काठमाडौँ – कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ स्थापना दिवसको अवसरमा कार्तिक २७ र २८ गतेका दिन चितवनको सौराहमा दुई दिने ‘नेपाल–भारत साहित्य उत्सव’ को आयोजना गर्ने भएको छ ।
सो उत्सवमा भारत र नेपालबाट गरी करिब १०० आवासीय अतिथि र ठूलो सङ्ख्यामा गैर–आवासीय अतिथिको उपस्थिति रहने बताइएको छ । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि र समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि रहने आयोजकले जनाएको छ ।
त्यस्तै, कार्यक्रममा भारतको मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकारहरू आउने भएका छन् । दुई–दिवसीय कार्यक्रमा नेपाल र भारतका अध्येताहरूबाट विभिन्न विषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने छन् भने द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा, तथा सबै सहभागीबाट रचना वमचनको कार्यक्रम रहेको छ ।
उक्त अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपध्याय, कथाकार एक नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने तालिका रहेको छ भने लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार २०७८ बाट सम्मानित गरिने कार्यक्रम छ ।
यसैगरी आख्यानकार श्याम शाह, कथाकाहरूहरू गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक तथा निबन्धकार डी.आर. शर्मालाई विभिन्न विधामा योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।
यसै अवसरका कविडाँडा साहित्य समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतलाई पनि पुरस्कृत गरिने कार्यक्रम छ । दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रम सौराहस्थित होटल जङ्गल सफारी लजमा हुने भएको छ ।
प्रतिक्रिया
-
४
