
काठमाण्डौ – शनिबार कथाकार महेश पौड्यालको कथासङ्ग्रह “अपरिचित अनुहार” काठमाण्डौमा बिमोचित भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित एक कार्यक्रमका बीच पौड्यालको उक्त कथासङ्ग्रह बिमोचन गरिएको हो ।
वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा त्रिवि केन्द्रीय अङ्ग्रेजी विभागका प्रमुख, प्राडा. जीवलाल सापकोटा र शिक्षासेवी तथा नेसनल पेब्सनका महासचिव सुवास न्यौपानेको उपस्थिति रहेको थियो ।
पौड्यालको अपरिचित अनुहारमाथि वक्ताहरु वरिष्ठ आख्यानकार कृष्ण धरावासी, लोकप्रिय समालोचक डा. रजनी ढकाल र युवा समालोचक डा. अशोक थापाले आफ्ना भनाईहरू व्यक्त गरे ।
पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादकको समेत राम्रो परिचय बनाएका उनी पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता मानिन्छन् । पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् । उनले ३ दर्जन बढि पुस्तक अनुवाद र सम्पादन गरेका छन् ।
पाैड्यालले केही समयअघिमात्र युवा वर्ष मोति पुरस्कार पनि प्राप्त गरेका थिए ।
कवि महेश कार्की क्षितिजले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई पौड्यालले धन्यवाद दिए ।
शिखा बुक्सले प्रकाशन गरेको “अपरिचित अनुहार”को मूल्य २ सय ७५ रुपैँया रहेको छ ।
प्रतिक्रिया
-
४
-
१०