सिपाहीकी स्वास्नीले- बताससँग गर्छिन्
घृणा त-
दूध चुसिरहेको बालकलाई
छातीबाट खोसेर लैजाने आतंककारीलाई – आमाले गर्छिन् ।
मसँग त्यस्तो के छ
कि हजुर मलाई घृणा गर्न सक्नुहोस् ?
मैले-
हजुरको ओठबाट चुहिएको मुस्कानलाई
मेरो बिच हृदयमा सजाउनु
“हजुरको आयुभरको समय
यो सृष्टिकै सुन्दर समय हो” भन्नू
हजुरको आवाज र बेदका ऋचाहरु उस्तै उस्तै हुन् भन्नु
घृणाका कारण नहोलान् !
मैले-
हजुरको पैतालामा काँडा नपरोस
आँखामा धुलो नपरोस
गासमा ढुँङ्गा नपरोस
नजर कुनै फोहोरमा नखसोस भनेर कामना गरिरहँदा
हजुर मलाई कसरी घृणा गर्न सक्नुहुन्छ ?
हजुरलाई थाहा छ –
प्रेमका कैंयौ बाटाहरु मध्ये
मात्र एउटा कुरुप बाटोको अन्त्यमा हुन्छ-
घृणाको पहिलो स्वरुप
हजुरलाई थाहा छ –
प्रेम गर्नुभन्दा , हजार गुणा अप्ठ्यारो छ घृणा गर्न
र हजुरलाई यो पनि थाहा छ ,
घृणा गर्ने मान्छेलाई पटक पटक घृणा गर्छु भनेर
आफ्नो आयुको बर्बादी गर्दैन- एउटा ज्ञानी मान्छे
यसरी –
हजार कुराहरू सोचिसक्दा पनि
भेटाउँदिन;
हजुरले मलाई घृणा गर्नुपर्ने कुनै बलियो कारण
र
थाहा लाग्छ –
घृणा गर्छु भनेरै
हृदयको एउटा सुन्दर कुनाबाट
हजुर मलाई प्रेम गर्नुहुन्छ !
***
प्रतिक्रिया
-
४