काठमाण्डौ – नेपाली गजलमा लामो समयदेखि साधनारत साधक दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन भएको छ । नेपाली गजलको सामूहिक विकासमा क्रियाशील संस्था बहर-बहारले आयोजनामा यहि असोज १५ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अग्रज गजलकार बूँद राना, गजलकार डा. घनश्याम परिश्रमी न्यौपाने, गजलकार भुवन निस्तेजको विशेष उपस्थिति तथा बहर बहार संस्थाका संयोजक प्रमोद थापाको उपस्थिति थियो ।

दीप मिलन बहरबहारले आयोजना गरेको खुल्ला गजल प्रतियोगिता-२०७५ मा प्रथम भएका थिए । प्रथम हुने गजलकारको कृति पुरस्कार स्वरुप प्रकाशन गरिदिने प्रतिबद्धता अनुसार बहर बहारको संयोजनमा शिखा बूक्सले प्रकाशनमा ल्याएको हो ।

प्रतियोगिताले दिएको यस पुरस्कारले नेपाली गजलमा केही गर्नुछ भन्ने जिम्मेवारीबोध भएको गजलकार दीप मिलन बताउँछन् । सलेदो समस्त गजलप्रेमीहरूको साझा संग्रह भएकाले पढेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन् ।

संग्रहमा जम्मा ६६ गजल समावेश छन् । नेपाली गजलका पिता आदिगजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर प्राबिधिक माध्यम जुम मार्फत उक्त कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर