स्याङ्जा – स्याङ्जाका युवा साहित्यकार तथा कवि अजित उत्सवको ‘आकाशगङ्गाको किनार’ कविता सङ्ग्रहको शनिबार गृह विमोचन र समिक्षात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच उत्सवको उक्त कविता सङ्ग्रहको विमोचन स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले गरेका हुन् ।
विमोचनका साथै अधिकारीलगायत डेढ दर्जन साहित्यकारले उक्त कृतिको बारेमा चर्चा परिचर्चा गरेका छन् । उक्त गृह विमोचन, परिचर्चा एबम् कविता वाचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विश्वप्रेम अधिकारीले अजित उत्सवले स्याङ्जाली कविताका क्षेत्रमा एउटा नयाँ इटा थपेको बताए ।
उनले स्याङ्जाली युवा जगत्मा उत्सवको कविता सङ्ग्रहले आशा र भरोसा जगाएको बताउँदै यो कवितामा सशक्त डायोस्परिक चेतना रहेको बताए । उनले उत्सवका कवितामा उन्नत बिचार र भाबको समिश्रण रहेको बताए ।
कृति विमोचन कार्यक्रममा बोल्दै पोखरेली साहित्यकार एबम् समीक्षक लक्ष्मी थापाले यो कविता सङ्ग्रहले राजनीति, समाज, परिवार, प्रेम र जीवनका विषयमा गहिरो चिन्तन प्रस्तुत गरेको बताउँदै शैली र शिल्पमा समेत उत्सव खरो उत्रिएको बताए ।
संग्रहका हरेक कविता पढ्न र संग्रह गर्न लायक रहेको बताउँदै थापाले आफू यस संग्रहका कविताहरुबाट अत्यन्तै सम्मोहित भएको उल्लेख गरे । शिक्षासेवी त्रिभुवन शर्माले स्याङ्जाली माटोले गर्व गर्न लायक कृतिका रुपमा उत्सवको कविता सङ्ग्रह आएको बताए ।

प्रा.डा. यमबहादुर पौडेलले उत्सवको कविता कृतिमा राष्ट्रिय अन्तरार्ष्ट्रिय विषयहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको धारणा राखे । कार्यक्रममा बोल्दै स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव तथा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुकुमार सिग्देलले उत्सवका कवितामा ह्दयलाई छुने संवेदना देखिएको बताए ।
स्रष्टा कवि अजित उत्सवले आफूले खाडीको व्यस्त जीवनमा थोरै फुर्सद निकालेर यो कविता सङ्ग्रह तयार पारेको बताउँदै आफूले यस कवितामा राम्रो गर्ने प्रयास गरे पनि कविताको गुणस्तरको परख गर्ने जिम्मा पाठकलाई दिएको बताए ।
सो कार्यक्रममा साहित्यकारहरु चिन्तु गिरी, दुर्गाबहादुर रोकाहा, त्रिभुवन शर्मा, लोकराज शर्मा, श्रीकान्त अर्याल, प्रमोद पंज्ञानी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिका बारेमा बोलेका थिए ।
सो कार्यक्रमको अध्यक्षता स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष टीकाराम वाग्लेले गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखक तथा समीक्षक युवराज पौडेलले गरेका थिए ।
प्रतिक्रिया
-
४
